काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुशता, अधिनायकवाद र स्वेच्छाचारी शासनको विरुद्धमा पाँच विद्यार्थी संगठनहरुले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
अखिल (क्रान्तिकार) को काठमाडौं बागबजारस्थित कार्यालयमा मंगलबार बसेको बैठकले पहिलो चरणको आन्दोलन सफलतापूर्वक सम्पन्न भएको समीक्षा गर्दै दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । अखिल (क्रान्तिकारी) का प्रवक्ता जीपी मैनालीका अनुसार २४ असारमा देशव्यापी सिट्ठी जुलुस, २७ असारमा माईतिघरमा शंख फुकेर विरोध प्रदर्शन गर्ने कार्यक्रम छ ।
‘संयुक्त विद्यार्थी संगठनले संसद् विघटन, केपी ओलीको निरंकुशता, अधिनायकवाद र स्वेच्छाचारी शासनको विरुद्धमा सञ्चालन भएको पहिलो चरणको आन्दोलन सफल भएको समीक्षा गरिएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनर्स्थापना गर्ने कुरामा संयुक्त विद्यार्थी आन्दोलन विश्वस्त रहेको छ’ पाँच विद्यार्थी संगठनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसैगरी धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति डा. ज्ञानेन्द्र गिरीको मण्डलीद्वारा गरिएको अनियमितता, भ्रष्टाचार, निजीकरण र माफियाकरणले प्रतिष्ठान धरासायी हुने अवस्थामा पुगेको निष्कर्ष बैठकको रहेको छ । सीटी स्क्यान, एमआरआइ र महत्त्वपूर्ण ल्याब परीक्षणलाई ध्वस्त बनाइएको छ । प्रतिष्ठानमा देखिएको सबै समस्याको जड उपकुलपति भएको हुनाले निजको बर्खास्तीको माग गर्दै त्यहाँ सञ्चालन भइरहेको आन्दोलनमा पाँच बिद्यार्थी संगठनले ऐक्यबद्धता जनाएको छ ।
शिक्षक सेवा आयोगले लामो समयसम्म परीक्षा बन्द गरेकोले देशभर हजारौं शिक्षक दरबन्दी खाली भएका कारण पठनपाठनमा गम्भीर असर पुगेको छ भने परीक्षाको तयारीमा रहेका लाखौं उम्मेदवार विद्यार्थी मर्कामा परेकाले शिक्षक सेवा आयोगको परीक्षा लिने प्रक्रिया तत्काल अगाडि बढाउन माग गरिएको छ ।
यसैगरी हिमालयन पुनर्बीमा कम्पनीको लाइसेन्स दिंदा बीमा समितिले विधि र प्रक्रिया मिचेको तथा अरबौं आर्थिक चलखेल गरिएकोले पुनर्बीमा कम्पनीको लाइसेन्स प्रक्रिया तत्काल रोकी दोषीलाई कडा कारवाही गर्न माग गरिएको उपमहासचिव मैनालीले बताए ।
यस्तै चितवनमा २२ वर्षीया सुजिता भण्डारीको रहस्यमय मृत्युको अबिलम्ब छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरिएको छ । भण्डारी बेपत्ता भएको ९ दिनसम्म गम्भीरतापूर्वक अनुसन्धान नगरिनु जनताको जीवनरक्षा र शान्तिसुरक्षाप्रति सरकार गैरजिम्मेवार र पङ्गु भएको यो घटनाबाट पुष्टि भएको ठहर पाँच विद्यार्थी संगठनले गरेका छन् ।
बैठक पश्चात नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुंगाना, अखिल (क्रान्तिकारी) का अध्क्ष रञ्जित तामाङ, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेलले संयुक्त बिज्ञप्ती जारी गर्दै यस्तो माग गरेका छन् ।