नुवाकोट । सैलुङ कन्स्ट्रक्सन प्रालिको लापर्बाहीले अलपत्र रहेको पासाङ ल्हामु राजमार्गको बालाजु-ककनी खण्ड निर्माणले अझै निरन्तरता पाउन सकेको छैन ।
सडक सुधार तथा विकास आयोजनाले एक हप्ताभित्र पुनः काम सुरु गर्न ध्यानाकर्षण गराए पनि विवादास्पद ठेकेदार शारदा अधिकारीको स्वामित्वमा रहेको सैलुङ कन्स्ट्रक्सनले पछिल्लो अल्टिमेटम पालना गर्न अटेरीपन देखाएको हो ।
निर्माण थाल्नुको साटो निर्माण कम्पनीका व्यक्तिहरु सम्झौता लम्ब्याउन शक्तिकेन्द्र धाउन थालेको स्रोतले जनाएको छ ।
'भित्रिरुपमा राजनीतिक, प्रसाशनिक र कानुनी प्रक्रिया मिलाएर आफू सुरक्षित हुने बाटो अपनाउन खोजिरहेका छन्,' विश्वस्त सुत्रले भन्यो, 'आइतबार कम्पनीकै समन्वयमा केही सीमित व्यक्तिहरुको बीचमा सुरक्षा व्यवस्थासहित बैठक बस्यो । यस सडकबाट सबैभन्दा बढी प्रभावित नुवाकोट ककनी गाउँपालिकाका स्थानीय सरकारका प्रतिनिधि थिएनन् ।'
काठमाडौं र नुवाकोट सीमामा रहेको ओशो तपोबन नजिकको एक होलटमा बसेको बैठकमा वकिलसमेत लगेर केही जनप्रतिनिधि र स्थानीयसँग लिखित सम्झौता गर्न खोजिएको एक सहभागीले जानकारी दिए । बैठकमा काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्का, तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोरा र नुवाकोटका प्रभावितको तर्फबाट भवनाथ गजुरेललगायत सहभागी थिए । शारदाका भतिज कम्पनी प्रतिनिधि अनुप अधिकारी र सडक आयोजनाका प्रतिनिधि बैठकमा थिए ।
उक्त स्रोतले भन्यो, 'उनीहरुले काम गर्नका लागि केही अवधि राखेर लिखित सम्झौता गर्न खोजेका थिए तर पट-पटक धोका दिएको भन्दै स्थानीय सरोकारवालाले नमानेपछि कुनै सम्झौता हुन पाएन ।'
चौतर्फी दबाबपछि सडक आयोजनाले गत आइतबार हप्ता दिनभित्र काम थाल्न सैलुङ र भारतीय कम्पनीलाई सम्बोधन गर्दै पत्र लेखेको थियो । यो पालि पनि समयसीमाभित्र काम थालनी नभए सम्झौता रद्द गर्ने चेतावनी पत्रमार्फत दिइएको थियो । काम नथालिएको विषयमा सम्पर्क गर्दा कम्पनीका प्रतिनिधि अनुप अधिकारीको फोन उठेन ।
फागुन १ र २ गते राजमार्ग अवरुद्ध गरेर स्थानीयले आन्दोलन चर्काएपछि ककनी गाउँपालिकाले छलफल गराएर १० दिनभित्र सडक निर्णाण थालनी गर्न समय दिने र त्यसभित्र कार्यान्वयनमा नआए सडक पूर्णरुपमा बन्द गर्ने र काठमाडौंबाट कुनै फोहोरका गाडी प्रवेश नदिने सहमति गराएको छ । सोही सहमतिको आधारमा ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले फागुन २ मा राजमार्ग निर्माणको पहलका लागि भौतिक योजना तथा निर्माण मन्त्रालयलाई पत्र लेख्नुभएको थियो । उक्त पत्र अनुसार यही फागुन १३ गते समय सकिँदैछ । तर, आयोजनाले दिएको समय गुजारेको सैलुङले पालिकाको समन्वयमा स्थानीयबीचको सहमति पनि तोड्ने छनक देखाइरहेको छ ।
सडक आयोजनाले काम सुरु गर्न दिएको समयसीमा आइतबार सकिएको छ । फेरि थप समय लिन र पुनः स्थानीयको आन्दोलन उठ्न नदिने मनसायले सैलुङ भित्रिरुपमा राजनीतिक र कानुनी लबिइङमा लागेको बुझिएको छ ।
आइतबारको बैठकबारे ककनी गाउँपालिकाका उपाध्यक्ष सीता लामा खतिवडाले आफूहरुलाई कुनै जानकारी नभएको बताउनुभयो । उहाँले चैतमा तोकिएको म्याद सकिने र उक्त कम्पनीबाट काम नहुने भएकोले सरकारले तत्काल विकल्प खोज्नु पर्ने बताउनुभयो ।