नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा रहेको जोखिमपूर्ण ढुंगा व्यवस्थापनलगायत विषयमा गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्षण गराइएको छ ।
जिल्ला समन्वय समितिका संयोजक सन्तमान तामाङ, दुप्चेश्वर गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङ, पञ्चकन्या गाउँपालिका उपाध्यक्ष सीता खड्कालगायतको प्रतिनिधिमण्डले आइतबार गृहमन्त्री खाँणलाई भेटेर घ्याङ्फेदीको ढुंगा व्यवस्थापन गरी स्थानीयलाई सुरक्षित ठाउँमा सार्ने, पञ्चकन्या २ मा भत्ताको ५३ लाख चोरी घटनाका विषयमा छलफल गर्नुभएको हो ।
गृहमन्त्रीसँगको भेटबारे जिल्ला समन्वय समिति प्रमुख तामाङले भन्नुभयो, 'घ्याङ्फेदीको ढुंगा फुटाउने र त्यहाँको जनतालाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने विषयको कुरो थियो । पञ्चकन्याको ५३ लाख चोरीको चोर पत्ता लगाउन नसकेको बारेमा पनि कुरा भयो । त्यसपछि जिल्ला विपद् व्यवस्थापनको नेतृत्वको विषयमा कुरा राखेका छौं ।'
दुप्चेश्वर गाउँपालिका अध्यक्ष तामाङले जोखिमपूर्ण ढुंगा व्यवस्थापनको बजेट उपलब्ध गराउन गृहमन्त्री खाँण सकात्मक देखिएको बताउनुभयो । अध्यक्ष तामाङले ग्लोबल मिडियासँग भन्नुभयो- 'गृहमन्त्री पोजिटिभ हुनुहुन्छ । छलफलकै क्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिइओसँग कुरा गर्नुभयो । आज (सोमबार) १० बजे सिईओसँग भेट्ने कुरा छ ।'
दुप्चेश्वर गाउँपालिका १ नेगीखोला उत्तरतर्फ करिब १ किलोमिटरमाथि टापुमा रहेको पाल्छोङ ऊ (ओडार) नाम गरेको १० औं लाख टनबराबरको ढुंगा व्यवस्थापनका लागि ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । गाउँपालिकाको स्रोतबाट अपुग रहेकोले केन्द्रीय सरकारलाई गुहार्नु परिरहेको अध्यक्ष तामाङको भनाइ छ ।
जनप्रतिनिधि र सरोकारवालाको स्थलगत अध्ययन र निर्देशनपछि जिल्ला दैवीप्रकोप उद्धार समितिले अतिजोखिम ठहर गरी गत वर्ष नै गृह मन्त्रालयमा पत्राचार गरेर पटक पटक ताकेता गरेको भनिए पनि ढुंगा व्यवस्थापन कार्य अघि बढ्न सकेको छैन । जसका कारण स्थानीय त्रासदीपूर्ण जीवन बाँचिरहेका छन् ।
गृहमन्त्री खाँणले पञ्चकन्याको भत्ता चोरी प्रकरणका विषयमा पनि आफूले नुवाकोटका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँग छलफल गर्ने बताएका अध्यक्ष तामाङले बताउनुभयो । 'भत्ता चोरी विषयमा अनुसन्धान भइरहेको छ । म एकचोटी सीडीओ र एपीसँग कुरा गर्छु भन्नुभएको छ', अध्यक्ष तामाङले सुनाउनुभयो ।
पञ्चकन्या गाउँपालिका–२ को वडा कार्यालयबाट गत चैत २४ मा ५३ लाख नगद चोरी भएको थियो । चोरी प्रकरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छानबिन गरिरहेको छ भने पालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनी सोही घटनाका कारण मन्त्रालय तानिनुभएको छ । भत्ता चोरीपछि स्थानीय सरकारले प्रबन्ध नगर्दा अहिलेसम्म लाभग्राही भत्ता लिनबाट बञ्चित छन् ।
प्रतिनिधिसभा सांसद तथा माओवादी केन्द्रका नेता हितबहादुर तामाङको नेतृत्वमा वाग्मती प्रदेशसभाका उपसभामुख राधिका तामाङ, पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ र ककनी गाउँपालिका अध्यक्ष मानबहादुर तामाङसहितको टोलीले आइतबार नै अर्थमन्त्री जनार्दन शर्मालाई भेटी भत्ता चोरी प्रकरण, नुवाकोटको गौरवका योजनालगायत विषयमा ध्यानाकर्षण गरेको थियो ।