काठमाडौं । वरिष्ठ कलाकार जयनन्द लामाको निधन भएको छ । ६६ वर्षीय लामाको बुधबार बिहान २ बजेतिर भक्तपुरको लोकन्थलीस्थित आफ्नै निवासमा निधन भएको नेपाल तामाङ कलाकार संघका सचिव सुवास तामाङले जानकारी दिनुभयो ।
सचिव तामाङका अनुसार बा३च ७७४१ नम्बरको कारबाट ओर्लने क्रममा खुट्टा अल्झिएर टाउको भुइँमा बजारिन पुग्दा लामाको निधन भएको देखिएको छ । लामाको टाउकोमा चोट देखिएको र रगत बगेको थियो । तर, शव पोस्टमार्टमका लागि अहिले केएमसी अस्पताल लगिएको उनले जानकारी दिए । गायक लामाको आजै वा भोलि अन्त्येष्टि गर्ने एकीन भइसकेको छैन ।
सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिनुभएका लामाका श्रीमति, दुई छोरा छन् । उहाँ लोकगायन, संकलन, हास्यव्यंग्य विधामा अभिनय लगायतमा उहाँ पोख्त हुनुहुन्थ्यो । उहाँले एक सयभन्दा बढी चलचित्रमा अभिनय गरिसक्नुभएको छ । लामाले २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय गर्नुभएको थियो ।
उहाँ लोकसंगीतको क्षेत्रमा अध्ययन, अनुसन्धान गर्नुहुन्थ्यो । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा आबद्ध भएर उहाँले लोकगीतको अनुसन्धान र संरक्षणमा लामो समय काम गर्नुभयो । उहाँले स्वर दिएको कलकत्ते काइँयो केश मेरो बांगो, टेबलमा ऐना छ बोलको गीत चर्चित छ । यस्तै चट्ट परेको चुल्ठी, हेर्दैमा राम्रो, चुइँ चुइँ चुइँकने जुत्ता, नाच्यो झिल्के नाच्यो, मूलाको चाना, सलल पानीलगायतका गीत चर्चित छन् ।