काठमाडौं । झन्डै सवा अर्ब खर्चेर स्थानीय तहहरुले सुकुम्बासी र अव्यवस्थित बसोवासीको पहिचान गरी लालपुर्जा वितरणको तयारी गरिरहेको भूमिसम्बन्धी समस्या समाधान आयोगलाई सरकारले साउन १९ गते खारेज गरिदियो । सरकारले भूमिसम्बन्धी आयोग खारेज गरेसँगै अहिले भूमिहीन दलित, सुकुम्बासी, अव्यवस्थित बसोबासी समस्यामा छन् ।
सम्बन्धित र सरोकारवालाहरुले सरकारविरुद्ध आन्दोलन गरिरहेका छन् । यसैक्रममा बिहीबार नेकपा (एमाले) ओली निकटको राष्ट्रिय युवा संघले पनि भक्तपुरको मनोहरका भूमिहीनका आन्दोलनमा समर्थन जनायो । आन्दोलनमा सामेल संघका केन्द्रीय सदस्य सुमन श्रेष्ठ भने निकै चर्चामा आइरहेका छन् ।
कारण हो, उनले घाँटीमा लगाएको सिक्री । भूमिहीनको आन्दोलनमा टाढाबाटै छर्लङ्ग देखिने सुनको सिक्रीसहितको आफ्नो फोटो सामाजिक संजालमा भाइरल भएपछि श्रेष्ठ अचम्मित बनेका छन् । उनले फोटो भाइरल भए पनि सोसल मिडियाका प्रतिक्रियाहरु भने तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र उनको पार्टीप्रति लक्षित देखिन्छ ।
यसबारे 'भाइरल' श्रेष्ठ के भन्नु हुन्छ त ?
उहाँकै शब्दमा :
सरकारले भूमिसम्बन्धी आयोग खारेज गरेपछि हामी राष्ट्रिय युवा संघको नेतृत्वमा भूमिहीन नागरिकको मागलाई समर्थन गर्नको लागि दिउँसो ३ बजे मनोहरा गएका थियौं । म राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य पनि हुँ । म नेकपा एमालेको पक्षमा भए पनि, भोलि नभए पनि सुकुम्बासीको हकहितको निम्ति लड्ने व्यक्ति हुँ ।
पीडामा परेको जोकोही नेपाली नागरिकले न्याय पाउनु पर्छ र त्यस्तो व्यक्तिलाई साथ समर्थन दिने व्यक्ति हुँ । हिजो पनि न्याय नपाएका, समस्यामा परेका व्यक्तिको पक्षमा मैले बौल्दै आएको छु भने भोलि पनि पार्टीमा रहने/नरहने आफ्नो ठाउँमा छ तर माग सही र सरकारले सम्बोधन गर्न जरुरी लागेको खण्डमा म जो कोही व्यक्ति अथवा समाजलाई पनि साथ दिन सक्छु ।
आयो कुरा, मैले भूमिहीनको बारेमा आवाज उठाउँदै गर्दा सुनको सिक्रीको चर्चा । यो मैले कुनै नराम्रो काम गरेर लुटेर लगाएको होइन आफ्नै परिश्रमले लगाएको हुँ । मेरो प्रश्न के छ भने के सुनको किस्री लगाउने, औंठी लगाउने अथवा गाडी चड्ने व्यक्तिले गरिब, विपन्न र समस्यामा परेका नागरिकको पक्षमा बोल्नै नपाउने हो ? सिक्री लगाएर आन्दोलनमा जाँदा मैले के गल्ती गरे ? म भूमिहीन होइन तर मैले भूमिहीनको पक्षमा बोल्न नपाउने किन ?