नुवाकोट । चौतर्फी दबाबपछि सडक सुधार तथा विकास आयोजनाले पासाङ ल्हामु राजमार्गको बालाजु-रानीपौवा खण्डको काम एक हप्ताभित्र पुन: सञ्चालन गर्न निर्माण कम्पनीको ध्यानाकर्षण गराएको छ ।
आयोजनाले आवश्यक स्रोत साधन उपलब्ध गराउने र काम थालनी गर्न निर्माणको जिम्मा पाएको सैलुङ कन्स्ट्रक्सन र भारतीय कम्पनी एआइपिएललाई ध्यानाकर्षण पत्र लेखिएको हो । यसअघि पटक-पटक ध्यानाकर्षण गराउँदा निर्माण कम्पनीले प्रतिबद्धता गरेअनुसार काम हुन नसकेकोले यसपालि पनि काम अघि नबढे सम्झौता रद्द गर्ने चेतावनी दिइएको आयोजनाका कोअर्डिनेटर शेखर पोखरेलले जानकारी दिनुभयो । पत्रमा सैलुङ कम्पनीका आधिकारिक व्यक्ति अनुप अधिकारीको नाम उल्लेख छ । उहाँ विवादास्पद छविका ठेकेदार शारदा अधिकारीका छोरा हुनुहुन्छ ।
सडक सुाधारका लागि दिएको समय १३ अप्रिल २०२२ सम्म रहेको छ । तर, आयोजनाका अनुसार हालसम्म सडक विस्तारको प्रगति ५० प्रतिशतमात्रै रहेको छ । दसैं/तिहार पर्वपछि कुनै काम भएको छैन ।
लामो समयदेखि सडक अलपत्र बनेपछि स्थानीयले यही फागुन १ र २ गते निर्माण कम्पनीविरुद्ध आन्दोलन गरेका थिए । त्यसअघि नुवाकोटका संघीय सांसद हितबहादुर तामाङ, वाग्मती प्रदेश उपसभामुख राधिका तामाङ नेतृत्वको टोलीले सडक सुधारका लागि तत्काल निर्माण थालनी गर्न अर्थमन्त्री जनार्दन शर्मालगायत सरकारी अधिकारीको ध्यानाकर्षण गराउनुभएको थियो ।
बालाजु-रानीपौवा खण्डको निर्माण २ वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भएकोमा ८ वर्ष भइसक्दा निर्माण कार्यको भौतिक प्रगति ५० प्रतिशत पनि हुन नसकेको र निर्माण कम्पनीले बनाउने तदारुकता पनि नदेखाएकोले यथाशीघ्र निर्माण सम्पन्न गर्न पहल लिइदिन पनि अर्थमन्त्री शर्माको ध्यानाकर्षण गराइएको हो । बालाजु-रानीपौवा खण्डको निर्माणका लागि सैलुङ कन्ट्रक्सन कम्पनीले ३४ करोड ९४ करोड ७१ हजार ९५२ (भ्याटसहित) मा निर्माण जिम्मा लिएको छ । लागत स्टमेट भने ५४ करोड २२ लाख ४८ हजार ३८ रुपैयाँ रहेको छ ।
राजमार्ग अवरुद्ध गरेर स्थानीयले आन्दोलन चर्काएपछि ककनी गाउँपालिकाले छलफल गराएर १० दिनभित्र सडक निर्णाण थालनी गर्न समय दिने र त्यसभित्र कार्यान्वयनमा नआए सडक पूर्णरुपमा बन्द गर्ने र काठमाडौंबाट कुनै फोहोरका गाडी प्रवेश नदिने सहमति गराएको छ । सोही सहमतिको आधारमा ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले फागुन २ मा राजमार्ग निर्माणको पहलका लागि भौतिक योजना तथा निर्माण मन्त्रालयलाई पत्र लेख्नुभएको थियो ।
यस्तै रानीपौवा-पीपलटार खण्डको सडक २ वर्षभित्र सम्पन्न गर्नेगरी सन् २०१४ जुलाईमा ठेक्का सम्झौता भएकोमा सन् २०२० को जुनसम्म पनि निर्माण कार्यको भौतिक प्रगति ५० प्रतिशत पनि नपुगेकोले आयोजना पक्षको मागअनुसार नेपाल सरकराले २०७७ असार ९ गते ठेक्का रद्द गरेको थियो । ठेक्का रद्द गर्ने कार्यको विरुद्ध निर्माण कम्पनी पक्षले उच्च अदालत पाटनमा रिट निवेदन दिएको र उक्त रिटउपर अहिलेसम्म सुनुवाइ नगरेकोले उक्त सडकको भविष्य अनिश्चित अवस्थामा पुगेको भन्दै रिट निवेदन छिटो सुनुवाइ गराउने माग पनि उठिरहेको छ ।
दुवै खण्डका लागि ८ वर्षअघि १ अर्ब ३४ करोड ५९ लाख ६३ हजार ४०४ रुपैयाँ १८ पैसा लागत अनुमान गरिएको थियो । तर ठेक्का सम्झौता भने ८५ करोड ३७ लाख ६८ हजार ५४७ रुपैयाँ ५९ पैसामा भएको छ ।