काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले भूमिसुधार लागू गरेर जनताको समस्या समाधान गर्नुपर्ने बताउनु भएको छ । राष्ट्रियसभाको आइतबारको बैठकमा धारणा राख्दै गौतमले भूमिलाई टुक्रा पारेर बाँड्ने अवस्थामा जान नहुने र अव्यवस्थित बस्ती भूमि अतिक्रमण गरेका किसान, सुकुम्बासी, भूमिहीनको समस्या समाधान गर्ने विकल्पमा जानुपर्ने बताउनुभयो ।
उहाँ समस्याको समाधान गर्ने सन्दर्भमा सामाजिक न्याय र सिद्धान्तलाई अवलम्बन गर्नु पनि सरकारलाई आग्रह गर्नुभएको छ । ‘पहिला भूमि सुधार लागू गर्नुपर्ने त्यसपछि कति भूमि प्राप्त हुन्छ त्यसपछि भूमिहीन सुकुम्बासी नागरिकलाई पनि जमिन बाँड्न सकिने छ’ उहाँले भन्नुभयो ।
भूमिहीन सुकुम्बासीको समस्या के हो जमिनले मात्रै समस्या समाधान गर्छ भन्ने प्रश्न गर्दै नेता गौतमले जबसम्म नेपालको अथवा कुनै पनि देशको जमिनमाथि व्यक्तिगत स्वामित्व कायम हुन्छ सुकुम्बासी, भूमिहीन बन्ने प्रक्रिया त्यहीबाट सुरु हुन्छ भन्नुभयो ।
नेपालमा अहिले ३६ लाख हेक्टर कृषि भूमि जमिन भएको बताउँदै उपाध्यक्ष गौतमले गत वर्षसम्म ४ करोड टुक्रा भएको र ४ करोड टुक्रामा कसरी कृषि उत्पादन गरी देशलाई आत्मनिर्भर बनाउने भन्ने प्रश्न गर्नुभयो । अत्याधुनिक प्रविधि प्रयोग गरेर भूमिलाई उत्पादनमा नलगेसम्म नेपाल कृषि उत्पादनमा आत्मनिर्भर पनि हुन नसक्ने र निर्यातको पनि सम्भावना नभएको उहाँको भनाइ छ ।
‘अत्याधुनिक तरिका प्रयोग गरेर कृषि व्यवसाय गर्ने हो भने टुक्रा–टुक्रा भएको जमिनलाई एक ठाउँमा पार्न पनि सम्भव नभएको भन्दै जमिन राज्यले चलनचल्तीको भाउमा किन्ने र लिजमा जग्गा दिनुपर्ने बताउनुभयो । केही समयअघि केपी शर्मा ओलीको नेतृत्वको सरकारले भूमिहीन सुकुम्बासी आयोग बनाए पनि समय अभावको कारण राम्रोसँग काम नसकेको र अहिलेको सरकारले फेरि पनि आयोग बनाउने घोषणा गरेको भन्दै उहाँले नयाँ बन्ने आयोगसँगै नेपालमा १० देखि ११ पटक आयोग बनेको बताउनु भयो ।
भूमि आयोग खारेजको विषयमा सर्वोच्च अदालतमा मुद्दा चलिरहेको बताउँदै १६ लाख भूमिहीन सुकुम्बासीले आवेदन दिएको र आयोगले प्रतिपरिवार ५ कठ्ठा र पहाडमा पनि त्यही बराबर जग्गा दिने कुरा आफूले सुनेको बताउँदै यस्तो हो भने जग्गा दिन सम्भवन नहुने गौतमले बताउनु भयो ।