नुवाकोट । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा १ स्थित सिद्धेश्वर चमेरो गुफा पद्मसम्भव परिपथ परिसरमा प्रादेशिक बौद्ध पाठशाला गुम्बा बनाउन सम्भाव्यता अध्ययन गरिएको छ ।
नेपाल बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिका कार्यकारी निर्देशक होमबहादुर दोङले बौद्ध पाठशाला गुम्बा निर्माणका लागि उक्त क्षेत्रमा सम्भाव्यता अनुगमन तथा निरीक्षण गरेको पञ्चकन्या १ का वडाध्यक्ष मणिनाथ लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार गुम्बा विकास समितिका निर्देशक दोङले गाउँपालिकाको सहजीकरणमा सिद्धेश्वर चमेरो गुफा पद्म सम्भव परिपथ हिन्दु तथा बौद्धमार्गीहरुको महत्वपूर्ण धार्मिकस्थल भएकाले यसको स्तरोन्नति र विकासका लागि महत्वका रुपले हेरिएको र गुरु पद्मसंभव रिम्पोछेको मूर्ति तथा बौद्ध पाठशाला गुम्बा निर्माणका लागि प्रतिबद्धता जनाउनुभएको थियो ।
गुम्बा विकास समितिले त्यस स्थानमा प्रादेशिक गुम्बा बनाउनको लागि सम्भाव्यता अध्ययन तथा विस्तृत गुरुयोजना बनाउन लागिएको निर्देशक दोङले जानकारी दिए ।
उक्त अवसरमा पञ्चकन्या गाउँपालिका अध्यक्ष एवं नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेश समिति सदस्य तेजबहादुर तामाङ, कार्यकारी निर्देशकका श्रीमती एवं तामाङ सेलो गायिका इन्दिरा योञ्जन, कवयित्री लक्ष्मी रुम्बा तामाङ, सिद्धेश्वर चमेरो गुफा व्यवस्थापन समिति अध्यक्ष नरेश मल्ल, निर्माण समितिका सचिव तथा माओवादी केन्द्र पञ्चकन्या-१ का अध्यक्ष उत्तम पाठक, योङ कम्युनिष्ट लिग (वाईसीएल) पञ्चकन्या संयोजक गणेश खकुरेल, स्थानीय समाजसेवी तथा जग्गादाता लोकप्रसाद कँडेललगायतको उपस्थिति थियो ।
निर्देशक दोङ नेतृत्वको टोलीले गुफा, सामुदायिक भवन, पदमार्ग तथा नेपाल पर्यटन विभागको सहयोगमा निर्माणाधीन पदमार्ग अनुगमन र निरीक्षण गरेको वडाध्यक्ष लामिछानेले बताउनुभयो ।
सामुदायिक भवन पूर्वयुवा तथा खेलकुदमन्त्री तथा नुवाकोट क्षेत्र १ बाट निर्वाचित संघीय सांसद हितबहादुर तामाङ पहल र सक्रियतामा प्रदेश सरकारको सहयोगमा निर्माण भएको अध्यक्ष लामिछानेले उल्लेख गर्नुभएको छ ।
चमेरो गुफा (चाङ्खलायी डाग्फू) पवित्र महातीर्थ (ने) मा हरेक वर्ष पुस महिनाको दशमी (छेपा च्यु) का दिन लाखौं बुद्धहरु गुरु रिन्पोछे, देवी देवताहरु र कुल देवताहरुलाई सम्झेर छोगफूल, धूप बत्ती, मर्मी, दार्जो, लुङ्दार इत्यादि चढाई साङ सेरकिम गरेर विश्व शान्तिको पूजा गर्ने गरिन्छ ।
त्यस्तै गुफामा सेवा, धर्म गरेमा मान्छेले बोलेर गरेको पाप, मनले अरुको निम्ति नराम्रो सोचेको पाप, जिउले गरेको पाप, लोभ, मोह, अहंकार, रिस, कलह, क्रोधजस्ता सबै पापहरुबाट मुक्त हुने जनविश्वास छ । त्यस्तै दु:ख, बिमार, ग्रहदशा, रोग सबै हटेर जाने र मनकामना पूरा हुने विश्वास गरिन्छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८ २२:३७