काठमाडौं । शनिबारका दिनभरिका मुख्य घटनाक्रम समेटेर तयार पारेको प्याकेज समाचार । यसमा राष्ट्रिय अन्तर्राष्ट्रिय गतिविधि समेटिएका छन् । कोरोना हटस्पट बन्दै उपत्यका,चीनद्वारा नेपाललाई २० लाख सिरिञ्ज हस्तान्तरण,थपिए १० हजार २५४ कोरोना संक्रमित, १६ को मृत्यु,आईतबार देशभरका अदालत बन्द रहने,भारतमा एकैदिनमा तीन लाख ३७ हजार सङ्क्रमित थपिए लगायतका समाचार समेटेका छौं ।
१)
पछिल्लो समय नेपालमा कोरोना (ओमिक्रोन भेरिएन्ट) प्रवेशसँगै संक्रमितको संख्या ठूलो संख्यामा थपिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारको तथ्यांक अनुसार सक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ पुगेको छ । माघ लागेपछि देशभर ५३ हजार कोरोना संक्रमित थपिएका छन् । सक्रिय संक्रमितमा पनि प्रदेशअनुसार हेर्दा वाग्मती प्रदेश त्यसमा पनि काठमाडौं उपत्यका रेडजोनुमा देखिन्छ । वाग्मती प्रदेशमा सक्रिय संक्रमितको संख्या ५१ हजार २३४ रहेको छ । प्रदेश नम्बर १ मा ७ हजार १२ जना, गण्डकीमा ४४ सय ११, लुम्बिनीमा ३ हजार ६६४, मधेस प्रदेशमा २६ सय ८६, सुदूरपश्चिममा १७ सय ८० र कर्णाली प्रदेशमा सबैभन्दा कम ४७४ सक्रिय संक्रमित रहेका छन् । आइसीयुमा २१० रहेका छन् । त्यसमध्ये वाग्मतीमा १२७ जना रहेका छन् । भेन्टिलेटरमा ३७ जनाको उपचार भइरहेको छ । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या सबैभन्दा धेरै वाग्मती प्रदेशका ५ हजार ३ जना नागरिक रहेका छन् । कोरोना संक्रमणलाई नियन्त्रण गर्नको लागि सरकारले शुक्रबार रातिको १२ बजेदेखि सवारी साधनमा जोरबिजोर प्रणालीको सुरु गरेको छ ।
२)
कोभिड–१९ महामारी विरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन चीन सरकारले अनुदान स्वरुप २० लाख सिरिञ्ज उपलब्ध गराएको छ । शनिबार उक्त परिमाणको सिरिञ्ज नेपाल सरकारलाई हस्तान्तरण गरिएको यहाँस्थित चिनियाँ दूतावासले जनाएको छ । शनिबार हस्तान्तरित सिरिञ्जले जारी खोप अभियानमा योगदान गर्ने विश्वास व्यक्त गर्दै नेपालका लागि चिनियाँ राजदूत हाउ याञ्छीले नेपाली मित्रहरूलाई सहयोग गर्न चीन सरकार सदैब तत्पर रहेको बताउनुभएको छ ।
३)
नेपालमा पछिल्लो २४ घण्टामा १०२५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ४६२ जनाको पीसीआर परीक्षणमा ८२१२ र ५ हजार ७२५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २०४२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १६ कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो समय कोरोना बढेसंगै मृत्यु हुनेको संख्या अहिले सम्मकै उच्च हो । यो संगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनको संख्या ११ हजार ६५१ पुगेको छ । सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ७०८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९० दशमलब ७ रहेको छ ।
४)
सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा शोक विदा दिने निर्णय गरेको छ । शनिबार बसेको सर्वोच्चको आकस्मिक पूर्ण बैठकले शर्माको निधनमा आइतवार देशभरका अदालतमा शोक विदा दिने निर्णय गरेको हो । ‘शर्माको असामयिक निधनमा शोक मनाउन माघ ९ गते नेपालभरका सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणहरु शोक विदाको रुपमा बन्द रहने,’ निर्णयमा उल्लेख छ । २०१६ सालमा सरकारी सेवामा प्रवेश गरेका शर्मा ३० चैत २०५४ देखि ३० मंसिर २०५६ सम्म प्रधानन्यायाधीश रहेका थिए ।
५)
भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप तीन लाख ३७ हजार ७०४ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार, अघिल्लो दिनको तुलनामा नौ हजार ५५० कम सङ्क्रमित भएका हुन् । अघिल्लो दिन तीन लाख ४७ हजार २५४ जना नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो । दैनिक सङ्क्रमितको सङ्ख्या घटेपनि सङ्क्रमित अवस्थामै रहेकाको कुल सङ्ख्या भने बढीरहेको छ । मन्त्रालयका अनुसार भारतमा अहिले २१ लाख १३ हजार ३६५ सङ्क्रमित अवस्थामै रहेका छन् । सोही अवधिमा सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या भने दुई लाख ४२ हजार ६७६ रहेको मन्त्रालयले जनाएको छ । योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या तीन करोड ६३ लाख एक हजार ४८२ पुगेको अधिकारीले जानकारी दिएका छन् । भारतमा अहिलेसम्म चार लाख ८८ हजार ८८४ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने ती मध्ये पछिल्लो २४ घण्टामा ४८८ को मृत्यु भएको छ ।