विश्वको सबल मुलुक अमेरिकालाई बुझ्न र नजिकबाट हेर्ने रहर धेरैको हुन्छ । तर, सबैका ती मुलुकमा पाइला टेक्न पाउँछन् भन्ने हुँदैन । तर, लामो समय ट्रेकिङ र सञ्चारजगतमा खारिनुभएका सोलुखुम्बुका ङिमा पाख्रिन लामा धनी अमेरिकामा बस्दै आउनुभएको छ । तामाङ समाज उत्तर अमेरिकाका मिडिया संयोजक पाख्रिन तामाङ संस्कार, संस्कृति र समुदायको उन्नतिका निम्ति लागीराख्नुभएको छ । उहाँले सामुदायिक सूचना नेटवर्कका पूर्वकोषाध्यक्ष तथा सामुदायिक सूचना नेटवर्ककै पूर्वाञ्चलको उपाध्यक्षको जिम्मेवारी पनि सम्हालिसक्नुभएको छ । तीन दशकभन्दा लामो समयदेखि व्यावसायिक र सामुदायिक पत्रकारिता जगतलाई नजिकबाट नियाल्दै आउनुभएका पाख्रिनसँग संचार क्षेत्रको विकास, मिडियामा तामाङ समुदायको पहुँच, अमेरिकावासी तामाङ समुदायको अवस्थालगायत विषयमा ग्लोबल मिडियाका लागि अञ्जु तामाङले गरेको कुराकानी ।
प्रवासमा रहेर पत्रकारितालाई कसरी नियालिराख्नुभएको छ ?
केही न केही हिसाबमा जोडिराखे पनि पूर्णरुपमा म पत्रकारितामा लागेको व्यक्ति भने होइन । सुरुका दिनमा रेडियोको व्यवस्थापनको मेरो जिम्मेवारी थियो । त्यसको मतलब पत्रकारितामा नजोडिएको होइन । केही न केही रुपमा पत्रकारितामा म जोडिरहेको छु । म आफू पनि पर्यटन व्यवसायी भएको र पत्रकारितामा पनि जोडिएको हुँदा पर्यटन क्षेत्रको विभिन्न ठाउँमा पुग्दा मैले त्यहाँको आवाज, विषयवस्तुहरुलाई लेख्ने गर्थे । आफूले लेखेका समाचारहरु पत्रिकामा छापिँदा निकै खुसी लाग्थ्यो र झन् उत्साह मिल्थ्यो । अमेरिकामा गइसकेपछि त्यहाँका केही कुराहरुलाई पत्रकारितामार्फत बाहिर ल्याउन र सेयर गर्न मन लाग्दा त्यहाँका केही मिडियाहरुसँग पनि जोडिएको छु ।
मैले अमेरिकाको लागि हिमालको प्रतिनिधिका रुपमा पनि काम गरेँ । ‘एभरेस्ट टाइम्स न्यूयोर्क’बाट सुरु भएको छ । त्यहाँ पनि आबद्ध छु । ३० वर्ष पहिला सीमित मिडियाहरु थिए । सञ्चार माध्ययमहरुमा पनि रेडियो नै सबैभन्दा सशक्त थियो । म जतिबेला सोलुखुम्बुमा गाई गोठाला थिएँ । मैले स्कुल जान ढिला सुरु गरेको हुँ । त्यतिखेर पनि म रेडियोबाट आउने समाचार, गीतहरु अथवा आएका कुराहरु गाउँलेहरुलाई सुनाउँथे । त्यस्तो सीमित घेराबाट हाम्रो पत्रकारिताको विकास भएको हो । अहिले सोलुखुम्बुकै कुरा गर्दा इन्टरनेट चल्छ, घाँस काट्दै गर्दा लाइभ गर्न सकिने अवस्था छ ।
‘ग्लोबलाइजेसन’मार्फत जहाँ—जहाँ बसेर पनि पुग्न सकिने अवस्था छ । ठूलो फड्को मारेको छ ।
तामाङ समाज उत्तर अमेरिकाको मिडिया संयोजक हुनुहुन्छ, संस्थाले के—के काम गर्दै आइरहेको छ ?
तामाङ समाज उत्तर अमेरिका नयाँ—नयाँ संस्था हो । त्यसको मतलब तामाङ समुदायलाई एकबद्ध गर्ने र तामाङ समुदायको आवाज बोल्ने संस्थाहरु थिएनन् भन्न खोजेको होइन । तामाङ समाज अमेरिका सायद अमेरिकाको पहिलो संस्था होला । सन् २००२ मा दर्ता भएको जस्तो लाग्छ । म सन् २००२ मा अमेरिकामा हुँदा कार्यसमिति सदस्य थिएँ । अमेरिकाको विभिन्न क्षेत्र तथा सहरहरुमा तामाङ समुदाय बढ्दै गएपछि जुन ठाउँमा तामाङ समुदायको बसोबास छ त्यो ठाउँलाई प्रतिनिधित्व गर्नका लागि संस्थाहरु पनि स्थापना हुन थाले । संयुक्त रुपमा तामाङ समुदायको आवाजहरु उठाउने संस्था बन्न पर्छ भने भन्ने हिसाबले सन् २०१८ मा तामाङ समाज उत्तर अमेरिका (तामाङ सोसाईटी अफ नर्थ अमेरिका) स्थापना भएको हो ।
तामाङ समाज उत्तर अमेरिकाको नेपाली अन्य संघ संस्थासँग सहकार्य र समन्वय कस्तो पाउनु हुन्छ ?
नेपाली संघ संस्थासँगको समन्वय र सहकार्य एकदमै राम्रो छ । जस्तो नेपालमा केही सहयोग गर्नुपरेको खण्डमा अथवा विभिन्न नेपाली कार्यक्रमहरुमा समन्वय भइरहेको हुन्छ । जनजाति महासंघ अमेरिका पनि रहेको छ । हाम्रो संस्थाले सदस्य संस्थाको रुपमा काम पनि गरिरहेका छौं । संस्थाले सांस्कृतिक प्रयास जारी राखिराखेको छ । तर त्यत्ति सजिलो छैन । अमेरिकाका तामाङको बोलीचालीको भाषा त नेपाली नै हो । तामाङ समुदायको भाषालाई अगाडि बढाउनका लागि जति प्रयास गरे पनि निकै कठिन विषवस्तु हो ।
तथापि अहिलेको विभिन्न सामाजिक संजालदेखि इन्टरनेटको माध्यममार्फत जागरण जगाउने क्षेत्रमा प्रयास निकै जारी रहेको छ । म तामाङ समाज अमेरिकाको कार्यसमितिमा हुँदा पनि ‘ल्होछार’ मनाउँदा तामाङ भाषामै गीत, नाटक गर्ने कुरालाई अघि पारेका थियौं । खासगरी तामाङ समुदायको दुइटा जेनेरेसन त्यहाँ देखिन्छ । जस्तो हामी पहिलो जेनेरेसनको रुपमा छौं । हामी नेपालमै हुर्केकोले तामाङ समुदायप्रति अलि बढी नै माया गर्छौं । यो कुरालाई पुस्तान्तरण गर्नको लागि प्रयासरत छौं, तर सजिलो छैन । किनभने दोस्रो पुस्ता अमेरिकामा हुर्कंदै गरेको अवस्था छ, उनीहरुको दैनिक बढीभन्दा बढी अमेरिकनसँग हुन्छ । कलिलो उमेरमा जति सिकाए पनि हामी किन गर्ने त ? भन्ने जस्तो मैले पाएको छु । तथापि यसको मतलब ग्रुम नहुने भन्ने होइन हामीले धेरै प्रयास गरेका छौं ।
जस्तै क्रिसमसमा अमेरिकामा गिफ्ट दिने चलन छ । त्यो कुरा ल्होछारमा हामीले किन नगर्ने ? जसले गर्दा ‘ल्होछार’ त हाम्रो रै छ भन्ने खालको हुन्छ भनेर केही साथीहरुले प्रयास पनि गर्नुभएको छ । जस्तो ह्योल्मो समुदायको कुरा गर्नुपर्दा प्रत्येक ल्होछारमा गिफ्ट बालबालिकालाई बढ्ने चलन छ । तामाङहरुमा पनि केही स्टेटहरुमा ‘ल्होछार’मा गिफ्ट दिने चलन मैले देखेको छु । त्यो प्रयासहरु जारी छ । तथापि चुनौती धेरै छ । अमेरिकन कल्चरमा हुर्केको छ । त्यसैमा कम्प्लीट गर्नुपरेको छ । उदाहरणको रुपमा जाँदा मेरै छोरीको कुरा गर्दा म घरमा पनि तामाङ भाषा बोल्छु, छोरीलाई खसभाषाभन्दा पनि तामाङ भाषा सिकाउँदा मलाई उसले मेरो छिमेकीहरु कसैले पनि तामाङ भाषा बोल्दैन । यहाँ हाम्रो घरमा तपाईंहरुले अंग्रेजी भाषा बोल्नु हुन्छ, मैले तामाङचाहिँ किन सिक्ने भन्ने प्रश्न गरेको थियो ।
मैले आफ्नो तर्फबाट भन्ने कुरा त भयो तर उनको ग्रुम देखिएन । भाषाको कुरामा केही रै'छ भने संगैका साथी, विद्यालय, छरछिमेकले जे बोल्यो त्यही सिक्ने रै'छ । अमेरिकामा बस्ने मेरो केही साथीहरुले बालबालिकालाई आफ्नो संस्कार, संस्कृतिबारे सिकाउन नेपालमा ल्याउनु भएको छ । त्यसले गर्दा चुनौती धेरै छन् । त्यसको मतलब संस्थाबाट केही नभएको होइन, हामी प्रयासरत छौं । ल्होछार मनाउँदा आफ्नो पोसाक, तामाङ, शेर्पालगायत विभिन्न जनजाति आफ्नो पोसाक लगाउनुहुन्छ, साना बालबालिकाले पनि लगाइरहेको हुन्छ । एटलिस्ट यस्ता कुराले पनि केही न केही ग्रुम गर्छ भन्ने लाग्छ । चुनौती र संघर्षको बीचमा केही प्रयासहरु भइरहेका छन् ।
संचारक्षेत्रमा परिवर्तन कतिको पाउनु भएको छ, तामाङ समुदायको भएकै हिसाबले संचारक्षेत्रमा यो समुदायको आवाज कत्तिको समेटिएको पाउनुहुन्छ ?
इन्टरनेटको प्रयोगसँगै संचार क्षेत्रलाई पनि धेरै प्रभाव पार्न थालेको छ । हिजो, छापा, रेडियो र टेलिभिजन संचार क्षेत्रको रुपमा थियो भने जब इन्टरनेट आउन थाल्यो पत्रकारिता क्षेत्रमा पनि एक किसिमको परिर्वतन आयो । सामाजिक संजाल नै पत्रकारिताको एप्रोजको रुपमा आउन थोलेको छ । हिजोभन्दा आज च्यालेन्ज पनि थपिएको छ । सही र सत्य सूचना नजाला भन्ने ठूलो च्यालेन्ज पनि छ भने छिटो र तत्काल नागरिकमाझ पुर्याउनको लागि इन्टरनेटले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
तामाङ समुदायको आवाजहरु संचारमाध्ययममा पहिलाभन्दा त धेरै आएको देख्छु । कुनै बेला हाइस्कुल सकेर काठमाडौंमा पढ्न आउँदा तामाङको विषयवस्तु संचारक्षेत्रमा आउँदै आउँदैन थियो । तामाङ पत्रकार पनि देखिँदैन थियो । कुनै तामाङ पत्रकारले लेख्नुभएको समाचार भेटियो भने पनि खुब गर्व लाग्थ्यो । त्यसको दाँजोमा अहिले आउँदा तामाङ पत्रकारहरु धेरै भइसकेका छन् । तामाङ पत्रकारहरु धेरै हुनु भनेको त तामाङ विषयवस्तुहरु पनि आउनु हो नि । सोलुकै कुरा गर्नुपर्दा जब सोलुको रेडियोमा काम गर्न थालेँ त्यो बेलामा पत्रकार छँदै थिएनन् । सोलुका वरिष्ठ पत्रकारहरु त हुनुहुन्थ्यो तर काठमाडौंमा बसेर पत्रकारिता गर्नेहरु हुनुहुन्थ्यो । सोलुमै बसेर पत्रकारिता गर्ने कोही थिएनन् जसले गर्दा त्यहाँको विषयवस्तु संचारक्षेत्रमा कमै आउँथ्यो ।
रेडियो संचालनमा आएपछि राष्ट्रियस्तरमा सोलुको विषयवस्तुलाई पनि समेटिन थालियो । तामाङ समुदायकै कुरा गर्नुपर्दा, तामाङ संचारक्षेत्र, तामाङ पत्रकारहरु बढ्दा स्वभावैले पनि यो समुदायको विषयवस्तु, आवाजहरु संचार क्षेत्रमा आउन थालेको मैले महसुस गरेको छु ।
अमेरिकामा व्यावसायिक पत्रकारिता विकास हुने सम्भावना कत्तिको देख्नुहुन्छ ?
म जहाँ बसेको छु त्यहाँ व्यावसायिक पत्रकारिता गर्ने थोरै छन् । सम्भावना पनि कम छ । किनभने अमेरिकाको दाँजोमा हाम्रो समुदाय सानो र थोरै छ । केही साथीहरु व्यावसायिक रुपमा लाग्नु भएको देखेको छु भने धेरै पत्रकारहरु दायित्वको हिसाबमा आफ्नो समुदायको आवाज उठाउनको लागि, लागिराख्नुभएको पनि हुनुहुन्छ ।
पत्रकारितालाई निरन्तर रुपमा टिकाइराख्नका लागि मुख्यकुरा त कर्म नै हो । पत्रकारिताबाट नै जीविकोपार्जन गर्न राख्ने अवस्था कमै छ । तर नेपालबाट गएर अमेरिकामा नै पत्रकारिता अध्ययनपश्चात् त्यहाँको संचारक्षेत्रमा काम गर्ने व्यक्तिहरु पनि हुनुहुन्छ, उहाँहरुले भने यो क्षेत्रबाट नै जीविकोपार्जन गरिराख्नुभएको छ । भोलिका दिनमा हाम्रो दोस्रो पुस्ताले त्यही विषयमा अध्ययन गरेर पत्रकारिता गर्नुहुने छ भन्ने आश छ ।
पत्रकारितासँग जोडिएका एउटा अविस्मरणीय क्षण सुनाइदिनु न ?
यो यात्रासम्म सम्झनु पर्ने क्षणहरु त धेरै छन्, तर अहिले म एउटा कुरालाई सम्झन चाहन्छु । म पर्यटन व्यवसायी थिएँ । कामको सिलसिलामा डोल्पा जाँदा त्यहाँको नागरिकको आवाजहरु मेरो श्रीमती त्यो बेलामा रेडियो नेपालमा काम गर्ने भएकोले ल्याउने गर्थें । मसँग जाने डेनमार्कका विदेशीले पनि मैले गरेको गतिविधिको बारेमा नजिकबाट नियाल्नुभएको रै'छ । पछि यो विषयमा छलफल भयो । उहाँहरुले पनि डेनमार्कमा सामुदायिक रेडियो संचालन गरेको रै'छ । २० वर्षदेखि सहयोग गर्दै आउनुभएको रै'छ । त्यो टुर सकेर आएपछि नेपालमा सामुदायिक रेडियो संचालन गर्ने अवधारणको विकास भयो । त्यसैको फलस्वरुप सोलुखुम्बुमा सामुदायिक रेडियो सोलु संचालनमा ल्याउन सफल भयौं । अहिले पनि संचालन भइरहेको छ । त्यो क्षण मेरो लागि सधैं सम्झनामा आइरहन्छ ।
तामाङ समुदायमा परिवर्तन ल्याउनका लागि राजनीतिक, पत्रकारिता अथवा तामाङ समाजका अग्रजहरुबाट के के गर्नुपर्छ होला ?
निरन्तर रुपमा एक किसिमको अन्तर्क्रियात्मक कामहरु भइराख्नुपर्छ । पत्रकारहरुले मात्रै केही गर्न सक्ने होइन जबसम्म त्यो समुदायसँग सम्बन्धित व्यक्तित्वहरुले पत्रकारलाई राम्रोसँग बुझ्ने र पत्रकारिता क्षेत्रमा जोड्ने काम हुँदैन, तबसम्म अगाडि बढ्न गाह्रो पर्छ । त्यो कुराको अनुभूत मैले अमेरिकामा पनि गरेको छु ।
अमेरिकाको पत्रकारिता यात्रा सामुदायिक पत्रकारिता नै हो नेपाली समुदायका लागि । दुई जनाबीचमा भएको कुरा जब संचारमाध्यमबाट बाहिर सार्वजनिक हुँदैन तबसम्म त दुईजना बीचमै सीमित हुने हो । जबसम्म अन्तरसम्बन्ध हुँदैन, तबसम्म हामी अगाडि बढ्न सक्छौं जस्तो लाग्दैन । समुदायका नागरिकले पनि पत्रकारिता हाम्रो लागि नभइ नहुने क्षेत्र हो भन्ने हिसाबले लिनुपर्छ । पत्रकारिताको क्षेत्रबाट पनि समुदायलाई अघि बढाउने हाम्रो दायित्व हो भन्ने तरिका सोच्नु पर्छ ।