काठमाडौं । नुवाकोटका जनप्रतिनिधि र नेकपा (माओवादी केन्द्र) का नेताहरुले टोखा-छहरे सुरुङमार्ग निर्माण तत्काल अघि बढाइदिन अर्थमन्त्री जनार्दन शर्माको ध्यानाकर्षण गराउनुभएको छ ।
लगातार तीन आर्थिक वर्ष बजेट छुट्याइए पनि काठमाडौं टोखादेखि नुवाकोटको छहरे जोड्ने सुरुङमार्गको कुनै काम सुरु नभएको भन्दै संघीय सांसद हितबहादुर तामाङ नेतृत्वको टोलीले मंगलबार बिहान अर्थमन्त्री शर्मालाई भेटेर ध्यानाकर्षण गराएको हो । संविधानसभा सदस्य विमला सुवेदी, वाग्मती प्रदेश उपसभामुख राधिका तामाङ, माओवादी केन्द्र वाग्मती प्रदेश उपाध्यक्ष रामप्रसाद ढुंगाना, सचिवालय सदस्य पुष्प लामिछाने सहितको टोलीले मन्त्री निवास पुल्चोक पुगेर टोखा-गुर्जे भञ्ज्याङ-छहरे सुरुङमार्गका साथै अलपत्र रहेको पासाङल्हामु सडकको बालाजु-रानीपौवा र रानीपौवा-पीपलटार खण्ड निर्माण पनि छिटोभन्दा छिटो सम्पन्न गर्ने पहल लिइदिन अर्थमन्त्री शर्मासँग माग गरेको छ ।
'तीन आर्थिक वर्षसम्म लगातार बजेट विनियोजन गरे पनि चालु आर्थिक वर्ष २०७८/७९ को उत्तरार्द्धमा आइपुग्दाको अवस्थामा समेत उक्त सुरुङमार्ग निर्माणसँग सम्बन्धित कुनै पनि काम अघि नबढिरहेको बेहोरा पनि मन्त्रीज्यूसमक्ष जानकारी गराउँदछौं,' ध्यानाकर्षण पत्रमा लेखिएको छ, 'आवश्यक पर्ने बजेट तथा आर्थिक स्रोत सुनिश्चित गरी निर्माण कार्यलाई छिटोभन्दा छिटो अघि बढाउन सम्बन्धित निकायहरुलाई निर्देशन दिनुका साथै अन्य आवश्यक पहलकदमी लिइदिनको लागि यो ध्यानाकर्षण पत्र पेस गर्दछौं ।'
टोखा-छहरे-गुर्जे भञ्ज्याङ सुरुङमार्ग निर्माणका लागि सरकारले २०७६/०७७ मा ४० लाख, २०७७/०७८ मा १५ करोड १० लाख र २०७८/०७९ मा ५० करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । शक्तिशाली छिमेकी मुलुक चीनलाई छोटो दुरीमा जोड्ने तथा दुई देशबीचको सामाजिक, सांस्कृतिक एवं आर्थिक सम्बन्धलाई थप सुदृढ गराउने विश्वास लिइएको टोखा-छहरे सुरुङमार्गको २०७६ माघ दोस्रो साता चिनियाँ टोलीले प्रारम्भिक अध्ययन गरेको थियो । टोलीकाअनुसार चार किलोमिटर हुन सक्ने प्रारम्भिक अध्ययनका क्रममा जानकारी गराएको छ ।
यस्तै रानीपौवा-पीपलटार खण्डको सडक २ वर्षभित्र सम्पन्न गर्नेगरी सन् २०१४ जुलाईमा ठेक्का सम्झौता भएकोमा सन् २०२० को जुनसम्म पनि निर्माण कार्यको भौतिक प्रगति ५० प्रतिशत पनि नपुगेकोले आयोजना पक्षको मागअनुसार नेपाल सरकराले २०७७ असार ९ गते ठेक्का रद्द गरेको थियो । ठेक्का रद्द गर्ने कार्यको विरुद्ध निर्माण कम्पनी पक्षले उच्च अदालत पाटनमा रिट निवेदन दिएको र उक्त रिटउपर अहिलेसम्म सुनुवाइ नगरेकोले उक्त सडकको भविष्य अनिश्चित अवस्थामा पुगेको भन्दै रिट निवेदन छिटो सुनुवाइ गराउने कार्यमा सहयोग गर्न अर्थमन्त्री शर्माको ध्यानाकर्षण गराइएको छ ।
त्यसैगरी बालाजु-रानीपौवा खण्डको निर्माण पनि २ वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भएकोमा ८ वर्ष भइसक्दा पनि निर्माण कार्यको भौतिक प्रगति ५० प्रतिशत पनि हुन नसकेको र निर्माण कम्पनीले बनाउने तदारुकता पनि नदेखाएकोले बालाजु रानीपौवा सडक खण्डमा यथाशीघ्र निर्माण सम्पन्न गर्न पहल लिइदिन पनि अर्थमन्त्री शर्माको ध्यानाकर्षण गराइएको छ ।
दुवै खण्डका लागि ८ वर्षअघि १ अर्ब ३४ करोड ५९ लाख ६३ हजार ४०४ रुपैयाँ १८ पैसा लागत अनुमान गरिएको थियो । तर ठेक्का सम्झौता भने ८५ करोड ३७ लाख ६८ हजार ५४७ रुपैयाँ ५९ पैसामा भएको सांसद तामाङले जानकारी दिनुभयो ।
बालाजु-रानीपौवा खण्डको निर्माणका लागि सैलुङ कन्ट्रक्सन कम्पनीले ३४ करोड ९४ करोड ७१ हजार ९५२ (भ्याटसहित) मा निर्माण जिम्मा लिएको छ । लागत स्टमेट भने ५४ करोड २२ लाख ४८ हजार ३८ रुपैयाँ रहेको छ ।
यस्तै रानीपौवा-पीपलटार खण्ड ५० करोड ४२ लाख ९६ हजार ५९५ (भ्याटसहित) दिनेशचन्द्र-नागर्जुन/कोसी एन्ड न्यौपाने कम्पनीले ठेक्का लिएको छ । यो खण्डको लागत अनुमान ८० करोड ३७ लाख १५ हजार ९६५ रुपैयाँ रहेको छ । यी दुवै खण्डका लागि तत्कालीन अर्थमन्त्री वर्षमान पुनको पालामा माओवादीका तत्कालीन नेता पोष्टबहादुर बोगटी र नेता हितबहादुर तामाङको पहलमा बजेट परेको हो ।
साथै रकमान्तरण गर्दा नुवाकोटको जनताको जीवनसँग जोडिएका सामाखुसी टोखा-छहरे सडकको गुर्जेभञ्ज्याङ-छहरे खण्ड, पोस्टबहादुर बोगटी पार्क लगायत पनि बजेट छुट्याउन टोलीले माग गरेको छ ।
ध्यानाकर्षण तथा माग पत्र बुझ्दै अर्थमन्त्री शर्माले टोखा-छहरे सुरुङमार्ग सरकारले समेट्नै पर्ने योजना रहेकोले आफू सकारात्मक रहेको र अन्य मागका सम्बन्धमा सकेसम्म सम्बोधन गर्ने बताएको सांसद तामाङले जानकारी दिनुभयो ।
अर्थमन्त्री शर्मासँगको भेटपछि कसको के प्रतिक्रिया ?