काठमाडौं । नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ को भत्ता चोरी भएको घटनाले गर्दा लामो समयदेखि त्यहाँका जेष्ठ नागरिकसहित लाभग्राहीहरुले भत्ता पाउन सकिरहेका छैनन् । चोरीको घटना छानबिन प्रक्रियामा रहेको छ तर हालसम्म कुनै पत्ता लागिसकेको अवस्था छैन । स्थानीय सरकारदेखि अन्य कुनै निकायबाट वैकल्पिक व्यवस्था हुन नसक्दा वडावासीहरु भत्ताको आशामा कति दिन कुर्नु पर्ने हो, ठेगान छैन । यही विषयमा आइतबार अर्थमन्त्री जनार्दन शर्मासँग नुवाकोटका जनप्रतिनिधिको टोलीले छलफल गरी ध्यानाकर्षण गराएको छ ।
प्रतिनिधिसभा सांसद तथा माओवादी केन्द्रका नेता हितबहादुर तामाङको नेतृत्वमा वाग्मती प्रदेशसभाका उपसभामुख राधिका तामाङ, पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ र ककनी गाउँपालिका अध्यक्ष मानबहादुर तामाङसहितको टोलीले अर्थमन्त्री शर्मालाई भेटी उक्त विषयमा ध्यानाकर्षण गराएको हो । त्यस्तै टोलीले पञ्चकन्या गाउँपालिकाको कार्यालय पायक पर्ने ठाउँमा जानु पर्ने बैंक सम्बन्धित ठाउँमा नगएर दैनिक कारोबार लगायत समस्या परेको विषयमा पनि अर्थमन्त्री शर्मासमक्ष राखेको थियो ।
गाउँमा बैंक नभएकै कारण अन्यत्रबाट रकम झिकेर ल्याउने क्रममा रकम चोरी भएको हुँदा आगामी दिनमा घटना दोहोरिन नदिन र गाउँका वृद्धवृद्धाहरुले बैंकबाटै भत्ता लिन सक्ने वातावरण बनाउनका लागि सम्बन्धित बैंकलाई गाउँपालिकामा नै स्थापना गराउन माग गरिएको उपसभामुख राधिका तामाङले बताउनुभयो । उहाँकाका अनुसार मन्त्री शर्माले त्यति नै बेला गर्भनरलाई फोन गरी सम्बन्धित बैंकलाई तत्काल गाउँपालिकाले तोकेको पायक पर्ने ठाउँमा स्थापनाका लागि निर्देशन दिनुभएको थियो । साथै मन्त्री शर्माले चोरीको घटनामा प्रहरी किन चुक्यो भनेर गृहमन्त्रीसँग कुरा भएको र छिट्टै पत्ता लगाई कारबाही गर्न आग्रह गरेको उहाँलाई उदृत गर्दै उपसभामुख तामाङले जानकारी दिनुभयो ।
छलफलमा सांसद हितबहादुर तामाङले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले अगाडि सारेको तामसालिङ रिङरोडलाई ध्यान दिन र छिटो सम्पन्न गर्न ध्यानाकर्षण गराउनुभएको थियो । त्यसैगरी बालाजु-ककनी-त्रिशुली सडकको अवस्थाबारे जानकारी गराई छिटो सम्पन्न गर्नका लागि माग गर्नुका साथै काठमाडौं बालाजुबाट रानीपौवा-गंगटे हुँदै त्रिशुली पुग्ने सबैभन्दा छोटो दुरीको सडक मार्ग खोल्नका लागि पनि माग गरेको उपसभामुख तामाङले बताउनुभयो ।
छलफलमा द्वन्द्वका क्रममा शिक्षण पेसा छाड्न बाध्य भएका शिक्षकहरुको पुनर्बहालीको विषयमा पनि कुरा भएको उहाँले जानकारी दिनुभयो ।
पञ्चकन्या गाउँपालिका–२ को वडा कार्यालयबाट गत चैत २४ मा ५३ लाख नगद चोरी भएको थियो । चोरी प्रकरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छानबिन गरिरहेको छ भने पालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनी सोही घटनाका कारण मन्त्रालय तानिनुभएको छ ।