काठमाडौं । नेकपा एमालेले महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्यहरु मात्र चुन्ने गरी विधान संशोधन गर्ने प्रस्ताव अघि सारेको छ । उक्त प्रस्ताव अनुसार एमालेले अध्यक्षलाई थप शक्तिशाली बनाउने तयारी गरेको छ ।
प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार प्रस्तावित विधानमा अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र ७ सचिव गरि १३ पदाधिकारी रहनेछन् । उनीहरुमध्ये अध्यक्ष महाधिवेशनबाट निर्वाचित हुनेछन् भने अरु केन्द्रीय कमिटीले चयन गर्ने व्यवस्था गरिएको छ । हाल अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, पाँच सचिव रहने व्यवस्था छ र सबै महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था छ ।
प्रस्तावमा स्थायी कमिटी खारेज गरेर सचिवालय, पोलिटब्यूरो र केन्द्रीय कमिटी रहने उल्लेख गरिएको छ । केन्द्रीय कमिटी २२५ सदस्यीय बनाउने प्रस्तावित विधानमा उल्लेख छ । प्रदेश, जिल्ला र स्थायी तहका कमिटीमा अध्यक्ष, उपाध्यक्ष सचिव र दुई सहसचिव रहनेछन् । सबै कमिटीमा अध्यक्ष र कमिटी अधिवेशनबाट चुनिनेछ ।
सोमबार तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा बसेको अध्यक्ष केपी शर्मा ओली पक्षीय केन्द्रीय कमिटी बैठकले विधान संशोधन प्रस्ताव तल्लो कमिटीसम्म छलफलमा लैजाने र आसन्न विधान महाधिवेशनमा लैजाने निर्णय गरेको छ ।
यस्तै गरी बैठकले पार्टीको लोगो परिवर्तन गर्नका लागि प्रस्ताव गरेको छ । विधान संशोधन समितिले केन्द्रीय कमिटीमा पेस गरेको प्रस्तावमा पार्टीको लोगोमा सूर्यभित्र हँसिया हथौडा प्रस्ताव गरेको छ । यसअघि एमालेको लोगो सूर्य थियो । जुन एमालेको चुनाव चिह्न पनि हो ।