घलेभञ्ज्याङ । नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नं. २ को कार्यालयकी सचिव सरिता राउतसहित ३ जना कर्मचारीहरूमाथि भ्रष्टाचार आरोपमा ५३ लाख १ हजार ८५६ रुपैयाँ बिगोसहितको मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार सरिता राउत, रामकुमार गिरी र निलप्रसाद मिश्रमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५(१) एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम शुक्रबार विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको हो ।
वडाध्यक्ष नेकपा (एमाले)बाट निर्वाचित ध्रुवप्रसाद मिश्रले उन्मुक्ति पाउनुभएको छ । भत्ता गायब घटनामा वडाध्यक्ष मिश्रमाथि पनि निष्पक्ष छानबिनको माग हुँदै आएको थियो । वृद्धभत्ता र विभिन्न शीर्षकबाट संकलन भएको ५३ लाख १ हजार ८५६ रुपैयाँ रकम वडा कार्यालयबाट गायब प्रकरणमा उनीहरूले बदनियतपूर्ण ढंगमा हानी नोक्सानी गरेको भन्दै अख्तियारले विशेष अदालतमा शुक्रबार मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता भण्डारीले जानकारी दिए ।
आयोगका अनुसार वडा सचिव सरिता राउतले र कार्यालय सहायक रामकुमार गिरीले रकम बैंकबाट लिएर आएको र सो रकमलाई वडा सचिव राउत, कार्यालय सहायक गिरी र कार्यालय सहयोगी मिश्रको रोहवरमा कार्यालयकै दराजमा राखिएको पाइएको अख्तियारले जनाएको छ । दराजको सेफको चाबी सरिता राउत र रामकुमार गिरीसँग रहेको एवं ढोकाको चाबी निलप्रसाद मिश्रले बोकेको साथै घटनापश्चात कुनै पनि चाबी लगाएको ठाउँमा तोडफोड भएको नदेखिएको, सुरक्षा निकायलाई जानकारी नगराएको साथै सुरक्षाको लागि समन्वयसमेत नगरेको देखिएको आयोगको भनाइ छ ।
वडा कार्यालयबाट गत वर्ष चैत २४ गते रातको समयमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न भनी ल्याएको रकम र विभिन्न शीर्षकबाट उठेको राजस्व रकम शंकास्पद रुपमा हराएपछि उनीहरूमाथि अख्तियारमा उजुरी परेको थियो । भत्ता गायब प्रकरणपछि तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनी मन्त्रालय तानिनुभएको थियो ।