काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सँगको सम्झौताको विरोधमा सत्तारुढ नेकपा (माओवादी केन्द्र) का भ्रातृ संगठनले बुधबार संसद् घेराउ गर्ने भएका छन् ।
एमसीसीलाई सरकारले संसद्मा टेबुल गर्न लागिएको भन्दै योङ कम्युनिस्ट लिग (वाइसीएल) र अनेरास्ववियु (क्रान्तिकारी) ले संसद् भवन घेराउ गर्न लागेको हो । 'यथास्थितिमा एमसीसी टेबल गर्ने राष्ट्रघाती कदमविरुद्ध आज बिहान ११ बजे बानेश्वरको संसद् भवन घेराउ गर्ने कार्यक्रम छ,' अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्च सिंहले जानकारी दिनुभयो । उहाँले घेराउ कार्यक्रममा सहभागी हुन सरोकारवाला सबैमा आग्रह पनि गर्नुभएको छ ।
सत्ता गठबन्धनमा कांग्रेसबाहेकका माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा एमसीसी बिनासंशोधन पारित गर्न नहुने पक्षमा छन् । तर सरकारका मुख्य घटक जबरजस्ती संसद्मा लाने पक्षमा देखिएको छ । यसमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालले पनि मौन समर्थन जनाएको देखिन्छ ।
यसैबीच एमसीसी सँगको सम्झौताकै विरोधमा संघर्षरत पाँच घटकले बुधबारका लागि आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ ।मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वका नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा माओवादी केन्द्र समाजवादी र देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले शक्तिशाली र जुझारु नेपाल बन्दको आह्वान गरेका हुन् ।
उनीहरुले एमसीसी सम्झौता नेपालको राष्ट्रिय स्वाधिनताका लागि सर्वाधिक खतरा रहेको भन्दै उक्त राष्ट्रघाती षड्यन्त्र नेपाली जनतालाई सैह्य नहुने बताएका छन् ।