काठमाडौं । सरकारले ल्होछारसहित थप छ चाडलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले थप छ चाडलाई सार्वजनिक बिदा दिने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
मन्त्री श्रेष्ठका अनुसार, आगामी वर्षदेखि उभौली पर्व–चण्डी पूर्णिमा, उधौली पर्व, योमरी पुन्ही ज्यापू विस (धान्य पूर्णिमा), क्रिसमस डे, तमु ल्होसार, सोनाम ल्होसार र ग्याल्पो ल्होसारका दिन सार्वजनिक बिदा दिने भएको छ ।
फागुन ३ गते मन्त्रिपरिषद् प्रशासन समितिका संयोजक मन्त्री श्रेष्ठको संयोजकत्वमा बसेको बैठकको सिफारिसअनुसार मन्त्रिपरिषद्ले छ चाडलाई सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
मन्त्री श्रेष्ठले भन्नुभयो, ‘उभौली, उधौली, क्रिसमस, तमु ल्होसार, सोनाम ल्होसार, ग्याल्पो ल्होसार आदि चाडपर्वका दिन बिदाका लागि डेलिगेसन जानुपर्ने दिन अन्त्य भएको छ । यी महत्त्वपूर्ण चाडपर्वहरूमा सम्बन्धित समुदायलाई मात्र नभई दसैं, तिहारमा जस्तै सबैलाई सार्वजनिक बिदा हुने छ ।’