काठमाडौं । तामाङहरुको साझा संस्था नेपाल तामाङ घेदुङको नवौं संघीय महाधिवेशनको मिति तय गरिएको छ ।
घेदुङको कार्यालय चुच्चे पार्टीमा सोमबार बसेको सचिवालय बैठकले यही फागुन २९, ३० र चैत १ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको उपाध्यक्ष कुमार घिसिङले जानकारी दिनुभयो । महाधिवेशन धुम्बाराहीस्थित एसआर बैंक्वेटमा हुनेछ ।
महाधिवेशनबाट छलफलपछि पहिले विधान प्रतिवेदन पारित गर्ने र नयाँ नेतृत्व चयन हुनेछ । सके सहमतिमा र सर्वसम्मत नभए निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन गरिने उपाध्यक्ष घिसिङले बताउनुभयो । तर, विधान संशोधन गरिने भएकोले संघीय कार्यसमिति, प्रदेश समिति, पदाधिकारीलगायत सांगठनिक संरचना कस्तो हुने भन्ने टुंगिसकेको छैन ।
विधान संशोधन, संगाठिन र आर्थिक प्रतिवेदनलाई सम्बन्धित समितिहरुले सातै प्रदेशबाट संकलित सुझाव समेटेर अन्तिम रुप दिइँदै गरेको उपाध्यक्ष घिसिङले बताउनुभयो । ती प्रतिवेदनहरु सम्बन्धित समितिले पारित गर्ने, त्यसपछि सचिवालयबाट पारित हुने र संघीय कार्यसमितिले अनुमोदन गरेर महाधिवेशनमा लैजाने प्रक्रिया रहेको छ ।
प्रतिवेदनहरु टुंगो लगाउन र महाधिवेशन तयारीका विषयमा केही दिनमै पुन: बैठक बस्ने पनि उहाँले जानकारी दिनुभयो । विधान, आर्थिक र सांगठनिक प्रतिवेदनका लागि पुस १७ देखि २४ गतेसम्म सातै प्रदेश पुगेर घेदुङका अध्यक्ष मोहन गोले तामाङ, उपाध्यक्ष कुमार घिसिङ, महासचिव महितकुमार तामाङलगायत नेतृत्वले सुझाव संकलन गरेको थियो ।
घेदुङको महाधिवेशन कोरोना भाइरसको महामारीलगायत कारणले पटक-पटक सर्दै आएको छ ।