काठमाडौं । मछिन्द्र फुटबल क्लबले अपराजित रहदै कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ ।
शनिबार लिगको अन्तिम खेलमा एपीएफ क्लबलाई २–१ गोल अन्तरले हराउँदै मछिन्द्र अपराजित रहदै च्याम्पियन बनेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन अविशेक गुरुङ र रेजिन सुब्बाले एक— एक गोल गर्नुभयो । एपीएफका प्रदिप लामाले एक गोल फर्काउनु भएको थियो ।
दुबै टोली १० खेलाडीमा समेटिएको खेलमा सुरुआती अग्रता मछिन्द्रले बनाएको थियो ।
खेलको ४२ औं मिनेटमा अविशेकले गोल गर्दै मछिन्द्रलाई १–० गोलको अग्रता दिलाउन सफल हुनुभयो । आन्द्रेस नियाको पासमा पेनाल्टी बक्सको ठिक भित्रबाट अविशेकले गोल गर्नुभयो ।
तर, खेलको ६९ औं मिनेटमा प्रदिप लामाले गोल गर्दै एपीएफलाई १–१ गोलको बराबरीमा ल्याउँनुभयो । मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठ अगाढी बढेको अवस्थामा गोल गर्नुभयो ।
खेलको दोस्रो हाफमा मैदान प्रवेश गर्नुभएका रेजिनले ८१ औं मिनेटमा गोल गर्दै मछिन्द्रलाई २–१ को जित दिलाउन सफल हुनुभयो ।
खेलको ८६ औं मिनेटमा मछिन्द्रका सोनाम भुटिया र एपीएफका आवाश लामिछानेले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि दुबै टोली १० खेलाडीमा समेटिएको थियो ।
यस जितसँगै मछिन्द्रले १३ खेलमा ३५ अंक जोड्यो ।
मछिन्द्रले लिगमा १० जित र २ बराबरी खेल्यो । मछिन्द्रले विपक्षीको पोस्टमा १९ गोल गर्दा मात्र २ गोल ब्यहोरेको थियो ।
एपीएफले १३ खेलमा १५ अंक जोड्यो । एपीएफले आठौं स्थानमा रहेर लिगको अन्त्य गरेको छ ।
खेल चार महिना देखि संचालन भइरहेको थियो ।