काठमाडौं । विश्वव्यापी कोरोना भाइरस महामारीको उतारचढाव चलिरहेको बेला नेपालका वरिष्ठ आँखा सर्जन डा. वेन लिम्बु नेतृत्वमा पश्चिमी अफ्रिकाको सियरालियोनमा नि:शुल्क आँखा शिविर सञ्चालन गरिएको छ ।
शिविरको आयोजना सर्जिजकल आइ एक्पिडिसन, लोमा लिण्डा युनिर्भिसटी र हिमालयन क्याटाराक्ट प्रोजेक्टको सहयोगमा सियरालियोनको स्वास्थ्य मन्त्रालय स्थानीय सहयोग र सहकार्यमा भएको हो । डा वेन लिम्बुको नेतृत्वमा अमेरिकाका डा जैफ इङ, डा जोयल स्यान्डी, डा एन्ड्रु, डा क्रिस्टिना र नेपालबाट सर्जरी एसिस्टेण्ट रीना लिम्बु सम्मिलित टोलीले आँखा उपचार प्रदान गरिरहेको जानकारी वरिष्ठ डा. लिम्बुले दिनुभयो ।
डा लिम्बु सियरालियोनका राष्ट्रिय आँखा उपचार कार्यक्रमको निमन्त्रणामा २३ माघ २०७८ का दिन फ्रि टाउन पुग्नुभएको हो । सियरालियोनको कुल जनसंख्या ८२ लाख रहेको र ५० वर्ष माथिका प्रतिसय नागरिकमध्ये ६ जनामा अन्धोपनको सिकार हुने गरेको स्थानीय तथ्यांकले देखाउँछ । हालसम्म सियरालियोनमा जम्मा ६ जना आँखा विशेषज्ञ रहेको भए तापनि प्राय:ले सर्जरी नगर्ने हुँदा धेरै बिरामीहरु आँखा उपचारबाट वञ्चित भएको डा.लिम्बुले जानकारी दिनुभयो । विश्वका अन्य मुलुकमा झैं अन्धोपनको प्रमुख कारक मोतिबिन्दु भए पनि यहाँ शिविरमा आएका अधिकांश बिरामीहरु मोतिबिन्दुको अत्यन्त अन्तिम चरण र जटिल अवस्थामा रहेको पाइएको छ ।
सियरालियोनको राजधानी फ्रि टाउनबाट दक्षिण पूर्वमा अवस्थित बो सहरको सरकारी अस्पतालमा हाल ४ दिने नि शुल्क आँखा शिविर सञ्चालन भइरहेकोमा पहिलो २ दिनमा ८० जनाको सफल मोतिबिन्दुको सर्जरी भइसकेको छ भने सयौं दृष्टिविहीनहरु नयाँ दृष्टि पाउने पर्खाइमा रहेको उहाँले बताउनुभयो । धेरै बिरामीहरु दुवै आँखा नदेखी लाठी वा परिवारजनको सहारामा शिविर स्थान वरपर हिँड्डुल गरिरहेका छन् । साथै तीमध्ये धेरै बिरामी युवा उमेर समूहको भएको डा लिम्बु बताउनुहुन्छ । युवा उमेरका व्यक्तिहरुमा आँखाको गम्भीर समस्या हुनु पनि निकै दुखद् रहेको डा लिम्बुको भनाइ छ ।
आफ्नो आँखाको समस्या पहिचान र उपचारका लागि निकै दुरदराजका नागरिकहरु आएको पाइन्छ । देशको विभिन्न प्रदेश र विभिन्न स्थानमा बसोबास गर्ने ग्रामीण भेगका नागरिकको उल्लेख्य सहभागिता छ । यस्तै नजिकका देशहरु लाइबेरीया र गिनिइबाट समेत आँखा परीक्षणका लागि बिरामीहरु शिविरमा आइपुगेका छन् । शिविर सञ्चालनले अन्धोपनको समस्या स्थायी रुपमा समाधान नहुने भएकोले नि:शुल्क आँखा शिविर संचालन सँगै त्यहाँका स्थानीय चिकित्सकहरुलाई सर्जरीको तालिम र सीप सिकाइने पनि डा लिम्बुले बताउनुभयो ।
नि:शुल्क आँखा शिविर सकिएलगत्तै सियरालियोनको राजधानी फ्रि टाउनको सरकारी आँखा अस्पतालमा ३ दिने नि:शुल्क अकुलोप्लास्टिक सर्जरी सुरु गरिने छ । सो सर्जरीमा आँखामा आशु धेरै बग्ने, आँखाका छाला वरिपरीको समस्या, सानो ठूलो आँखा, आँखा क्यान्सरलगायत समस्याको सर्जरी सँगै जानकारी पनि गराइने छ ।
प्रदेश १ को तेह्रथुममा जन्मनुभएका वरिष्ठ आँखा रोग विशेषज्ञ डा लिम्बुले तिलगंगा आँखा प्रतिष्ठानमा १९ वर्ष काम गरिसक्नुभएको छ । हाल तिलगंगा आँखा प्रतिष्ठानको सेवालाई विट मार्दै डा लिम्बुको नेतृत्वमा इटहरीमा ईटहरी ग्लोबल आई हस्पिटल संचालनमा आएको छ । इमान्दार र सक्षम डाक्टरको परिचय बनाउन सफल लिम्बुलाई आफ्नो देशमा मात्रै नभइ आँखाको समस्या सबैको लागि एउटै भएको हुँदा चिकित्सकको अभाव र सेवाबाट बञ्चित भएका विदेशी नागरिकलाई पनि सेवा प्रदान गर्ने रचि राख्नुहुन्छ । डा. वेनले पपुवा न्यू गिनी, इन्डोनेसिया र इथियोपियामा समेत आँखा उपचार तालिम तथा शिविर सञ्चालन गरिसक्नुभएको छ ।