काठमाडौं । कोरोना महामारीसँगै सरकारले खोप प्रदान गर्नेमा पहिलो नम्बरमा जेष्ठ नागरिकलाई राखियो । फागुन २३ देखि चैत्र २ सम्म ६५ वर्ष माथिका १३ लाख ३८ हजार जेष्ठ नागरिकलाई खोप लगाईयो । जेष्ठ नागरिकलाई लगाईएको कोभिशिल्ड खोप बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले विकास गरी भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको थियो ।
भारतबाट कोभिशिल्ड खोपको दोस्रो डोज नआएपछि सरकारले अन्य देशसँग उक्त खोपको खरिद प्रक्रिया थाल्यो र निकै लामो समयपछि खोप नेपाल आउन थालेको छ ।
आज भुटानले २ लाख ३० हजार डोज पठाइसकेको र जापानले १६ लाख डोज खोप पठाउने सुनिश्चित भएकाले जेष्ठ नागरिकलाई दोस्रो डोज दिने तयारी भईरहेको सरकारको भनाई छ । स्वास्थ्य सेवा विभाग, खोप महाशाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले जापानले दिने भनिएको खोप शनिबार र आइतबार दुई लट गरेर आउने बताउनुभयो । सो खोप आएसँगै दोस्रो डोजको पर्खाइमा रहेका जेष्ठ नागरिकलाई साउन २५ देखि खोप दिने तयारी भएको प्रमुख शर्माले बताउनुभयो ।
महाशाखाको अनुसार जेष्ठ नागरिकको लागि दोस्रो डोज खोप साउन २५ देखि सुरु हुने छ भने बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकले खोप पाउनेछन् । तर लामो समय पछि आएको दोस्रो डोज कति प्रभावकारी होला भन्ने धेरैको मनमा लागेको छ । विभिन्न संचार माध्यममा खोप विज्ञहरुले नै बेलैमा खोप लगाउन नपाए प्रभावकारीता कम हुने भन्दै आईरहेका छन् ।
जेष्ठ नागरिकलाई पहिलो डोज लगाएको झण्डै ४ महिना पछि दोस्रो डोजको तयारी थालिएको हो । पहिलो डोजले ७० प्रतिशत शरीरलाई कोरोना लाग्नबाट बचाउने र दोस्रो खोपले थप सहयोग गर्ने हुँदा कुनै संकोच नमानी खोप लगाउन जेष्ठ नागरिकलाई सरकारको आग्रह छ । जति ढिला उति कम प्रभावकारी हुन्छ भन्ने कुराहरु आईरहेको छ नि ? भन्ने हाम्रो प्रश्नमा महाशाखाका प्रमुख डा.गौतमले भन्नुभयो, ‘सुरुमा ८ देखि १२ हप्तासम्म खोप लगाउनु पर्ने अध्ययन अनुसन्धानले बताएको थियो भने विश्वस्वास्थ्य संगठनको पछिल्लो अध्ययनले पहिलो डोज लगाएको १२ हप्ता पछि लगाउँदा पनि प्रभावकारी हुने भएको हुँदा हामीले जेष्ठनागरिकलाई दोस्रो डोज लगाउन लागेका हौं’ ।
केही समय ढिला भए पनि कोरोनाको दोस्रो डोज लगाउँदा कुनै पनि समस्या नहुने र पूरा काम गर्ने हुँदा निशंकोच ढुक्क भएर जेष्ठ नागरिकलाई खोप लगाउन डा.गौतमले आग्रह गर्नुभयो । पहिलो मात्राले कोरोनाबाट बचाउनको लागि राम्रो काम गरिरहेको हुँदा दोस्रो मात्राले थप काम गर्ने महाशाखाको भनाई छ ।