काठमाडौं । सरकारले निजामती कर्मचारी, सुरक्षाकर्मी र शिक्षकको नयाँ तलबमान स्वीकृत गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।
सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयका शिक्षक, प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता कार्कीले बताउनुभएको हो ।
बैठकले केही सचिवहरूको सरुवा गरेको छ । गृह मन्त्रालयको सचिवमा टेकनारायण पाण्डेलाई ल्याइएको छ । पाण्डे यसअघि भूमि व्यवस्था मन्त्रालयमा कार्यरत हुनुहुन्थ्यो । रक्षा सचिवमा वित्त आयोगका बेगेन्द्र शर्मा पौड्याललाई ल्याएको छ । त्यसैगरी प्रधानमन्त्रीको कार्यालयमा कार्यरत वैकुण्ठ अर्याल सञ्चार मन्त्रालयको सचिव बनेका छन् । प्रदेश नम्बर १ का प्रमुख सचिव सुमन अर्याललाई महालेखा परीक्षकको कार्यालयमा सरुवा गरिएको गरिएको छ । त्यस्तै, कर्णाली प्रदेशका प्रमुख सचिव गणेशप्रसाद पाण्डेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ ।
बैठकले कृषि विभागमा कार्यरत सहसचिव गोविन्द शर्मालाई विशिष्ट श्रेणीमा बढुवा गरी कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको सचिवमा पदस्थापन गरेको छ। त्यस्तै मन्त्रिपरिषद बैठकले परराष्ट्र सेवाका तीन उपसचिवलाई सहसचिवमा बढुवा गरेको छ । सूर्य भट्टराई, घनश्याम लम्साल र तेजबहादुर क्षेत्रीलाई सहसचिवमा बढुवा नियुक्ति दिई परराष्ट्र मन्त्रालय वा यस अन्तर्गतका कार्यालयमा पदस्थापन गर्ने निर्णय भएको मन्त्री कार्कीले जानकारी गराउनुभएको हो ।