काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना (ओमिक्रोन भेरिएन्ट) प्रवेशसँगै संक्रमितको संख्या ठूलो संख्यामा थपिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारको तथ्यांक अनुसार सक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ पुगेको छ ।
माघ लागेपछि देशभर ५३ हजार कोरोना संक्रमित थपिएका छन् । सक्रिय संक्रमितमा पनि प्रदेशअनुसार हेर्दा वाग्मती प्रदेश त्यसमा पनि काठमाडौं उपत्यका 'रेडजोन'मा देखिन्छ । वाग्मती प्रदेशमा सक्रिय संक्रमितको संख्या ५१ हजार २३४ रहेको छ ।
प्रदेश नम्बर १ मा ७ हजार १२ जना, गण्डकीमा ४४ सय ११, लुम्बिनीमा ३ हजार ६६४, मधेस प्रदेशमा २६ सय ८६, सुदूरपश्चिममा १७ सय ८० र कर्णाली प्रदेशमा सबैभन्दा कम ४७४ सक्रिय संक्रमित रहेका छन् । आइसीयुमा २१० रहेका छन् । त्यसमध्ये वाग्मतीमा १२७ जना रहेका छन् । भेन्टिलेटरमा ३७ जनाको उपचार भइरहेको छ ।
कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या सबैभन्दा धेरै वाग्मती प्रदेशका ५ हजार ३ जना नागरिक रहेका छन् । कोरोना संक्रमणलाई नियन्त्रण गर्नको लागि सरकारले शुक्रबार रातिको १२ बजेदेखि सवारी साधनमा जोरबिजोर प्रणालीको सुरु गरेको छ ।
यस्तै २५ जनाभन्दा धेरै भिडभाड नगर्न पनि आग्रह गरेको छ भने सार्वनजिक स्थानमा हिँड्डुल गर्दा खोप कार्ड अनिवार्य गरेको छ । माघ महिना लागेसँगै उकालो लागेको कोरोना संक्रमणको संख्यालाई नियन्त्रण गर्नको लागि अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, पत्रकार, सवारी चालक, सहचालक बैंकका कर्मचारीलाई लक्षित गर्दै बुस्टर डोज अभियान संचालन गरे पनि अहिले बुस्टर डोजको अभियान बन्दजस्तै भएको छ ।
कोरोना विरुद्धको पहिलो खोप नै नपाएका नागरिकलाई सरकारले प्राथमिकतामा राख्नु पर्ने आवाज उठ्दा उठ्दै पनि बुस्टर डोज सुरु गरिएको थियो । देशभर ८९ वटा सरकारी तथा निजी प्रयोगशालाबाट कोरोना परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।
७८ वटा अस्पतालमा कोभिड—१९ केयर युनिट संचालमा ल्याएको छ । यस्तै नागरिकको सहजताका लागि कोरोना परीक्षण शुल्क निजीमा १५ सय र सरकारी प्रयोगशालामा ८ सय रुपैयाँ तोकिएको छ ।