काठमाडौं । भाषाको महत्व बुझ्नेलाई थाहा हुन्छ । विविध भाषा -धर्म, संस्कार-संस्कृतिकै कारण नेपाल फरक पहिचान बोकेको देश हो । विविध भाषा, धर्म र समुदायको सिको अन्य देशका नागरिकहरुले रुचाइरहेका छन् । तर सरोकारवाला निकायले चासो नदिँदा नेपालमा विस्तारै भाषा लोप हुने अवस्थामा पुगेको छ । नयाँ पुस्तालाई आफ्नो जात, धर्म, संस्कार-संस्कृति र भाषाको बारेमा समयमा नै जानकारी गराउन नसक्दा पुस्तारन्तरण हुन चुनौती देखिएको छ ।
नेपालको संविधान २०७२ मा मातृभाषालाई दरिलो रुपमा प्रस्तुत गरिएको छ । तर कार्यान्वयनको पाटो भने फितलो देखिन्छ । तर तामाङ संघसस्था सम्बन्धित निकायहरु भने, पुस्तान्तरणको लागि अहिले लागिरहेका छन् । सकारको नीति नियमलाई अठ्याउँदै भाषाको महत्वबारे स्थानीय निकाय, विद्यालय हुँदै बालबालिकासम्म पुगेको देखिन्छ । भलै सोचे अनुसारको नतिजा नपाए पनि प्रयास गर्दा हुने रै'छ भन्ने अनुभूति अभियन्तालाई दिलाएको छ ।
आज हामी मातृभाषा शिक्षाको बारेमा चर्चा गर्ने छौं । जनसंख्याको हिसाबले पनि नेपालमा तामाङ समुदाय राम्रै उपस्थिति रहेको छ । प्रदेशगत रुपमा हेर्ने हो भने तामाङ समुदायको बाहुल्यता भएको वाग्मती हो । यो प्रदेशको सबै जिल्लामा तामाङ समुदायको बसोबास रहेको छ । भाषाविद् तथा अभियन्ताहरु पनि यो प्रदेशलाई प्राथमिकतामा राख्दै तामाङ समुदायको बालबालिका संख्यागत रुपमा धेरै भएको विद्यालयमा तामाङबाट अध्ययन हुनु पर्ने मुद्दालाई जोडदार रुपमा उठाउँदै आएका छन् । र त वाग्मतीका ४४ विद्यालयहरुमा पठनपाठन सुरु भइसकेको छ भने कतिपय विद्यालय तयारी अवस्थामा छन् ।
भाषा आयोग र घेदुङबीचको समझदारी
भाषा आयोग र नेपाला तामाङ घेदुङबीच स्थानीय तहमा भाषा नीति निर्माण तथा मातृभाषा शिक्षासम्बन्धी समझदारी पत्रमा ०७७/०७८ मा हस्ताक्षर भएको थियो । सरकारी तवरबाट अहिले मात्रै होइन वर्षौं अघिदेखि मातृभाषा शिक्षाका कार्यक्रमहरु समेटिएका छन् तर कार्यान्वयन भने चिन्ताजनक देखिन्छ । सो समझदारी पत्रमा नेपाल तामाङ घेदुङसँग सहकार्य गरिएका स्थानीय तहहरुमा भाषा संरक्षण तथा विकास नीति निर्माण तथा मातृभाषा शिक्षा कार्यक्रम संचालन गर्ने भनिएको छ ।
घेदुङले सो कार्यक्रमको संयोजन र समन्वयकारी भूमिका निर्वाह गर्ने, स्थानीय तह भाषा नीति र मातृभाषा शिक्षा कार्यक्रमको लागि नेपाल तामाङ घेदुङ र स्थानीय तहबीच सम्झौता हुने कुरालाई उल्लेख गरिएको छ । समझदारी पत्रमा थप ८ वटा बुँदाहरुलाई पनि समावेश गरिएको छ । तर, कार्यान्वयनको पाटोमा खासै चित्त बुझाउन सक्ने अवस्था भने देखिँदैन । वाग्मतीको विभिन्न जिल्लाको ४४ वटा विद्यालयमा मातृभाषा कार्यक्रम लागू भएको छ । तीमध्ये ३ वटा गाउँपालिकाले पाठ्य सामग्री नै छापिएको छ । नेपालको संविधान २०७२ को धारा ३१ शिक्षासम्बन्धी मौलिक हकहरुमा पनि मातृभाषाको शिक्षाको व्यवस्थापन गरिएको छ ।
हालसम्म कार्यक्रममा २ नगरपालिका र ३ गाउँपालिकामा कार्यक्रम सम्पन्न भएको यस कार्यक्रमका अभियन्ता तथा वरिष्ठ पत्रकार प्रतिक ङेसुर तामाङले जानकारी दिनुभयो । रोशी गाउँपालिका काभ्रे, मन्डनदेउपुर नगरपालिका काभ्रे, कान्ज्योसोम गाउँपालिका ललितपुर, किस्पाङ गाउँपालिका नुवाकोट र निजगढ नगरपालिका बारामा कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय तह कार्यान्वयनमा
३ स्थानीय तहद्वारा पाठ्यक्रम प्रकाशन तथा कार्यान्वयन गरिएको छ । विद्यालयमा तामाङ भाषामा पाठ्यक्रम प्रकाशन गर्ने र कार्यान्वयन गर्ने पाटोमा काभ्रेको रोशी गाउँपालिका अग्रस्थानमा देखिन्छ । यस गाउँपालिकाको २४ विद्यालयमा मातृभाषा शिक्षा अर्थात् तामाङ भाषामा बालबालिकालाई अध्ययन गराइन्छ । यस्तै काभ्रेकै मन्डनदेउपुर नगरपालिकाका ५ विद्यालयले पनि यो कार्यक्रम लागू गरिएको छ ।
ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको १५ वटा विद्यालयमा पनि अध्ययन हुँदै आइरहेको छ । यसरी अहिलेसम्म सक्रिय रुपमा मातृभाषा शिक्षा कार्यक्रम वाग्मती प्रदेशका दुई जिल्ला काभ्रे र ललितपुरका विद्यालयमा कार्यान्वयन हुनु पनि सकारात्मक पक्ष मानिन्छ । तामाङ समुदायको बालबालिका धेरै भएका विद्यालयमा आफ्नै भाषामा पढ्न पाउँदा खस भाषामा भन्दा तामाङ भाषामा छिटो र सजिलो संग सिक्ने गरेको भाषा अभियन्ता ङेसुर बताउनुहुन्छ ।
नेपालको संविधान २०७२ को धारा ३१ शिक्षा सम्बन्धी मौलिक हकमा (५) मा नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानुनबमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने तथा संचार गर्ने सक्ने हकको बारेमा उल्लेख गरिएको छ । संविधानमा पनि मातृ भाषामा सिक्न र सिकाउन पाउने हक अधिकारलाई निकै राम्रो संग ब्याख्या गरिएको छ । तर मातृभाषाबाट बालबालिकालाई अध्ययन गराउने सवालमा भने अहिले सम्म सम्बन्धीत निकायले चासो नदिदा यो कार्यक्रमले सोचेअनुसार सफलता पाउन नसकेको देखिन्छ ।
यसरी विद्यालयले नै पाठ्यपुस्तक बनाउँदा स्थानीय विषयवस्तुलाई राख्नुपर्ने हुन्छ भने स्थानीय बोलिचालीको भाषा हुनुपर्ने पनि भनिएको छ । आफ्नो भाषामा अध्ययन गर्न पाउँदा तामाङ समुदायका बालबालिका निकै हसिलो अनि फुर्तिला देखिन्थे ।
यसरी तयार गरिन्छ शिक्षक
मातृभाषा शिक्षा अध्ययन गराउनका लागि शिक्षक पनि तयार गर्नुपर्ने देखिन्छ । भाषा आयोग र नेपाल तामाङ घेदुङबीचको सहकार्यको यस कार्यक्रम आफैंले शिक्षक पनि तयार पार्दै आइरहेको छ । शिक्षक तयारको लागि ६ दिनको कार्यक्रम राखिएको छ । पहिलो दिन भाषा नीति र मातृभाषासम्बन्धी विज्ञहरुद्वारा छलफल गरिन्छ । सँगै लिपि प्रशिक्षण, पाठ्यपुस्तकको भाषा तथा विषयवस्तुबारे छलफल गर्दै शिक्षक तयार पारिन्छ ।
नीति तथा कार्यनीति
सरकारको नीति तथा कार्यनीतिमा एकल मातृभाषी कक्षामा मातृभाषा र मिश्रित भाषिक भएको कक्षामा मातृभाषामा आधारित बहुभाषिक माध्ययममा सिक्ने पाउने अवसर प्रदान गर्न स्थानीयहरुले योजना बनाई कार्यान्वयनको व्यवस्था मिलाइने उल्लेख छ । यस्तै स्थानीय तहद्वारा आफ्नो स्थानको मातृभाषा, लिपि, साहित्य एवं संस्कृति संरक्षण, विकास गरी सो भाषाको पठनपाठन गर्न व्यवस्था मिलाउनु पर्ने उल्लेख छ । सरकारले संघ, प्रदेश र स्थानीय सरकारको पाठ्यक्रम सम्बद्ध अधिकार क्षेत्रको बाँडफाड पनि गरेको छ । विद्यालय तहको पाठ्यसामग्री र पठनपाठनको भाषाको बुँदामा विद्यालय शिक्षाको सहजीकरण प्रक्रियाका लागि आधारभूत तहमा माध्यम भाषा नेपाली वा मातृभाषा हुने बारेमा पनि उल्लेख गरिएको छ ।
यस्तै अर्को बुद्धामा मातृभाषामा सिक्न पाउने बालअधिकार सुनिश्चित गर्न विद्यालय तहमा मातृभाषालाई विषय र सिकाइको माध्यम भाषाको रुपमा प्रयोग गर्न सकिने बारेमा पनि जानकारी गराइएको छ । संघ सरकारले नमुनाको रुपमा पाठ्यपुस्तक विकास गरिने छ भने सम्बन्धित स्थानीय निकाय तथा विद्यालयले विषय छनोट प्रक्रिया र हेरफेर गर्न सकिने छ । भाषा अभिव्यक्तिको माध्यम, अभौतिक सम्पदा, ज्ञान उत्पादन र हस्तान्तरणको आधार, पूँजी, राज्यको चरित्र निर्माणको आधार तत्व, पहुँच क्षमता व्यक्तित्व र प्रतिभाको लक्षणमात्रै नभई मान्छे हुनुको नैसर्गिक गुण पनि भाषाका सात आयाम हो ।
मातृभाषाका कार्यक्रम कार्यान्वयनमा भाषा अभियन्ता तथा सम्बन्धित निकायका सामु धेरै चुनौतीहरु उभिएका छन् । सम्बन्धित निकायको इच्छा शक्तिको कमी, मातृभाषा शिक्षासम्बन्धी जनचेताको अभाव, गुणस्तरीय शिक्षाबाट बन्चित हुने त्रास, स्थानीय सरकार र जनप्रतिनिधिको शिक्षाका अनविज्ञता, स्थायीन तहका शिक्षा अधिकारीको उदासिनता, केन्द्राकृत मानसिकता, नयाँ लिपि सिक्नुपर्ने बाध्यता, लिपिमा वहर विवादजस्ता कुरा चुनौतीका रुपमा उभिएका छन् । यी विविध चुनौतीका बीच पनि मातृभाषालाई बचाउनु पर्ने छ ।
मातृभाषाका फाइदा
मातृभाषा शिक्षा पाउदाका फाइदाहरु भने धेरै रहेका छन् । बालअधिकारको सम्मान, विद्यार्थीको संज्ञानात्मक र बौद्धिक विकासमा टेवा पुग्ने छ । शैक्षिक उपलब्धिमा वृद्धि, विद्यालय छाड्ने प्रवृत्तिमा कमी, भाषा र संस्कृतिको पहिचान र संरक्षणमा योगदान पुग्ने छ । यतिमात्रै नभई बालबालिकालाई बास्तविक शिक्षा, बालमैत्री वातावरण र सिकाईका साथै बिरानो अनुभव नहुने, अरु भाषा र विषय सिक्ने आधार तयार हुने र व्यक्तित्व विकासको बलियो आधार देखिन्छ ।
भाषा मर्यो भने जाति मर्छ, जातिसँगै एउटा सम्पदा र सम्यताको अन्त हुन्छ । त्यसैले संविधानले प्रदान गरेको मातृभाषासम्बन्धी पाठ्यक्रम र विद्यालय शिक्षालाई दरिलो रुपमा कार्यान्वयन गर्नुपर्ने आजको आवश्यकता हो ।