घलेभञ्ज्याङ । नुवाकोटको पञ्चकन्या गाउँपालिका ३ घलेगाउँमा तलाङ ज्योहोलिङ गुम्बाको नयाँ भवन बन्ने भएको छ ।
बिहीबार आयोजित एक कार्यक्रममा संघीय सांसद एवं पूर्वयुवा तथा खेलकुदमन्त्री हितबहादुर तामाङले नयाँ भवनको शिलान्यास गर्नुभएको हो । प्रमुख लामा शेरबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा वाग्मती प्रदेशसभाका उपसभामुख राधिका तामाङ, पञ्चकन्या गाउँपालिका अध्यक्ष एवं नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेश सदस्य तेजबहादुर तामाङ, उपाध्यक्ष सीता खड्का, पञ्चकन्या ३ का वडाध्यक्ष रामबाबु पराजुली, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सव इन्जियर लक्ष्मीनारायण साह, स्थानीय लामागुरु श्रीमान् लामा, पञ्चकन्या मन्दिरका मूलपुजारी लालबहादुर तामाङ तथा विभिन्न राजनीतिक दलका प्रतिनिधि र स्थानीयवासी उपस्थिति थियो ।
संघीय सांसद तामाङ र प्रदेश उपसभामुख तामाङले निर्माण सुरु भएपछि भवनलाई पूर्णता दिनुपर्ने र त्यसका लागि अपुग बजेट जुटाउन आफूहरुले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
यस्तै गाउँपालिका अध्यक्ष तामाङले गुम्बाको नयाँ भवन बनाउने वर्षौंदेखिको सपना पूरा हुन लागेकोमा खुसी व्यक्त गर्दै बजेटको पहल गर्नुहुने संघीय सांसद र उपसभामुखलाई धन्यवाद व्यक्त गर्नुभयो । 'गाउँको पुरानो गुम्बा निर्माणमा पहिलेदेखि नै पहल गरेको तर गाउँपालिकाको साधनस्रोतले नभ्याइरहेको अवस्थाले यो सपना अधुरो थियो । अब सपना पूरा हुन लागेको छ । यसका लागि संघीय सांसद माननीय हितबहादुर तामाङज्यू र वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङज्यूलाई विशेष धन्यवाद दिन चाहन्छू,' अध्यक्ष तामाङले भन्नुभयो, 'हाम्रो सपना जुन थियो, यहाँहरुको पहलमा आज गाउँमा गुम्बाको नयाँ भवन निर्माण हुँदैछ ।'
उहाँले निर्माण सुरु भएपछि यो गुम्बा अधुरो नरहने विश्वास दिलाउनुभयो । निर्माणमा उपभोक्ता समिति जोडतोडले लाग्नु पर्नेमा जोडदिनु हुँदै अध्यक्ष तामाङले सयमसीमाभित्र सकाउन सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो । स्थानीय सरकारको नेतृत्वमा आफू आइसकेपछि गाउँपालिकाको तर्फबाट सक्ने सहयोग गर्दै आएको उल्लेख गर्दै अब पनि सहयोग रहने उहाँको भनाइ थियो ।
गाउँपालिका उपाध्यक्ष खड्काले पनि गुम्बा भवन समयमै सकिने आशा व्यक्त गर्दै निर्माणका लागि नपुग बजेट व्यवस्थापनका लागि संघीय सांसद र उपसभामुख तामाङलाई आग्रह गर्नुभयो ।
गुम्बा ८ सय स्वायर फीटको मौलिक डिजाइनमा बन्नेछ । गुम्बाका लागि स्थानीय छिरिङ तामाङले १ रोपनी जग्गा उपलब्ध गराएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष सुनिलदोर्जे लामाले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ गुम्बाका लागि ३३ लाख ६६ हजार ६०८ रुपैयाँ लागत अनुमान छ । जसमा स्थानीय पूर्वाधार विभाग, भूकम्पीय पुनर्निर्णाणामा शाखा पुल्चोक ललितपुरबाट २३ लाख बजेट उपलब्ध हुने छ । बाँकी ३० प्रतिशत बजेटमा आधा स्थानीय सरकार गाउँपालिकाले र गुम्बा व्यवस्थापन समितिले १५ प्रतिशत आर्थिकभार बेहोर्ने समिति अध्यक्ष लामाले बताउनुभयो ।
गुम्बा उपभोक्तामार्फत बनाइने छ । गुम्बा भवन चालु आर्थिक वर्षमसान्तभित्र सकाउनुपर्नेछ ।