काठमाडौं । तामाङ राष्ट्रिय पुस्तकालयमा फागुन दोश्रो साताबाट ‘ज्ञान र विवेक’को बारेमा नियमित बहश हुने भएको छ । तामाङ समुदाय सम्बन्धी केन्द्रित रहेर बौद्ध तामाङ भवनमा स्थापना गरिएको उक्त पुस्तकालयले पुस्तक र स्रष्ठाको बारेमा बहश प्रारम्भ गर्न लागेको भाषाविद तथा पुस्तकालयका अध्यक्ष अमृत योञ्जन तामाङले जानकारी दिनुभयो ।
फागुन ८ गतेबाट शुरु हुने बहशमा ज्ञान र विवेकको बारेमा डा. लक्ष्मी तामाङले सहजीकरण गर्ने उहाँले बताउनुभयो । त्यस्तै, पुस्तकालय व्यवस्थापन बारे सन्तोष योञ्जनले सहजीकरण गर्ने पनि उहाँले जानकारी दिनुभयो ।
तामाङ समुदाय सम्बन्धी अनुशन्धान गर्नेहरुका लागि सन्दर्भ सामाग्री जम्मा गर्ने तथा तामाङ समुदायको अलिखित इतिहासलाई लिखित दस्तावेजको रुपमा संस्थागत गर्ने उदेश्यले पुस्तकालयको स्थापना गरिएको अध्यक्ष तामाङले बताउनुभयो ।
उहाँले पुस्तकालयको मुख्य उदेश्य तामाङ भाषामा लेखेका, तामाङद्वारा लेखेका र तामाङको बारेमा लेखिएका पुस्तक जम्मा गर्ने रहेको बताउनु भयो । त्यस्तै, तामाङ सम्बन्धी कुनै प्रकारका दस्तावेज, अभिलेख र इस्तेहार खोजी गर्ने र तामाङ अध्ययन, अनुशन्धानलाई टेवा पुग्ने अध्ययन सामाग्री जम्मा गर्ने उहाँले बताउनुभयो ।
गएको मंसिरमा उद्घाटन गरी स्थापना गरिएको पुस्तकालयमा हाल दस हजार पुस्तक जम्मा भएको अध्यक्ष तामाङले जानकारी दिनुभयो । तामाङ सम्बन्धि विभिन्न संस्थाहरुमा आबद्ध व्यक्तिहरुको सहकार्यमा स्थापना गरिएको उक्त पुस्तकालय छोटो अवधिमा नै सबैको चासो र आकर्षणको केन्द्र बनेको उहाँको भनाई रहेको छ ।
विशेषतः अनुशन्धान केन्द्रको रुपमा पुस्तकालय रहेको हुँदा अनुशन्धान गर्नेहरुले त्यही बसेर अध्ययन गर्ने र बाहिर लान चाहनेले निश्चित शुल्क तिरेर लैजान सकिने अध्यक्ष तामाङले बताउनुभयो । पुस्ताकालय व्यवस्थापनका लागि नीजि र सरकारी दुवै क्षेत्रबाट सहयोग प्राप्त भैरहेको उहाँले बताउनु भएको छ ।
पुस्ताकालय संचालन समितिमा तामाङ न्हाङखोरका अध्यक्ष अमृत योञ्जन तामाङ, बौद्ध तामाङ गुठीका अध्यक्ष खड्गजीत लामा, तामाङ डाजाङका अध्यक्ष फुलकुमार बोम्जन, तामसालिङ नलेज सेन्टर दावा दोर्जे लामा, एससीआरसीका पेमा लामा र सैलुङ अनलाईनका इन्द्र तामाङ रहनुभएका छन् ।