लन्डन साउन २४ । गोर्खा सत्याग्रह संघर्ष समिति यूकेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै तमु समाज यूकेले व्यवस्थापनका लागि ८ सय ५२ पाउन्ड सहयोग गरेको छ ।
शनिबार संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, महासचिव धरम बल गुरुङ र संयोजक कमल गुरुङ आमरण अनशनस्थल लन्डनको प्रधानमन्त्री कार्यालय अघि पुगी सहयोग हस्तान्तरण गर्नुभएको हो । रिले अनशन थालेको १७ दिनसम्म बेलायत सरकारले माग सुनुवाइका लागि पहल नगरेको भन्दै संघर्ष समितिले आन्दोलन कडा पार्दै लगेको छ । शनिबारदेखि भूपू सैनिक एवं अभियन्ता ज्ञानराज राई, पुष्पा राना घले र धनबहादुर गुरुङले भोक हड्ताल थाल्नु भएको छ ।
सत्याग्रहका प्रमुख संयोजक कृष्णबहादुर राईले सरकारले बेवास्ता गरेको भन्दै आमरण अनशन सुरु गरेको बताउनुभयो । आफूहरुको आन्दोलनमा सबै पक्षको ऐक्यबद्धता समर्थन र हौसला दिएको उहाँको भनाइ छ । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका अभियान निर्देशक ज्ञानराज राईले बेलायत सरकारबाट अहिलेसम्म केही प्रतिक्रिया नआएको जनाउँदै यसपटक माग सम्बोधन नभएसम्म आन्दोलन गरिरहने बताउनुभयो ।
लामो समयदेखि आफ्ना मुद्दाहरुको विषयमा व्रिटिस सरकारलाई अवगत गराइरहेपनि सरकारले आश्वासन मात्र दिएको तर कार्यान्वयन नगरेको भन्दै भूपू गोर्खाहरु पटक पटक आन्दोलनमा उत्रिरहेका छन् । उनीहरुले ब्रिटिस सरकारसँग कूटनीतिक माध्यमद्वारा सम्पर्क गरी वार्ताको मिति तोक्न नेपाल सरकारसँग पनि माग गरेका छन् ।


तमु समाजको सहयोगप्रति गोर्खा सत्याग्रह संघर्ष समिति यूके महासचिव शैन्द्र थापाको विज्ञप्ति
तमु समाज यूकेका सस्थापक अध्यक्ष दाजु चित्रबहादुर गुरुङज्यू, महासचिव धरम बल गुरुङ, संयोजक कमल गुरुङ उपस्थित हुनु भएको साथै वर्तमान अध्यक्ष शिवकुमार गुरुङलगायत सम्पूर्ण कार्यसमितिका पदाधिकारीज्यूहरु, तमु आमा समाजका सम्पूर्ण कार्यसमितिलगायत सम्पूर्ण तमु समाज यूकेमा आबद्ध रहनुहुने विशिष्ट व्यक्तित्वज्यूहरुले हाम्रो अभियानको काम र लगनशीलतादेखि गोर्खा सत्याग्रहको एकाउन्टमा £८५२ सहयोग स्वरुप हस्तान्तरण गरिदिनु भएकोमा यहाँहरुको कार्यसमितिलाई गोर्खा सत्याग्रह संघर्ष समितीको तर्फबाट साथै मेरो व्यक्तिगत तर्फबाट पनि धन्यवाद टक्र्याउँदै आभार व्यक्त गर्दछु !🙏🙏भविष्यमा पनि यहाहरुको माया र सहयोग निरन्तर पाइनै रहने छौं भन्ने पूर्ण आशा र विश्वासमा गर्दछु🙏🙏🙏धन्यवाद ।
भवदीय
शैन्द्र थापा
महासचिव
गोर्खा सत्याग्रह संघर्ष समिती यूके