प्रल्हाद पोखरेल जिल्ला अस्पताल सिन्धुलीका निर्वतमान अध्यक्ष तथा सफल राजनीतिकर्मी हुनुहुन्छ । लामो समय राजनीतिक क्षेत्रको अनुभव संगालेका पोखरेल नेकपा (एमाले)को सिफारिसमा तीन वर्षअघि जिल्ला अस्पताल सिन्धुलीको अध्यक्ष बन्नुभएको थियो । आफ्नो कार्यकालमा जिल्ला अस्पतालमा उलटपुलट नै नभए पनि प्रयास गरेपछि काम गर्न सकिने रहेछ भन्ने प्रमाण उहाँले पेस गर्नुभएको छ । निवर्तमान अध्यक्ष पोखरेल भन्नुहुन्छ, 'अस्पताल प्रशासन लागेपछि सुविधासम्पन्न अस्पताल भवन निर्माण गर्न सकिने रैछ भन्ने ३ वर्षको अवधिमा महसुस भयो ।'
पोखरेललाई २०७५ मंसिर २८ गते वाग्मती प्रदेश सरकारले जिल्ला अस्पतालको अध्यक्षको जिम्मेवारी प्रदान गरिएको थियो । त्यो समयमा जिल्ला अस्पतालमा गाइनोको एक विशेषज्ञ डाक्टर, हार्डजोर्नीको एक जना र दुई जना मेडिकल अधिकृत मात्रै थिए । ल्याबमा १, नर्सिङ अधिकृत १ गरी समिति र सरकारी कोटाको गर्दा ४२ जना कर्मचारीहरु थिए । स्त्री तथा गाइनो रोग विशेषज्ञ भए पनि एनेस्थेसिया नभएकोले सेवाका लागि बिरामी अन्यत्र जानुपर्ने बाध्यता थियो ।
सिन्धुली वाग्मती प्रदेशकै विकासका दृष्टिले पछि परेको जिल्ला भएकोले स्वास्थ्यलाई पनि प्राथमिकतामा राखेर अस्पतालको जनशक्ति व्यवस्थापनमा काम गरेको उहाँले सुनाउनुभयो । ‘व्यवस्थापनमा थोरै मेहनत गर्दा अथवा हप्ताको दुई दिन अप्रेसन संचालन गर्दा धेरै नागरिकले आफ्नै जिल्लामा उपचार पाउन थाल्नुभयो,’उहाँ भन्नुहुन्छ, 'त्यसपछि मलगायत अस्पताल प्रशासन जनशक्ति व्यवस्थापनतिर लाग्यौं । साथै स्थानीय सरकार र प्रदेशका सांसदहरुसँग पनि सहकार्य गरेपछि अस्पताल विकासमा परिवर्तन आयो ।'
उहाँका अनुसार, संघीय सांसद हरिबोल गजुरेल, गणेश पहाडी, प्रदेश सांसद राजन दाहाल, प्रदीप कटवाल, विनोद खड्काको अस्पताल विकासमा महत्वपूर्ण योगदान रहेको छ । हाडको शल्यक्रिया, स्त्री तथा गाईनोको शल्यक्रिया, हर्नीया, हाईड्रोसिल, आन्द्राका विभिन्न शल्यक्रियालगायतका सेवा सुरु भइसकेका छन् । गाईनो सेवा सुरु भएपछि छिमेकी जिल्लाका नागरिकहरु पनि सिन्धुली अस्पतालमा सेवा लिन आउन थालेको उहाँ बताउनुहुन्छ ।
भवन निर्माण अन्तिम चरणमा
जिल्ला अस्पतालमा भवनको ठूलो समस्या थियो । आफू अध्यक्ष हुँदा नै ठूलो मेहनतबाट अस्पतालले भवन पाएको दाबी गर्नुहुन्छ पोखरेल । निर्माणको क्रममा रहेको र अबको ६ देखि ८ महिनामा सिन्धुली अस्पतालले नयाँ भवन पाउने छ । भवन निर्माणको लागि वाग्मती प्रदेश सरकारको तर्फबाट ९७ लाख रुपैयाँ बजेट व्यवस्थापन भएको थियो । उहाँ भन्नुहुन्छ, ‘अस्पताल यहाँ सम्म आउनुमा मैले गरेको भन्दिनँ । मैले पुलको काम गरेको हुँ, सिन्धुलीवासी सबैको सहयोगमा काम सम्भव भएको हो ।’
रिफरल सेन्टर आवश्यक
काठमाडौं, भरतपुरलगायत ठूला सहरका अस्पतालले बिरामीको चाप थेग्न नसक्ने हुँदा सिन्धुली सबैको लागि सेन्टर अनि राजमार्ग पनि भएकोले विशेषज्ञ सेवा संचालन गर्न आवश्यक रहेको निवर्तमान अध्यक्ष पोखरेलको ठम्याई छ । नि:शुल्क औषधिको सहज व्यवस्थापन गर्ने, स्वास्थ्य बीमा गरेका नागरिकले सहज र सुलभ तरिकाले सेवा पाउन सहजीकरण गर्न जरुरी देख्नुहुन्छ पोखरेल । यस्तै कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई सरकारले बेलैमा भत्ता नदिएकोमा भने पोखरेलले गुनासो गर्नुभयव । अघिल्लो वर्ष चैत, वैशाखको समयमा तातो घाममा खाईनखाई कोभिड संक्रमितको उपचार गरेका सिन्धुली कोभिड अस्पतालमा सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीको जोखिम भत्ताको व्यवस्थापन गरी सम्मान गर्न जरुरी भएको उहाँको भनाइ छ ।
नि:शुल्क उपचार
अहिले सिन्धुली अस्पतालको सामाजिक इकाईबाट गरिब र विपन्न नागरिकको नि:शुल्क उपचार भइरहेको छ । निर्वतमान अध्यक्ष पोखरेलकै पहलमा ‘कालिमाई स्वास्थ्य उपचार कोष’ सिन्धुली अस्पतालले खडा गरेको हो । सो कोषमा ७५ हजार रुपैयाँ जम्मा भइसकेको छ । कोषमा विभिन्न व्यक्तिहरुले सहयोग गर्दै आइरहेका छन् ।
दरबन्दीअनुसार कर्मचारी नहुँदा अप्ठेरो
सिन्धुली अस्पतालमा पनि अन्य जिल्लाको अस्पतालमा जस्तै कर्मचारी दरबन्दी सम्बन्धी ठूलो समस्या छ । नेपाल सरकारको दरबन्दीमा ८ जना विशेषज्ञ सर्जन तोकिएको छ । तर अहिलेसम्म एक जना पनि सो कोटामा चिकित्सक नभएको निर्वतमान अध्यक्ष पोखरेल बताउनुहुन्छ । अस्पतालको सरकारी कोटा ५९ भए पनि २५ जनामात्रै कर्मचारी रहेका छन् । झन् विशेषज्ञ चिकित्सक नहुँदा अस्पतालबाट उपलब्ध हुने सेवाको लागि पनि नागरिक जिल्लाबाहिर धाइरहेका छन् । जसकारण सामान्य उपचारको लागि पनि नागरिक महँगो शुल्क तिर्न बाध्यता छन् ।
करारको कर्मचारीबाट हाल अस्पतालमा सेवा प्रवाह भइरहेको छ । जिल्लाका विभिन्न संघ संस्था र व्यक्तिको सहयोगमा ३ करोड रुपैयाँभन्दा धेरैको उपचार सामग्री र अस्पताललाई आवश्यक गर्ने उपकरण उपलब्ध भएको छ । स्थानीय तहको राम्रो सहयोग हुने हो भने विशेषज्ञ सेवा सहितको अस्पताल संचालनमा सहज हुने उहाँको भनाइ छ । अस्पतालजन्य फोहोर व्यवस्थापनको लागि हिक्यापको ९९ सय लाख यूरो बराबरको इक्यूपमेन्टहरु प्रदान गरिन लागेको पोखरेलले जनाउनुभयो । इन्डोस्कोपी, सिटी स्क्यानसँगै ल्याप्रोसस्कोपीको व्यवस्थापनको लागि प्रदेश सरकारसँग कुरा भएको छ ।
'म रहनु/नरहनुको कुनै सरोकार छैन । जिल्लावासीले स्वास्थ्य सेवा त पाउनु पर्छ । सिन्धुलीवासी आफैंले पनि विशेषज्ञ अस्पतालमा आएर केही समय लाईनमा बसेर सेवा लिन झन्झट मान्नु भएन,' उहाँले सुझाउँदै भन्नुभयो, 'सिधै निजीमा जाने ५ सय रुपैयाँको टिकट लिने अनि एन्टीबायोटिक्क खाने चलन हुँदा त्यही औषधिको रियाक्सनको कारणले गर्दा फेरि समस्या बोकेर जिल्ला अस्पतालमा आउने र अन्त रिफर गर्नुपर्ने घटनाहरु पनि धेरै छन् ।'
विशेषज्ञको सिफारिसबिना एन्टिबायोटिक्स सेवनले कालान्तरमा स्वास्थ्यमा समस्या आउने हुँदा सही उपचारको लागि विशेषज्ञ सेवाको लागि सरकारी अस्पतालमै आउनु पर्छ । डाक्टरको प्रेस्क्रीप्सनबिना औषधि सामान किने जसरी किन्ने र खाने चलन गलत भएको पनि पोखरेलको भनाइ छ । आफू अस्पतालको अध्यक्ष भए पछि स्वास्थ्यका धेरै कुरा सिक्ने मौका पाएको पनि उहाँले अनुभव सुनाउनुभयो ।
(कुराकानीमा आधारित)