पोखरा । कोकोम्हेन्दो साहित्य समाज पोखराले आयोजना गरेको प्रथम तामाङ मातृभाषा खुला (व्हाईखा) कविता प्रतियोगिताको उपाधि हिरामायाको ‘योना हाउले होई’ (छिटो आउनु है) ले जितेको छ ।
२८५८ औं सोनाम ल्होछारको अवसरमा तामाङ मौलिक लोक संस्कृतिको उजागर गर्ने उद्देश्यसहित आयोजित प्रतियोगितामा १४ प्रतिस्पर्धीको रचनालाई पछि पार्दै काभ्रेकी हिरामायाको कविताले उपाधि जितेको हो । निर्णायक समितिको संयोजक समेत रहेका लेखक तथा साहित्यकार तीर्थ तामाङ, मिनमाया तामाङ र दिपक तामाङ टोलीको निर्णयअनुसार प्रतियोगितामा काभ्रेकै रचना मोक्तान ‘यात्री’को ‘छ्योर्तेन’ (स्मारक) कविताले दितीय स्थान हासिल गर्यो ।
यसैगरी बारा जिल्लाका माधव खतिवडाको ‘व्हाईखा ल्हो ल्हो’(कविता जस्तै जस्तै) र ललितपुरका बुद्धराम थिङको ‘टिगा ए तामाङ हिन्ना ?’ (के तिमी तामाङ हौ ?) शीर्षकको दुई रचना तृतीय बनेको प्रतियोगिता संयोजक दिपक तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार रामेछापका उदयबहादुर लामाको ‘उन्मा’(उहिले) र सिन्धुलीका रुपक जमरा घलानको ‘ङाला रिमठिम’ (मेरो रितिरिवाज) ले सान्त्वना स्थान हासिल गर्यो ।
प्रतियोगिताबाट प्रथम, दितीय, तृतीय र सान्त्वना स्थान हासिल गरेको कविहरुलाई पोखरामा एक कार्यक्रमको आयोजना गर्दै पुरस्कार वितरण गरिने संयोजक तामाङले बताउनुभयो । ‘हामीले सोसलसाईटमार्फत देशका विभिन्न जिल्ला र विदेशबाट प्रतिभा संकलन र छनौट गर्यौ,' उहाँले भन्नुभयो, ‘अहिले नतिजामात्रै प्रकाशन गरेका छौं । कोरोनाको महामारी केही कम भएपछि पोखरामै भव्य कार्यक्रमको आयोजना गरेर पुरस्कार वितरण गर्नेछौं ।’
संयोजक तामाङले प्रतियोगितामा प्रथम, दितीय, तृतीय र सान्त्वना स्थान हासिल गरेका कविहरुलाई जनही प्रमाणपत्रसहित क्रमश: १० हजार, ८ हजार, ६ हजार र ३ हजार रुपैयाँ प्रदान गरिने बताउनुभयो । प्रतियोगितामा काभ्रे, बारा, ललितपुर, सिन्धुली, कास्की, लमजुङ, चितवनलगायतका जिल्लासँगै अमेरिकाबाट समेत रचना पठाएका थिए ।