काठमाडौं । नागार्जुन नगरपालिकाको वडा नम्बर ६ स्थित रामकोट डाँडागाउँमा अन्तर्राष्ट्रिय तामाङ डम्फु पार्क बन्ने भएको छ ।
शनिबार डम्फुपार्क निर्माण समिति र तामाङ डाजाङको संयुक्त आयोजनामा पार्कको डिपिआर सार्वजनिक तथा डजाङको नियमित भाषा साहित्य प्रस्तुति कार्यक्रममा उक्त जानकारी गराएको हो ।
पर्यटकीय स्थलको रुपमा परिचित सेतो गुम्बा नजिकै बन्न लागेको उक्त डम्फु पार्क निर्माणका लागि वाग्मती प्रदेश सांसद केशव पोख्रेलको पहलमा रु. ३५ लाख र नागार्जुन नगरपालिकाले रु. पाँच लाख रुपैयाँ बजेट विनियोजन गरिएको समितिका अध्यक्ष सुर्यमान तामाङले जानकारी दिनुभयो । डिपिआरमा उल्लेख भए अनुसार पार्कसंगै पुस्तकालय र संग्राहलय सहित चार करोड बजेट आवश्यक पर्ने देखिन्छ ।
कार्यक्रममा बागमती प्रदेशसभाका उपसभामुख राधिका तामाङले पार्क स्थलको अबलोकन गर्नुका साथै कार्यन्वयका लागि सबै पक्ष जिम्मेवार भएर लाग्न आग्रह गर्नु भयो । तामाङ समूदायको पहिचान झल्किने डम्फु पार्क नेपाल र नेपालीकै लागि गौरब योग्य सम्पदा हुने र महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्ने हुँदा सबै जाति र राजनीतिक पार्टीका नागरिकले सहकार्य गरी समयमा सम्पन्न गर्नु पर्ने उपसभामुख तामाङले बताउनु भयो ।
कार्यक्रममा भाषा आयोगका प्रमुख डा. लोकबहादुर लोप्चन, भाषाविद अमृत योन्जन, समाजशास्त्री प्राध्यापक डाक्टर मुक्तसिं थोकर, नागार्जुन–६ का वडा सदस्य कुमार वाइबा लगायत कवि कलाकार तथा स्थानीय जनसमुदायको सहभागिता रहेको थियो ।
कार्यक्रममा तामाङ भाषाका कविताहरु वाचन गरिनुका साथै गायक फुलकुमार बम्जन, राजकुमार गोले, रन्जना मोक्तानले डम्फु बजाएर गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो ।
पार्क निर्माण समितिका अध्यक्ष सुर्यमान तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रम पत्रकार एवं डाजाङका पूर्व अध्यक्ष सञ्चु ब्लोन तामाङले संचालन गर्नुभएको थियो ।