काठमाडौं । सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ डोज दिन थालेको छ । भाइरसविरुद्धको खोप लगाएको ६ महिना पूरा भएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।
स्वास्थ्यमन्त्री विरोध खतिवडाको अध्यक्षतामा शुक्रबार बसेको मन्त्रिस्तरीय बैठकले ७७ जिल्लाका जिल्ला स्वास्थ्य कार्यालयलाई खोप लगाउनका लागि पत्र पठाएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को स्ट्राटेजिक एडभाइजरी ग्रुप अफ एक्सपर्ट अन इमुनाइजेसनको यही माघ ७ गते र राष्ट्रिय खोप सल्लाहकार समितिको माघ १२ गतेको सिफारिसका आधारमा मन्त्रालयले ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन थालिएको हो ।
बुस्टर डोजअन्तर्गत पहिलो र दोस्रो मात्राअन्तर्गत कोभिसिल्ड, एस्ट्राजेनिका, मोडर्ना, फाइजर वा भेरोसेल लगाएकालाई कोभिसिल्ड वा एस्ट्राजेनिका खोप दिने, पहिला मात्रा खोप लगाएकालाई दोस्रो मात्रा दिन सोही खोप नभएमा कोभिसिल्ड वा एस्ट्राजेनिका दिन मन्त्रालयले पत्राचार गरेको छ ।
यस्तै विदेशमा पहिलो मात्रा कोभिसिल्ड, अस्ट्राजेनिका, भेरोसेल, मोडर्ना, फाइजर खोप लगाएकाको हकमा दोस्रो मात्राका रुपमा कोभिसिल्ड, अस्ट्राजेनिका खोप प्रदान गर्नसमेत अनुरोध गरिएको छ । मन्त्रालयले माघ २ गतदेखि पहिलो चरणमा अग्रपङ्क्तिमा काम गर्नेलाई बुस्टर डोज प्रदान गरेको थियो । अहिलेसम्म बुस्टर डोज दुई लाख ९९ हजार नौ जनालाई लगाइएको छ ।
यस्तै काठमाडौं महानगरपालिकाले १२ देखि १७ वर्ष उमेर समूहका यसअघि छुटेका विद्यार्थीलाई शनिबार देखि खोप लगाउन थालेको छ । खोप कार्यक्रमका लागि कामपाले परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र वीरेन्द्र सैनिक अस्पताललाई तोकेको छ ।
कामपाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार यसअघिको अभियानमा छुटेका उक्त उमेर समूहका विद्यार्थीले आफ्नो विद्यालय, नजिकको स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य क्लिनिकसँग समन्वय गरी खोप लगाउन सक्नेछन् । खोप लगाउन उमेर खुल्ने कागजात साथमा लिएर जानुपर्नेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही माघ १० गते जारी गरेको सूचनाअनुसार आजदेखि माघ २० गतेसम्म विद्यार्थीका लागि खोप कार्यक्रम सञ्चालन गर्नेअनुरुप कामपाले खोप कार्यक्रमका लागि स्थान निर्धारण गरेको हो
। कोराना महामारीका कारण अहिले देशभरिका विद्यालय बन्द छन् । खोप कार्यक्रमका लागि विद्यालय खोले पनि पठनपाठनका लागि भने वैकल्पिक शिक्षण सिकाइलाई निरन्तरता दिन कामपाले सबै विद्यालयलाई अनुरोध गरेको छ । हाल कामपामा १२ देखि १७ वर्ष उमेर समूहका झण्डै ६५ हजार बालबालिका छन् ।
झण्डै ५० हजारले पहिलो चरणको खोप प्राप्त गरेको शिक्षा अधिकारी सुवेदीले जानकारी दिनुभयो । हाल कामपामा ९० सामुदायिक विद्यालय छन् भने ५०० भन्दा बढी निजी विद्यालय छन् ।