अमेरिकामा तामाङ समुदायको संख्या बढ्दै जाँदा सम्बन्धित संघ/संस्थाहरु स्थापनाले पनि तीव्रता पाइरहेका छन् । ती संस्थाहरुले समुदायमा आफ्नो भाषा संस्कार, संस्कृतिदेखि नयाँ प्रविधि र परिस्थितिसँग प्रतिस्पर्धाको लागि कोसिस गराइरहेका त छन् नै नेपाल राज्यमा तामाङ समुदायको सहभागिताका लागि पनि जोडबल गरिरहेको देखिन्छ । यिनै उद्देश्य केन्द्रित संस्थाहरुमध्ये एक हो, तामाङ समाज उत्तर अमेरिका । यो समाजले अमेरिका र नेपालमा विभिन्न खालका समस्यामा परेका तामाङ समुदायलाई प्रत्यक्ष र अप्रत्यक्षरुपमा सहयोग गर्दै आइरहेको बताउनुहुन्छ, अध्यक्ष लक्यान लामा । जागरण र सहायताको अभियान चलाउने क्रममा पछिल्लो समय तामाङ समाज उत्तर अमेरिकाले ‘ग्लोबल तामाङ एजुकेशन फन्ड’को अवधारणालाई अघि सारेको छ । जसलाई कार्यान्वयनमा लैजाने तयारीसाथ गत हप्ता काठमाडौंमा विज्ञहरुसँग अन्तर्किया आयोजना गरिएको थियो । ग्लोबल तामाङ एजुकेसन फन्ड, संस्थाका गतिविधि र भावी योजनालगायत विषयमा नेपाल भ्रमणका क्रममा अध्यक्ष लक्यान लामासँग ग्लोबल मिडियाका लागि अञ्जु तामाङले गरेको कुराकानीको सम्पादित अंश ।
तामाङ समाज उत्तर अमेरिका स्थापना भएको कति समय भयो ?
सन् २०१८ मा तामाङ समाज उत्तर अमेरिका (तामाङ सोसाईटी अफ नर्थ अमेरिका) स्थापना भएको हो । विधिवतरुपमा सन् २०२० मा दर्ता गर्यौं । अमेरिकामा सन् २००२ देखि नै तामाङ संघ संस्थाहरुको जन्म भएको रहेछ । म सन् २००७ मा अमेरिका पुगेँ । सन् २००२ देखि अहिले २०२२ सम्म आउँदा अमेरिकामा तामाङ समुदायको ९ वटा संघसंस्थाहरु क्रियाशील छन् ।
अमेरिकाको हरेक राज्यमा रहेका तामाङ संस्थाहरुले तामाङ समुदायको लागि काम गरिरहेका छन् । यद्यपि ती संस्थाहरु रिजल्ट ओरिन्टेड नदेखिएकोले हामीले ग्लोबली केही काम गर्ने उद्देश्यले तामाङ समाज उत्तर अमेरिका दर्ता गर्यौं । सन् २०१८ को जनवरी १३—१५ सम्म अमेरिकाको न्यूर्योकमा पहिलो सम्मेलन गर्दै सबै संघसंस्थाको सहमतिमा त्यसदिनदेखि यो संस्थालाई संचालनमा ल्याएका छौं ।
तामाङ समाज उत्तर अमेरिकाको काम र उद्देश्यहरु के के छन् ?
तामाङ समुदायका धेरै मुद्दाहरु छन् । हाम्रो पिछडिएको समुदाय भएकोले यो भित्र अनगिन्ती समस्या छन् । समस्याहरुलाई समाधान गर्न भनेर संस्थाहरु जन्मिने गर्छन् । अमेरिकामा पनि संस्थाहरु जति दर्ता छन् त्यो संस्थाहरुको पनि उद्देश्य तिनै हुन् । आफ्नो समुदायको हकहित, अधिकार, भाषा, धर्म, कला, संस्कार—संस्कृतिलाई संरक्षण गर्ने यी सबै कुराहरुलाई लिएर संस्था दर्ता गरेको हुन्छ । कतिपय कुराहरु हामीले सोचे जसरी संस्थाहरुले परिणाम दिन नसकेको अवस्था पनि छ ।
हामीले सन् २०१८ मा यो 'कन्सेप्ट'लाई अगाडि बढायौं भने हाम्रो विषयवस्तु र मुद्दाहरु धेरै ओझेलमा परेको देख्यौं । सहयोग पनि हामीबाट भइरहेको छ तथापि त्यो मुद्दाहरु सम्बोधन भइरहेको छैन । त्यसको एउटा कारण हामी पनि हो भन्ने लाग्यो । हामीले नर्थ अमेरिकाभरि भएका तामाङहरुको साझा संगठन बनाउन सक्यौं भने कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय योजनाहरु ग्लोबलीरुपमा समाहित गरेर सजिलो बाटोबाट सफल बनाउन सक्छौं भन्ने योजनाका साथ अगाडि बढेका हौं । त्यो बेला ताम्सालिङको मुद्दा बृहत् रुपमा उठिराखेको थियो, हामी अमेरिका छौं त्यसमा पनि न्यूर्योक र यूएन विल्डिङ पनि हाम्रो अगाडि थियो । अनि हामीले के सोच्यौं भने ताम्सालिङको मुद्दाहरु उठिरहँदा अमेरिकामा त्यस्तो संगठन बनोस् जसले आफ्नो भाषा धर्म, संस्कृतिलाई मात्र नहेरेर अधिकारहरुलाई पनि बुलन्द गरोस् भन्ने सोचका साथ पनि यो संस्थालाई अगाडि बढाएका हौं । यो संस्था स्थापना गर्नुको मुख्य उद्देश्य तामाङ समुदायको हक अधिकारलाई अगाडि बढाउन पनि हो ।
आफ्नो समुदायको संस्कार, संस्कृति नयाँ पुस्तामा हस्तान्तरण भएको कत्तिको महसुस गर्नुभएको छ ?
इतिहासलाई हेर्दा धेरै अगाडिदेखि तामाङ समुदाय अमेरिकामा बस्दै आएको रहेछ । हरेक संघ संस्थाले भाषा, धर्म, संस्कार—संस्कृतिको सवालमा काम गरिरहेका छन् । अहिले मेरो छोराहरुसम्म आउँदा पनि प्रवासमा भएको भएर यस्ता कुरालाई बढी नै प्राथमिकता दिने गरेका छौं । प्रवासमा रहेका समुदायको भाषा, धर्म संस्कारहरु एकदमै ओझेलमा पर्ने स्थिति रहेकोले संघ संस्थाहरुले यो कुरालाई प्राथमिकतामा राखेको देखिन्छ ।
ल्होछारलाई अमेरिकालगायत देशमा धुमधामका साथ मनाउने गरिन्छ । नेपालबाट हेर्दा ल्होछारमात्र मनाउछ भन्ने देखिन्छ । तर गुदी कुरा भनेको हामीले आफ्नो संस्कृतिलाई कसरी प्रिजर्व गर्ने भन्ने सवालमा आम समुदायलाई पनि देखाउनु थियो । अर्को कुरा, बालबालिकालाई पनि हाम्रो कल्चर के रहेछ भन्ने कुरा एक दिनको त्यो ठूलो झलकले गर्दा पुस्तान्तरणमा अर्थ राख्ने भएको हुँदा टार्गेट त्यसलाई गरेका छौं । प्रवासमा रहेका हरेक संगठनले यो सवालमा ठूलो योगदान दिएको छ भन्ने मलाई लाग्छ ।
नयाँ पुस्ताले कसरी लिएको पाउनु हुन्छ ?
हाम्रो जस्तै तरिकाले स्वीकार्ने अपेक्षा गर्यौं भने त्यो असम्भव रहला । तर कार्यक्रममा तामाङ पोसाक लगाए, तामाङ भाषा बोल्ने, परिवारमा पनि आफ्नै भाषामा कुराकानी गर्ने र गर्दै आइरहनुभएको पाउछु । सयका सय प्रतिशत त नहोला तर ५० प्रतिशत एक्सेप्ट गरिरहेको अवस्था छ ।
उत्तर अमेरिकामा बसोबास गर्ने तामाङ समुदायको अवस्था कस्तो पाउनु हुन्छ ?
क्यानडा, म्याक्सिको लगायतको क्षेत्र जोडेर उत्तर अमेरिका भन्ने गरिन्छ । अमेरिकालाई मात्रै समेटेको छैन । उत्तर अमेरिकाको राज्य र देशहरुलाई समेटेको हुँदा बस्तुस्थितिअनुसार त्यहाँ १५ हजारको हाराहारीमा तामाङ समुदाय हुनुहुन्छ । त्यो बीचमा संगठनहरुले काम गरिरहेको अवस्था छ । नेपालबाट विभिन्न माध्ययमार्फत अमेरिका गइराख्नुभएका तामाङहरु त्यही लेवलका समुदायहरु हुनुहुन्छ । त्यसलाई नै एक खालको परिचालन गर्ने तरिकाले संगठनहरु अगाडि बढिरहेको अवस्था छ ।
तामाङ समाज उत्तर अमेरिकाको पहलमा ‘ग्लोबल तामाङ एजुकेशन फन्ड’ संचालनको तयारी अगाडि बढेको छ, यसबारे प्रस्ट्याइदिनुहोस् न ?
तामाङ समाज उत्तर अमेरिकाले अगाडि सारेको ‘ग्लोबल एकजुकेशन फन्ड’ भित्र धेरै ठूलो कुराहरु समेटेका छौं । तामाङ सोसाइटी अफ नर्थ अमेरिका जब गठन गर्यौं, अध्यक्षको रुपमा चुनावी दौरानमा जानेबेला पनि ग्लोबली रुपमा एउटा शिक्षा कोष बनाउने इच्छा थियो । मेरो चुनावी प्रतिबद्धता पनि थियो । यो त्यतिबेलादेखि नै आएको कन्सेप्ट हो । के गर्दा हाम्रो समुदाय सबल, सक्षम र योग्य तामाङ जनशक्ति उत्पादन हुन्छ भन्ने कन्सेप्टसँग यो जोडिएको छ ।
सन् २०१८ मा संस्थाको अध्यक्ष भएँ । त्यसपछि ठूल्ठूला प्रोजेक्टहरुलाई लन्च गर्न त्यहाँको जनशक्तिले मलाई कसरी सहयोग गर्नुहुन्छ भन्ने एउटा मापन गर्नुपर्ने थियो । तत्काल अमेरिकामा भएको कुनै पनि तामाङ समुदायलाई आपत—विपतमा सहयोग गर्नु पर्छ र भोलि अन्य समुदायको बीचमा हात फैल्याउनुपर्ने बातावरण नबनोस् भन्ने हिसाबले ‘तामाङ सोसाईटी अफ नर्थ अमेरिका इर्मेजेन्सी फन्ड २०१८’ भनेर नामकरण गर्यौं । फन्डमा हाम्रो समुदायको मात्रै नभएर अन्य समुदायका साथीहरु र संस्थाहरुलाई सदस्य बनाएर लन्च गर्यौं । ३ महिनाको बीचमा ६५ हजारको हाराहारीमा रकम संकलन भयो ।
हामीले सोचेको भन्दा व्यापक र आश गरेजस्तै पायौं । त्यहाँबाट हामीलाई भोलि ठूल्ठूला परियोजनामा काम गर्दा पनि समुदायको सपोर्ट, संस्थाप्रति र नेतृत्वप्रतिको विश्वास मिल्ने रहेछ भन्ने आत्मबल बलियो भएको छ । दोस्रो चरणमा फन्डको निर्देशिका, नीति छुट्टै समिति बनाएर कार्यान्वयन गरिसकेका छौं । अब नर्थ अमेरिकामा भएका तामाङहरु कुनै पनि बेला केही समस्या भयो भने आत्तिनुपर्ने अवस्था छैन । फन्डमार्फत समस्याको समाधान गर्नेछौं ।
यस्तै ग्लोबली रुपमा शिक्षामा केही गरौं भन्ने हाम्रो उद्देश्य हो । सन् २०१९ को सेप्टेम्बर १४ र १५ मा भर्जिनियामा एउटा सम्मेलन गरेका थियौं । त्यो वार्षिक साधारणसभामा ‘ग्लोबल तामाङ एजुकेशन फन्ड’लाई अगाडि सार्यौं र नाम नै ‘ग्लोबल तामाङ एजुकेशन फन्ड’ बनायौं । किनभन्दा धेरै संगठनहरु प्रवासमा छन् । कोही घेदुङभन्दा बाहिर छन्, कोही एउटा क्षेत्रको मात्रै तामाङ संगठनहरु पनि छन् । यो सबैलाई कसरी समेट्न सकिन्छ भन्दा हाम्रो नर्थ अमेरिकाको नाम राख्दा सबै संगठनहरु आउन नसक्ने वातावरण बन्ने र हामी किन जाने पनि भन्ने होला । ‘ग्लोबल तामाङ एजुकेशन फन्ड’ बनाउँदा विश्वभर तामाङ संगठिन हुने र सबैको साझा कोष बन्न सकिन्छ भन्ने हिसाबले नाम यसरी छानेका हौं । त्यसपछि हरेक देशको प्रवासमा रहेको तामाङ संगठनहरुसँग सहकार्य गर्यौं र नेपाल तामाङ घेदुङ, अन्तर्राष्ट्रिय तामाङ परिषद् सबैसँग सहकार्य गर्दै विस्तृत छलफलमा हामी अगाडि बढेका छौं ।
सन् २०१९ मा सुरुवात भए पनि कोभिड—१९ ले गर्दा अर्कै समस्यासँग लड्नु पर्यो । सुरुवात अलि अगाडि भए पनि लन्च गर्न समय अलि ढिला भयो त्यसैले ‘ग्लोबल तामाङ एजुकेशन फन्ड’ हरायो कि भन्ने धेरैलाई भयो । तर हामीले कोषको विषयमा आन्तरिक रुपमा काम गरिरहेका थियौं ।
गएको दुई महिनादेखि नाम सेल गर्न थाल्यौं । ‘ग्लोबल तामाङ एजुकेशन फन्ड’को नामकै आधारमा धेरै साथीहरु जोडिनु भएको छ । यसको भित्रको गुदी कुरा बनाउँदैछौं । नेपालको तामाङ विज्ञहरुलाई राखेर माघ १ गते सुझाव संकलन गरेका छौं । फन्डको सुरुवात एक करोड रुपैयाँबाट गर्ने र त्यसको ब्याजबाट काम गर्ने भन्ने हो । तर यसको सीमित घेरा एक करोड होइन भोलि एनजिओ,आईएनजिओ, सरकारी निकाय र डोनहरुलाई पनि इन्क्लुट गर्ने तरिकाले स्रोतहरु आउन सक्ने खालको ठूलो फन्ड बनाउने कन्सेप्ट हो । भोलिका दिनमा हामीले प्रतिष्ठान, अध्ययन केन्द्र या तामाङ समुदायलाई उत्थान गर्ने खालको ठूलो प्रोजेक्ट बनाउने हाम्रो कन्सेप्ट हो ।
नाम सेल गर्दा नै फन्डको लागि ६७ लाख रुपैयाँ रकम जम्मा भइसकेको छ । इजरायल घेदुङको शिक्षा कोष रहेछ तर काम अगाडि नबढेको हुँदा हाम्रा योजनामा अगाडि सँगै जाने कुरा पनि भएको छ । अहिले यो फन्डले तामाङ समुदायमा जनचेतना वृद्धि गर्ने, चेतनामा वृद्धि गर्ने र शिक्षा क्षेत्रमा लगानी गर्ने उद्देश्य हो ।
शिक्षाको जनचेतना तामाङ समुदायमा पुर्याउन अथवा जनजागरणको अभियान, अन्तरक्रिया छलफलको पहिलो प्रोजेक्ट रहेको छ । यो भित्र लोक सेवाको विषय पनि छ । निरन्तर रुपमा लोकसेवा अध्ययन गर्ने हो भने निजामती क्षेत्रमा, तामाङ समुदायको प्रशासनिक क्षेत्रमा राम्रो उपस्थिति हुने देखिन्छ । जो पढेलेखेका व्यक्तिहरु विदेश पलायन हुने अथवा निजी क्षेत्रमा जागिर खाने चलन छ र त्यो शक्तिलाई सरकारी कर्मचारीमा लान सक्यौं भने भोलि त्यसले हाम्रो समुदायलाई ठूलो इन्पुट दिन्छ भन्ने हिसाबले यो विषयलाई पनि फन्डमा राखेका छौं ।
तामाङहरु पढेर के हुन्छ र भन्ने सोचाईले बिचैमा कक्षा छोड्ने चलन छ, त्यस्ता व्यक्तिको शिक्षालाई अगाडि बढाउन छात्रवृत्ति दिने भन्ने ३ वटा कन्सेप्टलाई अगाडि सारेका थियौं । यो हाम्रो कन्सेप्ट हो । यही नै अन्तिम होइन । अहिले सुझाव संकलन हुँदैछ । सबै सुझावलाई लिएर तथ्य कुरालाई अगाडि सार्छौं ।
तामाङ समाज उत्तर अमेरिकाको आयोजनामा काठमाडौंमा सम्पन्न कार्यक्रममार्फत के के सुझाव पाउनुभयो ?
विभिन्न क्षेत्रका विज्ञहरुबाट सुझाव पायौं । फन्डलाई व्यवस्थित तवरबाट अगाडि लानु पर्छ भन्ने सबैको सकारात्मक सुझाव थियो । यस्तै अन्तर्राष्ट्रिय तामाङ परिषद् र नेपाल तामाङ घेदुङको ऐक्यबद्धता पनि जनाउनु भएको छ । कोषलाई दूरगामी र परिणाममुखी बनाउन सकिन्छ भन्ने बारेमा उहाँहरुको सुझावहरु आएको छ । उहाँहरुको सल्लाह सुझाव र सकारात्मक सोचले गर्दा काम गर्न उत्साह बढेको छ ।
सुझावलाई लिएर आम तामाङ समुदायले आश गरेको जस्तै फन्डलाई प्रयोग गर्न सकिन्छ । जसले डोनेट गर्नुभएको छ । मेम्बर बन्नुभएको छ । उहाँहरुले गर्व महसुस गर्ने गरेर प्रोजेक्टलाई अगाडि बढाउन सकिनेरहेछ भन्ने आत्मविश्वास बढेको छ ।
यो फन्ड आफ्नो कार्यकालमा एउटा घोषणा गरौं न त भन्ने तरिकाले मात्रै ल्याउनुभएको कि, तामाङ समुदाय अत्यावश्यक ठानेर ?
हरेक संगठनहरुमा नेतृत्वहरु आउँछन् र सटेन टाइममा केही गर्न खोजेको जस्तो देखिन्छ । प्रोजेक्ट पनि हराउने व्यक्ति पनि हराउने समस्याहरु छन् । त्यसको मतलब मैले विभिन्न संघ संस्थाका अध्यक्ष तथा पूर्वअध्यक्षहरुलाई कटाक्ष गर्न खोजेको होइन । हरेक संस्था बनाइसकेपछि, नेतृत्व गरिसकेपछि आम तामाङ समुदायमा गहिरिएर लाग्नुपर्छ भन्ने मान्यता राख्छु । सन् २००७ मा अमेरिका गएँ । अहिले सन् २०२२ सम्म पनि तामाङ समुदायमा खुलेर लागिरहेको छु । त्यसको मतलब अमेरिकामा जिम्मेवारी पाउनको लागि मात्र पनि होइन । हिजो म न्यूर्योकको तामाङ सोसाईटी अफ अमेरिकाको सचिव, महासचिवको जिम्मेवारीमा पनि थिएँ । टिममै बसेर हामीले संस्था अगाडि बढाएको हो । भावनात्मक रुपमा पनि म तामाङ समुदायसँग नजिक छु र केही गर्छु भने मेरो समुदायको लागि गर्नुपर्छ भन्ने मान्यता राख्छु । केही स्रोत साधन दिनु छ भने मेरै समुदायलाई दिउँ भन्ने भावना छ ।
तर भावनाले मात्रै काम गर्न त सकिन्न, जोस, जाँगर, आईडियाहरु पनि चाहिन्छ । त्यही भएर फन्ड संचालनको लागि हरेक कुराको जमर्को मिलाउनु पर्ने रहेछ । समुदायको लागि के गर्दा बेस्ट हुन्छ भन्ने तरिकाले लागिरहेको छु । मेरो अध्यक्षको कार्यकाल ३ वर्षको बीचमा जान पनि सक्थ्यो होला । यो प्रोजेक्टले मेरो कार्यकालभित्र सम्पन्न भएर रिजल्ट ओरेन्टेड पनि दिँदैन भने पछि यो फन्डले त कैयौं लामो समय यात्रा गर्नुपर्ने छ । म बीचैमा हराउला भन्ने लाग्दैन । यो प्रोजेक्टमात्रै होइन भोलिका दिनमा तामाङ समुदायलाई चाहिने ठूल्ठुला प्रोजेक्ट मेरै नेतृत्वमा नहोस् अथवा कसैले नेतृत्व गर्नुहोला या कुनै संघसंस्थाले हेर्नुहोला । त्यसमा हातमा हात मिलाएर अघि बढ्छु । तामाङको विषयवस्तु, मुद्दाहरु, सवल, सक्षम र योग्य तामाङ जनशक्ति उत्पादनमा मेरो कुनै न कुनै माध्ययमा हात हुनुपर्छ र केही गर्नुपर्छ ।
ठूलो प्रोजेक्ट हो र हामीले सानो समुदायलाई मात्रै टार्गेट गरेका छैनौं । विश्वभर भएका संघसंस्थाहरु र अहिले नजोडिए पनि भोलिका दिनमा जोडिने व्यक्ति तथा संस्थाले पनि यो प्रोजेक्टलाई अगाडि बढाउनु पर्छ भन्ने मान्यता हो । त्यो हुन्छ भन्ने मलाई विश्वास छ ।
शैक्षिक कोषमा कति रकम जम्मा गर्ने योजना छ ?
जनजागरण, क्याम्पेन, चेतनावृद्धिका लागि प्राथमिकता दिनुपर्छ भन्ने हो । दोस्रो लोकसेवाको १२ महिना नै कोठा भाडामा लिएर शिक्षकहरु हायर गरौं भन्ने कुरा हो तर ४ अथवा ५ महिना राख्दा हुने कुरा पनि आएको छ । दोस्रो प्राथमिकतामा यो कुरालाई राखेका छौं । छात्रवृत्तिको पनि कुरा छ । यो एकदमै कमजोर दिनै पर्ने व्यक्ति हुनुहुन्छ उहाँलाई मात्रै दिने भन्ने हाम्रो चाहना हो । र, हामी त्यही खालको विज्ञहरुसँग छलफल गर्छौं । भोलि पैसा भएपछि हराएर जाने कार्यान्वयन नगर्ने पक्षहरु धेरै छन् । यो कुरालाई मध्यनजर गर्दै प्रोजेक्टअनुसार सम्बन्धित विज्ञहरुसँग विशेष रुपमा छलफल गरेर अगाडि बढ्छौं ।
तामाङ समाज उत्तर अमेरिकाले अबका दिनमा के—के कुरालाई समेट्नु पर्छ जस्तो लाग्छ ?
तामाङ समुदायको इतिहासहरु हेर्दा एकदम कहालीलाग्दो छ । तामाङ लिडरमात्रै होइन तामाङ समुदायले पनि यो कुराको आत्मसाथ गर्नुपर्छ । यसो गर्दा स्वत: तामाङको लागि केही गरौं भन्ने लाग्ने रहेछ । कसैले राजनीतिक रुपमा तामाङको मुद्दा उठाउने आफ्नो इच्छा पूरा भएपछि ब्याक हुने । फिलिङ्समा काम नगरेको भन्ने देखियो । आफ्नो इतिहासहरु नहेरेको भन्ने देखियो । त्यही भएर विश्वको आमतामाङ समुदायका लिडर तथा विभिन्न क्षेत्रमा लाग्नुभएका व्यक्ति होस या आमसर्वसाधरण नै किन नहोस् यहाँहरुले के बुझ्नुपर्यो भने हाम्रो इतिहास देखेर समुदायलाई उत्थान गर्नका लागि के गर्नुपर्छ छ जस्ने जे सक्छ त्यो गरौं भन्ने हार्दिक अनुरोध गर्न चाहन्छु ।
संघसंस्थाले पनि दूरगामी योजना बनाउनु पर्छ । ब्यानरमा खादा लगाउने कन्सेप्टबाट टाढा जानुपर्छ भन्ने चाहना हो । त्यसको लागि ग्लोबल्ली लाग्नु पर्छ ।
जस्तै हामीले तामाङ समाज उत्तर अमेरिका बनायौं तर ग्लोबल्ली के गर्दै छ त भन्ने सवालमा फन्डलाई अगाडि सारेका छौं । यस्तै भाषा संस्कार, संस्कृति साथै त्यहाँको समुदायलाई राहत पाउनका लागि पनि कामहरु गर्दै आइरहेका छौं । यस्तै अमेरिकामा तामाङको इतिहासबारे सर्भे एप डेभलप गरेर, अमेरिका या नर्थ अमेरिकामा तामाङहरु कहिले र कहाँबाट गए, अमेरिकाको कुन स्टेडमा कति तामाङहरु छन्, कति प्रतिशत तामाङ बोल्छन्, के के काममा सहभागी छन् लगायत १५ वटा प्रश्न तामाङ र अंग्रेजी भाषामा राखेर सर्भे थालेका छौं ।
दोस्रो कुरा स्मारिका निकाल्ने तयारीमा छौं । अमेरिका अथवा नर्थ अमेरिकाको तामाङ समुदायको अवस्थाबारे कसैले खोज्दा त्यो हाम्रो समुदाय र संस्थाले दिन सकोस् भन्ने तरिकाले काम अगाडि बढिरहेको छ । फेरि यूरोप, अमेरिकामा रहेका तामाङले समुदायलाई पनि केही गरोस् भन्ने चाहना छ त्यसको लागि शिक्षाको विषयलाई अगाडि सारेका छौं । तर भोलिका दिनमा यो परिवर्तन हुन सक्छ । भोलि फेरि राजनीतिक मुद्दा ठूलो जमर्को भएर उठ्यो भने हाम्रो स्रोत शक्ति यता लगाउन पनि सक्छौं ।
ताम्सालिङ प्राप्तिका लागि यहाँका तामाङ समुदायलाई राजनीतिक रुपमा अगाडि बढाउनु पर्ने हुन्छ । त्यसका लागि विभिन्न क्याम्पेन गर्नुपर्ने हुन्छ । त्यो कुरामा पनि हामी तयारी अवस्थामा रहनु पर्छ भन्ने मान्यता हो । सांस्कृतिक रुपमा तामाङहरु अगाडि छन् तर राजनीतिक रुपमा हामीले तामाङ आईडल पाएका छैनौं । तर स्रोत साधन र सम्भावना धेरै छ । काठमाडौं वरिपरि तामाङ नै तामाङको बसाई छ । त्यो तामाङ जनशक्तिलाई एक पटक पठाउन सक्यौ भने हामीले जस्तो भन्यो त्यस्तै डिसिजन गर्न सक्छौं । ताम्सालिङको लागि लड्ने कुरा गरिरहँदा पुराना नेताहरुबाट सहयोग नआएको कुराहरु पनि आइरहेको छ । तर हामीले हाम्रो धरातल बनाउन सकेका छैनौं । त्यो धरातल बनाउनका लागि एउटा त्यस्तो खालको लिडर बनोस् भन्ने हाम्रो चाहना छ । त्यसको लागि प्रवासमा रहेका तामाङहरुले आर्थिक होस या अन्य सहयोग गरोस् भन्ने चाहना छ ।
राजनीतिक प्राप्तिको लागि हाम्रो शक्ति लगाउन पायौं भने भाषा धर्म, संस्कार, संस्कृति राज्यबाट नै बनाउँछ र बन्छ । भविष्यमा वाग्मती प्रदेश नेवा—ताम्सालिङमा परिणन हुन्छ भन्ने मलाई लाग्छ । त्यो क्षेत्रमा काम गर्नलाई उत्साह पनि बढेको छ ।
यी कामहरु अमेरिका नै बसेर सम्भव छ कि नेपालमा फर्कनु हुन्छ त ?
प्रवासमा रहेका तामाङ समुदायहरु उतै पलायन हुने हो कि भन्ने धेरैको सोच रहेको छ । पलायन पनि भएका छन् । तर म फिलिङ्समा काम गर्छु मेरो तामाङ समुदायले हक अधिकार पाएन भन्ने कुराले पिन्च पारिराखेको छ । म जस्तै मेरो धेरै साथीहरु पनि रहेका छन् । अमेरिका युरोपमा मात्रै होइन अन्य देशका साथीहरुसँग पनि यो सवालमा कुरा भइरहेको हुन्छ । जति बेला मेरो समुदायलाई आवश्यक पछि त्यती बेला आउन सक्छु भन्ने हिसाबले काम गरिरहेका छौं । नेपाल आएर तामाङ समुदायको लागि लड्न पाउँदा गर्व महसुस हुनेछ । आफ्नो जीवनको सार्थक प्वाईन्ट पनि मैले त्यसलाई लिएको छु ।