काठमाडौं । वाम बुद्धिजीवीका रुपमा चिनिने श्याम श्रेष्ठले भूमि आयोग खारेजीको निर्णयमा सतही टिप्पणी गरेको भन्दै वाग्मती प्रदेश सभा सदस्य ओमबहादुर ग्लानले काउन्टर दिनुभएको छ ।
नेकपा (माओवादी केन्द्र)का नेता रहनुभएका ग्लानले बिहीबार सामाजिक सञ्जालमा आफ्नो धारणा पोस्ट गर्दै विशुद्ध कार्यकर्ता भर्ती गरेर राज्यको सम्पत्ति दोहन गर्ने कार्य रोक्न व्यक्तिको मात्र कुरा नहुने र नीतिगत सवाल पनि रहेको औंल्याउनुभएको छ । सांसद ग्लानले धरहरा र रानीपोखरी भत्काउने श्रेष्ठको जस्तो चेतनामा आफूहरु नरहेको भन्दै नीतिगत भ्रष्टाचार खोज्न पर्नेमा जोड दिउनुभएको छ ।
'श्याम श्रेष्ठजी, धेरै सतही पनि नबनौं, राम्रो कामको अनुशरण गर्ने या निरन्तरता दिने नाममा उसले विशुद्ध कार्यकर्ता भर्ती गरेर राज्यको सम्पत्ति दोहन गर्ने कार्य रोक्न व्यक्तिको मात्र कुरा हुँदैन, नीतिगत सवाल पनि हुन्छ । त्यसैले धरहरा उल्ट्याउन र रानीपोखरी भत्काउँदैनौं हामी । किनकि हामी तपाईंको चेतनामा छैनौं । बरु खोजौं नीतिगत भ्रष्टचार कति भएको छ ?'
तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले भूमि समस्या समाधानसम्बन्धी आयोग गठन गरेर कार्यकर्ता भर्तीकेन्द्र बनाएको र बह्मलुट मच्चाएको मन्त्री मंगलबारको मन्त्रिपरिषद् बैठकले आयोग नै खारेज गर्ने निर्णय गरेको थियो । उक्त निर्णयमा बुधबर बेलुकी विश्लेषक श्रेष्ठले जुनसुकै सरकारले सुरु गरेका राम्रो कामलाई निरन्तरता दिनुपर्ने भन्दै भूमिसम्बन्धी आयोगलाई देउवा सरकारले खारेज गरेर नितान्त गलत कार्य गरेको बताउनुभएको थियो ।
'भूमिसम्बन्धी आयोगलाई देउवा सरकारले खारेज गरेर नितान्त गलत कार्य गरेको छ । यो भूमिहीन, गरिब, सुकुम्बासी र तल्लो वर्गका जनताको जीवन सित जोडिएको आयोग थियो । यसमा बेठीक मानिस परेका छन् भने तिनलाई पो हटाउने हो त । अघिल्लो सरकारले गरेको हरेक कुरा उल्ट्याउने सोच र संस्कृतिबाट हरेक सरकार मुक्त हुन आवश्यक छ' उहाँ थप्नुहुन्छ, 'राम्रा कुरालाई त जसले थाले पनि निरन्तरता दिइनु पर्छ । जनविरोधी-देशघाती कुरा मात्र उल्ट्याउने हो । नत्र त धरहरा पनि ढाले भयो । रानीपोखरी पनि भताभुंग पारे भयो । चीनसितको पारवहन मार्ग सम्बन्धि सम्झौता पनि रद्द गरे भयो ।'