काठमाडौं । स्याङ्जाको पुतलीबजारमा २०४० साल कात्तिक १४ गते जन्मिएका पशुपति शर्माको बाल्यकाल पुतलीजस्तै गाउँदै रमाउँदैमा बित्यो ।
गायक पशुपति शर्माका बुबाको चाहना थियो, उनी डाक्टर बनून् । तर, उनको आफ्नै सपना भने गायक बन्ने थियो । परिवारको इच्छाविपरीत उनी गायनमा लागे र सबैको मनमुटुमा बस्नथाले । स्कुल तहको पढाइ स्याङ्जाको पुतलीबजारमै बिताएका उनी सानोमा साह्रै चञ्चले थिए । तीन दिदी तथा एक जना दाजुका कान्छा भाइ उनी सबैको माया पाएर होला अलि बढि उटपट्याङ गर्थे । आज पुराना दिन सम्झिँदा उनलाई कलाकार हुन सानैबाट चञ्चले हुनुपर्दो रहेछ जस्तो लाग्नथालेको छ ।
गाउँको जीवनशैली घरमा कहिलेकाहीँ आँटोढिँडो पनि पाक्थ्यो । त्यो दिन आमाले अन्तिममा भात खाएर बाहिर चुठ्न निस्किनुपर्छ है भन्नुहुन्थ्यो । तर, उनी ढिँडोको डल्लै हातमा लिएर खाँदै बाहिर निस्किन्थे । खाको पनि लुकाएर हुन्छ, देखाएर खानुपर्छ भन्ने उटपट्याङ् स्वभावका कारण उनी त्यसरी बाहिर आएको आज पनि सम्झिन्छन् । खेतमा काम गर्न आउने खेतालालाई पनि उनी हसाए काम गर्नै नसक्ने बनाउँथे । उनकी आमाले हरेक सिजनका खेताला लगाउने बेलामा ‘बरु तँ काम नगर् कान्छा खेताला नभुला है’ भन्थिन् । तर, आमाले भनेर उनलाई कहाँ लाग्थ्यो र उनी खेतमा उटपट्याङ् गरेरै छाड्थे । सानामा उनले आफ्ना बाबु आमालाई खुब सताएका छन् । गाली त कसैले गर्नै हुँदैनथ्यो, उनी झन् धेरै निहुँ खोज्थे उनलाई जति गल्ती गरे पनि फकाउनुपर्थ्यो । अहिले उनको यो सम्पूर्ण गुण उनकी छोरीमा सकेको छ । स्कुलका सधैं प्रथम हुन्थे तर उनी स्कुल जान खुब अल्छी थिए । उनले स्कुल नजानका लागि घाँसको डोको फाल्नेलगायतका विभिन्न उटपट्याङ् गरेका छन् । आमाले अनुशासित हुनुपर्छ छोरा भनेर सिकाएको कुरा उनी स्कुलमा चाहिँ सधैँ सम्झिन्थे । स्कुलमा राम्रा विद्यार्थी थिए ।
गायनमा लाग्दाका सुरुवाती दिनमा उनलाई गायनमा संघर्ष गर्न निक्कै गाह्रो भयो । उनलाई परिवारको गायनमा सपोर्ट थिएन । हुन त गायनका सुरुवाती दिनमा उनी परिवारलाई नभनी लुकीछिपी गायनमा हिँड्थे । कुनै समय यस्तो थियो उनी कजेलमा काम छ भनेर घरबाट निस्किन्थे र विभिन्न कार्यक्रममा गीत गाउन पुग्थे । त्यही समय हो, उनका पिताले उनलाई गाउँदा गाउँदै स्टेजमा भेटेका थिए । त्यो दिन उनी प्रथम भए, तर, प्रथम भएको खुसीभन्दा उनी घरमा झन् कडाइमा परेका थिए । त्यो समय उनलाई आमा र दाइले विशेष गाली गरेका थिए । पशुपति जुन समय गायनमा आएका थिए । उनलाई गायनमा सहयोग गर्ने उनले चिनेका कोही थिएनन् । त्यसोत उनी आफैँमा पनि कुनै पनि किसिमको सांगीतिक ज्ञान थिएन । राजधानी बसाइका दुई वर्षपछि दोहोरी साँझमा गाउँन थालेका पशुपतिलाई पहिलो एल्वम निकाल्ने बेलामा उनका अग्रजहरुले उनलाई एल्वम ननिकाल्न सुझाव दिएका थिए । तिमीले गाउने होइन, तिमीले गाएर हुँदैन भन्दाभन्दै पनि जबर्जस्ती गायनमा लागे ।
थुप्रै पटक राष्ट्रिय लोकगायनमा प्रथम बनेका उनलाई गायनका सुरुवाती दिन सम्झिँदा आज कसरी त्यति धेरै सघर्ष गरें होला भन्ने लाग्छ । आफू पटक पटक मरेर कलाकार बनेको बताउने उनले गायनमा सबैको माया पाएकाले पनि ती सबै संघर्षलाई बिर्सिएका छन् । एसएलसीको पढाइ सकेर शर्मा राजधानी पस्दा १६ वर्षका थिए । एसएलसीपछि दाजुको सटको फेरो समातेर राजधानी पसेका शर्माका सुरुका दुई वर्ष दाजुको सेवामै बित्यो । त्यसबेला उनका दाजु डाक्टरी पढ्दै थिए । उनलाई त्यो समय उनका पिताको ‘दाइ डाक्टर पढ्ने मान्छे, उसले धेरै पढ्नुपर्छ दाजुको लुगा धुने, भात पकाउने काम तैँले गरेस् है’ भनेर फोन आउँथ्यो । उनी १६ वर्षका हुँदा उनका दाजु १८ वर्षका थिए । उनले उनका दाजुलाई तँ बिहान भात पका म बेलुका पकाउँछु भन्न सक्थे तर, उनले त्यसो गरेनन् । दाजुको दुई वर्ष पूर्ण रुपमा सेवा गरे । उनी राजधानी बसाइका दुई वर्ष घरमा भित्रिएकी नवदुलहीजस्तै भएर बसे । उनले उनका पिताको आग्रहलाई कहिल्यै काटेनन् । र पनि उनीहरु दाजुभाइको सम्बन्ध कहिल्यै आत्मीय भएन । दाजुसँग सधैँ औपचारिक कुरा हुन्थे । आज पनि दाजुभाइको भेट हुँदा धेरै खुलेर कुराकानी हुँदैन । उनका दाजु अहिले डाक्टर बनिसकेका छन् । र पनि राजधानी बसाइका ती दिनको सम्झनाको उनी पनि कुरा गर्दैनन्, उनका दाजुले पनि कुरा निकाल्दैनन् । दाजुले मनमा चाहिँ सम्झिएका होलान् भन्ने लाग्छ उनलाई ।
उनलाई सधैं दाजुका लुगा धुन, खाना खाजा बनाउन गाह्रो नलाग्नेचाहिँ होइन । त्यसैले त उनी हरेक पल्ट घरबाट निस्किने बेलामा अन्मिएकी छोरीजस्तै रुँदै निस्किन्थे । उनी जीवनमा थुप्रै पटक रोएका छन् । उनलाई अहिले पनि उनीजस्तो रुन्चे मान्छे अरु छजस्तो लाग्दैन । आफ्ना दुःखमा भन्दा अरुमा दुःख देखेर धेरै रुने पशुपति पछिल्ला केही वर्षयता पहिलेको तुलनामा रुन छाडेका छन् । पशुपति शर्मा जीवनका रंगीन सपना फुलाउने बेलामा पनि गायनमा एकोहोरो भएर लागे । किशोर वयको सुरुवात दोहोरी साँझमा पुगेका उनको संगत अग्रज गायिकाहरुसँग भयो । उनले केटीप्रति आकर्षित हुने र माया गर्ने मुटु बोकेर पनि विवाहअघि प्रेममा अल्झिन पाएनन् । त्यसोत उनले आज गायनमा जुन स्थान बनाएका छन् त्यो स्थान बनाउँला भनेर गायनमा लागेका थिएनन् । एउटा गीत रेकर्ड गर्ने र गायकको सूचीमा आफ्नो नाम लेखाउने मात्रै उनको सपना थियो । तर, उनले सुरुमा निकालेको गीत नै सबैको रोजाइमा परेपछि उनले कहिल्यै पछाडि फर्किनुपरेन ।
उनका दाजुदिदी सबैले बाबुले भनेजस्तै गरे । उनी बाबुआमाको सपनाको बाटो लत्याएर गायनमा आएका । उनी घर जाँदा हरेक पल्ट तँ बिग्रिस् भन्ने कुरा हुन्थे । उनी आमालाई छोराले गीत गाएकोमा भन्दा छोराले कस्ती केटी बोकेर आउने हो भन्ने चिन्ता थियो । गाउँमा पनि उनको कुरा काट्ने ठूलै जमात थियो । त्यस हिसाबले पनि कलाकारहरु पनि अनुशासित हुन्छन् है भनेर प्रमाणित गर्नु थियो । सँगै उनलाई पढ्नु पनि थियो । उनले मास्टर पनि गरे र आमाबाबुकै रोजाइमा पर्वतकी रेखा शर्मासँग मागी विवाह गरे ।
गीत संगीतसँग रेखाको खासै लगाव होइन । तर, उनले जीवन संगिनीबाट चाहिँ गायनमा राम्रो साथ पाए । उनका ‘क्याम्पस पढ्न आउनी’पछि सबै गीत उनका विवाहपछि नै चलेका हुन । त्यसैले पनि उनलाई जीवन संगिनी फापेकी हुन् जस्तो लाग्छ । उनी कहिलेकाहीँ त महिनामा दुई दिन पनि रेखाका लागि छुट्याउन भ्याउँदैनन् । र पनि उनकी जीवनसंगिनीले उनको पेसालाई आत्मसात् गरिन्, कहिल्यै गुनासो गरिनन् उनले । उनकी श्रीमतीसँग सधैँ साथीको व्यवहार रह्यो । कहिलेकाहीँ साथीसँगीसँग जस्तै कहिलेकाहीँ झगडा पनि पर्छ ।
एक समय उनी गाउँ जाँदा टेलिभिजनमा उनको गीत बजिरहेको थियो । गीतको म्यूजिक भिडियोमा किरण केसी ‘राता मकै’ले अभिनय गरेका थिए । उनले उनका बुवालाई खाना खान बोलाउँदा बुवाले भनेका थिए ‘पख् न यहाँ राता मकैले गीत गाउँदै छ, सकेपछि आउँछु’ । त्यसपछि उनलाई आफूले गाएको गीतमा आफैंले अभिनय गर्नुपर्ने रहेछ भन्ने लागेको थियो । पछि अभिनयमा पनि उनलाई धेरैले रुचाए । त्यसयता आफ्ना प्रायः गीतमा उनी आफैँले अभिनय गरेका छन् ।
पशुपति शर्माका चर्चित गीतहरु थुप्रै छन् । मलाई अमेरिका यहीं उनको सर्बाधिक चर्चित गीत हो। उनले चलचित्र प्रेम गीतको लागि पनि गीत गाएका छन् । लुट्न सके लुट गीतले उनि अझै चर्चामा आए बिबादमा पनि तानिए । उनको गीतमा कतै व्यंग तथा कतै नेपालीको यथार्थ कथा पनि हुन्छ ।