काठमाडौं । नेपालमा अब रोवर्टबाट उपचार ! विकासोन्मुख त्यसमाथि स्वास्थ्य सेवामा पछि परेको मुलुकका नागरिकका लागि अचम्मको खबर हो । तर, मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा केही गरौं भन्ने उद्देश्यका साथ लागि परेका विराटनगरका डा.सुनिल शर्माले काठमाडौं मेडिकल कलेजलाई सुपरस्पेशियालिटीको हब बनाउँदै नेपालमै पहिलोपल्ट रोवटिक न्यूरो सर्जरी सेवा सुरु गर्न लाग्नुभएको छ ।
गत वर्षबाट डा.सुनिल शर्माको लगानी र व्यवस्थापनमा आएको काठमाडौं मेडिकल कलेज (केएमसी) ले मुलुकमै पहिलोपल्ट क्रेनियल रोवर्टबाट न्यूरो सर्जरी सुरु गर्ने भएको हो । केएमसीले सार्क राष्ट्रहरुमा भारतपछि नेपालमा पहिलो पटक रोवटिक न्यूरो सर्जरी सुरु गर्न लागेको जनाएको छ ।
काठमाडौं मेडिकल कलेजले आज पत्रकार सम्मेलन गरी नेपालमै पहिलोपल्ट न्युरो सर्जरीमा एस ८ स्टिल्थ सिस्टम विथ गाइड, एनआईएमएस एक्लिप्स भर्सन ४ अल्ट्रा अपरेटिभ‚ नेभिगेटेड ड्रिल एन्ड एमआईएसएस सिस्टमजस्ता अत्याधुनिक उपकरणहरू खरिद गरी जडानसमेत गरिसकिएको जनाएको छ ।
केएमसीलाई सुपरस्पेशियालिटीका रुपमा विस्तार गर्नकै लागि दक्षिण एशियाली राष्ट्रहरुमा तेश्रो तथा नेपालमै पहिलो पल्ट न्यूरो सेवामा अत्याधुनिक उपकरण सहितको सेवा सूचारु गर्न लागिएको अध्यक्ष डा.सुनिल शर्माले जानकारी दिनुभयो । यो सेवा दक्षिण एशियामा केएमसी अगाडी भारतको बेङ्लोरमा २ वटा अस्पतालले मात्र ल्याएका छन् ।
‘हामीले दक्षिण एशियाली राष्ट्रहरुमा भारतपछि नेपालमा क्रेनियल रोवर्टबाट पहिलो पल्ट न्यूरो सर्जरी शुरु गर्दैछौं । यसले नेपालको न्यूरो सर्जरीमा क्रान्ति ल्याउने अपेक्षा गरेका छौं ।’ डा.शर्माले भन्नुभयो । केएमसीले कोरोना संक्रमण अगाडी नै रोवटिक सर्जरी सेवा सुरु गर्न खोजेपनि लकडाउनले उपकरणहरु ल्याउन ढिलो भएको हो ।
एस ८ स्टिल्थ सिस्टम विथ गाइड मार्फत न्यूरो सर्जरी गर्दा विरामीको मस्तिस्क तथा मेरुदण्डमा रहेका विभिन्न प्रकारका नसाहरु जोगाउन समेत सहयोग पुग्ने छ । ‘हाम्रो शरीरका कुनैपनि भागहरु चलाउन मस्तिस्कमा बेग्लाबेग्लै नसाहरु हुन्छन् । परम्परागत प्रविधिबाट मस्तिस्कको ट्युमर निकाल्न सर्जरी गर्दा ती नसाहरु काटिनबाट जोगाउन निक्कै चुनौति हुन्थ्यो । पुरै टाउको खोलेर शल्यक्रिया गर्नुपर्दथ्यो ।’ केएमसीका वरिष्ठ न्यूरो सर्जन डा.अमित थापाले भन्नुभयो –‘यो पद्दतिबाट न्यूरो शल्यक्रिया गर्दा मस्तिस्कका कुनैपनि भाग तथा नसाहरुमा नोक्सानी नपुर्याइकन ट्युमर निकाल्न सकिन्छ । शल्यक्रिया गर्न सानो प्वाल पारेमात्रै पुग्छ ।’
एस ८ स्टिल्थ सिस्टम विथ गाइड, एनआईएमएस एक्लिप्स भर्सन ४ अल्ट्रा अपरेटिभ‚ नेभिगेटेड ड्रिल एन्ड एमआईएसएस सिस्टम न्यूरो सर्जरीमा कम्प्लिट प्याकेज हो । यसबाट न्यूरो सर्जरी र ढाड तथा मेरुदण्डको शल्यक्रिया गर्दा विरामीले शल्यक्रिया पछि लामो समय अस्पतालमा बस्ने बाध्यता समेत हटेर जाने डा थापाले बताउनुभयो । ।