काठमाडौं । नेपाल तामाङ घेदुङको नवौं संघीय महाधिवेशनका लागि फागुन १५ गतेभित्र प्रतिनिधि दर्ता गरिसक्न सर्कुलर जारी गरिएको छ ।
सचिवालयको माघ २४ गते सोमबार बसेको बैठकले फागुन ६ गतेदेखि ८ गतेसम्म काठमाडौंमा गर्ने भनिएको महाधिवेशनको तिथि स्थगित गर्दै सर्कुलर जारी गरेको हो । घेदुङले फागुन १५ गतेभित्रमा प्रतिनिधि दर्ता गरिसक्ने र त्यसपछि आएको प्रतिनिधि दर्ता नगर्ने निर्णय गरेको छ ।
यसअघि २०७६ र २०७८ को चैत महिनामा महाधिवेशन सम्पन्न गर्ने मिति तोकेको घेदुङले यस वर्ष कोभिड महामारी सुरु हुनु अगावै महाधिवेशन सम्पन्न गर्नेगरी फागुनको पहिलो हप्ता मिति तोकेको थियो । तर, यस वर्ष पुस अन्तिमदेखि नै कोभिड–१९ को ओमिक्रोन भेरियन्टको संक्रमण बढेर फेरि मिति सार्न बाध्य भएको घेदुङले जनाएको छ ।
कोभिड संक्रमणलाई मध्येनजर गरी नेपाल सरकारले अहिले सभा, सम्मेलन नगर्न र सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । कोभिड संक्रमणदर घट्दै गएको हुँदा फागुन महिनादेखि लकडाउनको मोडेल केही खुकुलो हुने आशा गर्दै घेदुङका महासचिव महितकुमार तामाङद्वारा हस्ताक्षरित सर्कुलरमा फागुन मसान्तभित्र जसरी पनि महाधिवेशन सम्पन्न गर्ने उल्लेख छ । महासचिव तामाङले भन्नुभयो, 'अर्को डेट फागुनको पहिलो हप्ताभित्र सचिवालय बैठकबाट टुंगो लगाउँछौं ।'
अध्यक्ष मोहन गोले तामाङले पनि फागुन मसान्तसम्म जसरी पनि महाधिवेशन गर्ने तयारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, 'सरकारले स्थानीय निर्वाचनको मिति पनि घोषणा गरिसकेको हुँदा जसरी पनि फागुन महिनाभित्रमा घेदुङको महाधिवेशन सम्पन्न गर्नेमा छौं,' अध्यक्ष तामाङले थप्नुभयो, 'त्यसभन्दा पछाडि गइयो भने एक त महाधिवेशन गर्न सकिँदैन, अर्को निर्वाचनअघि नयाँ नेतृत्वलाई हाम्रो माग र मुद्दामा प्रतिबद्ध उम्मेदवार जित्न सक्ने सम्भावित ठाउँमा घेदुङ पुग्यो भने त्यसले केही काम गर्नसक्छ भन्ने पनि हो ।'
घेदुङले संघ, प्रदेश, प्रवास, जिल्ला, भ्रातृ संगठन, विभाग र स्थानीय समिति समेत गरी लगभग ५०० देखि ७०० को हाराहारीमा प्रतिनिधिले महाधिवेशनमा सहभागिता जनाउने आकलन गरेको र अहिलेसम्म १८७ जना प्रतिनिधि, पर्यवेक्षकको नाम दर्ता भइसकेको जनाएको छ । दर्ता भइसकेको प्रतिनिधिको नाम महाधिवेशनमा प्रकाशित बुकलेटमा प्रकाशित हुने भएकोले समयमै प्रतिनिधि दर्ता गर्न घेदुङले सबै समितिहरूलाई ताकेता गरिरहेको पनि बताएको छ ।
'कोभिड महामारीको कारण फागुन १५ गतेसम्म जति प्रतिनिधि दर्ता हुन्छ, त्यत्ति नै संख्याको उपस्थितिमा पनि महाधिवेशन सम्पन्न गर्न बाध्य भएका छौं,' उपाध्यक्ष कुमार घिसिङले भन्नुभयो । घेदुङले महाधिवेशनलाई छिटो, छरितो र सहज ढंगबाट सम्पन्न गर्न नीतिसम्बन्धी बहसको प्रक्रियालाई करिब टुंगो लगाएको जनाएको छ । यसको लागि सातवटै प्रदेशमा प्रदेशस्तरीय भेलाको आयोजना गरी गत पुसमै संगठनको सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र विधानको संशोधित मस्यौदाबारे सुझाव संकलन गरेको छ ।
प्राप्त सुझावलाई समेटेर प्रतिवेदन, विधानलगायत नीतिको पक्षलाई अन्तिम रूप दिइने र अब हुने महाधिवेशनमा नेतृत्व चयन मात्रै हुनेगरी सम्पन्न गर्ने घेदुङको तयारी रहेको अध्यक्ष तामाङले बताउनुभयो ।