काठमाडौं । 'नेपाल कृषिप्रधान देश हो', 'म किसानको छोराछोरी हुँ' प्राय: सबै नेपाली र नेताबाट सुनिने बोली हो यो । आंशिक रुपमा ९० प्रतिशतभन्दा बढी नेपाली कृषिमा संलग्न रहे तापनि ६५ प्रतिशत जनसंख्या भने पूर्णरुपमा कृषि पेसामा निर्भर रहेका छन् । यति ठूलो जनसंख्या कृषिमा संलग्न रहे तापनि मुलुक कृषिमा आत्मनिर्भर हुन सकिरहको छैन ।
पछिल्लो समय कृषिमा आधुनिकीकरण र व्यावसायिकरणको कुरा धेरै नै उठे तापनि आधुनिक प्रविधि र व्यावसायिक कृषिको सुरुवात नगन्यमात्र भएको पाइन्छ । व्यावसायिक कृषिमा युवा पुस्ताको आकर्षण र वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको प्रयास सकारात्मक देखिए तापनि राज्यको ठोस योजना र लगानी नहुँदा सोचे जस्तो परिणाम हासिल गर्न सकिरहको अवस्था छैन । कृषिमा लगानी गर्न राज्यको कन्जुस्याइँ र ठोस योजनाको अभाव त छँदैछ, त्यसमा पनि पछिल्लो समय मन्त्रालयमा नेतृत्वको अस्थिरता र अभावले कृषि मन्त्रालय थप प्रताडित भएको छ ।
राजनीतिक अस्थिरता र सरकार परिवर्तनले मन्त्री खाली हुने र फेरिने त छँदैछ तर यतिबेला कृषि मन्त्रालय राजनीतिक र प्रशासनिक दुवै नेतृत्व विहीन अवस्थाबाट गुज्रेको छ । नयाँ सरकार गठन भएको महिना दिन पुग्न लाग्दा पनि मन्त्री नपाएका मन्त्रालयबाट सचिव योगन्द्र कार्की पनि बिदा भएपछि कृषि मन्त्रालय नेतृत्वविहीन बनेको हो । उमेरहद पार गरी सचिव कार्की गत सोमबार मन्त्रालयबाट बिदा हुनुभएको थियो । कृषि र पशुपंक्षी विकास मन्त्रालय गाभिएर एक भएपछि दुई सचिव रहेको मन्त्रालयमा पशुपंक्षी विकास तर्फका सचिव डा.कृष्णप्रसाद आचार्य हुनुहुन्छ । तर, मन्त्रालयको मुख्यभार भने कृषि तर्फको सचिवको भागमा पर्दछ । मन्त्रालयको बजेट र जनशक्तिको दृष्टिले पनि पशुपंक्षीको भन्दा तीनगुणा धेरै रहेकोले कृषि तर्फको सचिवको भूमिका बढी हुने देखिन्छ ।
यो स्थितिमा नयाँ सचिव को आउने भन्ने मन्त्रालयको चासो देखिन्छ । अब सचिव भएर आउनेमा कृषि विभागका महानिर्देशक गोविन्द शर्मा र प्रदेश १ का कृषि सचिव निरु दाहाल पाण्डे मुख्य रुपमा देखिनु भएको छ । सिनियर सहसचिवहरु पनि सेवानिवृत्त भएर महाशाखाहरु समेत खाली रहेको अवस्थामा सचिव छिटो आइदियोस् भन्ने आशामा रहेको मन्त्रालयका कर्मचारी बताउँछन् । तर मन्त्रीको टुंगो लाग्नु अघि सचिव आउने कुरा पनि ठेगान नभएको मन्त्रालय स्रोत बताउँछ ।
६ महिनामा पाँच मन्त्री
२०७७ पुसदेखि २०७८ असारसम्मको ६ महिनाको अन्तरालमा कृषि मन्त्रालयले चार जना मन्त्री फेरिसकेका छन् । पछल्लो एक महिनादेखि प्रधानमन्त्री शेरबहादुर देउवाले नै कृषि मन्त्रालयको जिम्मेवारी लिइराखेको र कृषि मन्त्रालयको वेबसाइटमा राखिएको प्रधानमन्त्री देउवाको फोटो गन्ने हो भने यस अवधिमा कृषि मन्त्रालयले पाँच मन्त्रीको अनुहार हेरिसकेको छ ।
अघिल्लो सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक २०७७ पुस ५ गते संसद् विघटन गर्नुभएपछि तत्कालीन मन्त्री घनश्याम भुसालले राजीनामा दिनुभएको थियो । लगत्तै पुनर्गठित सरकारबाट कृषि मन्त्रालयको जिम्मेवारीमा पद्मा अर्याल आउनुभयो । झण्डै चार महिनाको कार्यकालपछि मन्त्री अर्याल ओली सरकारबाट बिदा हुनुभयो र नयाँ मन्त्रीको रुपमा ज्वालाकुमारी साह कृषि मन्त्रालय आउनुभयो । कामचलाउ सरकारले मन्त्रीपरिषद् विस्तार गर्न नमिल्ने भन्दै दोस्रो पटक संसद् विघटन पछि नियुक्त मन्त्रीहरु सर्वोच्च अदालतले खारेज गरिदिएपछि मौजुदा मन्त्रीहरुमध्ये चारवटा मन्त्रालयसहित वसन्त नेम्वाङले कृषि मन्त्रालय सम्हाल्नुभयो । दोस्रो पटकको विघटन पनि बदर गरी सर्वोच्च अदालतले संसद् पुन:स्थापना र परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुनुभएपछि मन्त्रालयले हालसम्म मन्त्री पाउन सकिरहेको छैन ।
'किरिया बार्ने'देखि 'गमलामन्त्री'सम्मको चर्चा
निवर्तमान ओली नेतृत्वको सरकारमा घनश्याम भुसालबाहेक अरु मन्त्रीले कृषि मन्त्रालयमा बढीमा चार महिना बसे । कोही त १३ दिन र १८ दिनमै बिदा हुनु पर्यो । मन्त्री ज्वालाकुमारी साहलाई मन्त्रालयभित्र किरियामन्त्रीको संज्ञा दिने गरेको चर्चा छ । संसद्को 'विघटन' भएर आएको र १३ दिनमै बिदा हुनु परेको भन्दै मन्त्रालयभित्र व्यंग्य गरेको देखिन्छ । गठबन्धन सरकार बनेको एक महिना दिन बित्दा पनि मन्त्री नपाएको कृषि मन्त्रालयमा माओवादीबाट पूर्वमन्त्री हरिबोल गजुरेल आउने चर्चा चलिरहेको मन्त्रालय स्रोत बताउँछ । मन्त्री भएको बेला राष्ट्रिय धान दिवस (असार १५) मा गमलामा धान रोपेर चर्चा कमाएको पूर्वमन्त्री गजुरेललाई मन्त्रालयभित्र गमला मन्त्रीको रुपमा चिनिने मन्त्रालयका कर्मचरीले बताउँछन् ।