नुवाकोट । नुवाकोटको विदुर नगरपालिका ५ स्थित पिपलटारमा 'पोष्टबहादुर बोगटी स्मृति पार्क' निर्माण भइरहेको छ ।
नेकपा (माओवादी) का दिवंगत नेता पोष्टबहादुर बोगटीको स्मृतिमा २०७२ मा स्थापना गरिएको पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले पार्क निर्माण अगाडि बढाएको हो । पार्कस्थलमा ३ कोठाको पोष्टबहादुर बोगटी स्मृति पुस्तकालय भवन, २ कोठाको अस्थायी निवास (देखभाल गर्ने कर्मचारीको आवासको लागि प्रयोग भएको) टिकटघर निर्माण भइसकेको प्रतिष्ठानका कार्यालय सचिव प्रभा बोगटीले जानकारी दिनुभयो ।
नेता पोष्टबहादुर बोगटीको पूर्णकदको सालिक पनि निर्माण गरिएको छ । उक्त सालिक शनिबार एक कार्यक्रमबीच नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनावरण गर्नुहुने कार्यक्रम छ ।
संविधानसभा सदस्य एवं पोष्टबहादुरकी श्रीमती राममाया बोगटीले संसदीय विकास कोषअन्तर्गत आर्थिक वर्ष २०७३/७४, ०७४/०७५ मा करिब ५० लाख रुपैयाँ विनियोजन गरी पार्क निर्माणाधीन १३ रोपनी क्षेत्रफल रहेको जग्गामा पर्खाल निर्माण गरिएको हो । यस्तै आव ०७४/०७५ मा संस्कृति, नागरिक उड्यन तथा पर्यटन मन्त्रालयबाट विनियोजित रकमबाट २०७५ असार ११ गते पार्क सँगैको ५४४.५१ क्षेत्रफलको जग्गा ६२ लाख ३८ हजार ४८० रुपैयाँमा प्रतिष्ठानको नाममा खरिद गरेर सोही महिनाको मसान्तमा वाल तथा कम्पाउन्ड लगाइएको प्रतिष्ठानका कार्यालय सचिव बोगटीले जानकारी दिनुभयो । उहाँका अनुसार थप जग्गामा वाल तथा कम्पाउन्ड लगाउन ६ लाख ६१ हजार ९७ रुपैयाँ खर्च भएको थियो ।
१३ रोपनी जग्गा भने २०७२ मा जिल्ला वन कार्यालयबाट पोष्टबहादुर बोगटी स्मृति पार्क निर्माणका लागि चिसापानी वन उपभोक्ता समितिको निर्णयबमोजिम उपलब्ध गराएको पनि सचिव बोगटीले प्रस्ट्याउनुभयो । स्मृति पुस्तकालय, अस्थायी निवास निर्माणका लागि आव ०७५/७६ मा वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयबट विनियोजित ५० लाख रुपैयाँ बजेट खर्चिएको हो ।
पार्क स्थलमा पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानका पदाधिकारीलगायत ।
सालिक निर्माणका लागि प्रदेश मन्त्रालयबाट व्यवस्था भएको बजेट खर्च गर्न ०७७ चैत २३ गते स्थानीय भोजराज पनेरुको अध्यक्षतामा पोष्टबहादुर बोगटी स्मृति पार्क निर्माण उपभोक्ता समिति गठन गरिएको थियो । त्यसका लागि आव २०७७/७८ को लागि वाग्मती प्रदेश आन्तरिक मामिला मन्त्रायबाट व्यवस्थापन भई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट ४० लाख रुपैयाँ विनियोजन भएको थियो ।
पार्क निर्माण स्थल चिसापानी वन उपभोक्ता समितिको थप जग्गा र केही सार्वजनिक जग्गा अतिक्रमण भइरहेको अवस्थामा विदुर नगरपालिका ५ र स्थानीय अगुवाहरुले अतिक्रमित जग्गा संरक्षणमा प्रतिष्ठानले पहल लियोस् भन्ने मनसाय प्रकट गरेपछि ०७७/७८ मा वन तथा वातावरण मन्त्रालयबाट पार्कलाई हरितपार्क निर्माणका लागि विनियोजित २० लाख रुपैयाँले अतिक्रमित जग्गामा तारबार लगाउने प्रक्रिया अघि बढाइएको थियो । गत जेठ १७ गते सम्झौता भई ठेक्का प्रक्रियाद्वारा काम अघि बढाइएकोमा निर्माण सक्ने चरणमा रहेको प्रतिष्ठानले जनाएको छ ।
त्यस्तै आव ०७६/०७७ मा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भरतपुर चितवनबाट पोष्टबहादुर बोगटी डिप बोरिङ खानेपानी आयोजनाको लागि ४० लाख रुपैयाँ रकम विनियोजन भएको थियो । समय अभावले उक्त आवमा १३ लाख ७४ हजार ८ सय ५३ रुपैयाँ मात्र खर्च भई डिप बोरिङ खन्ने काम भएको थियो । उक्त अधुरो आयोजना पूरा गर्न संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भरतपुर चितवनबाट आव ०७७/७८ मा २५ लाख ८० हजार रकम व्यवस्था भई ठेक्का प्रक्रियाद्वारा खानेपानी सञ्चय तथा वितरणका लागि खानेपानीको रिजरभ्वायर निर्माण कार्य भइरहेको छ ।
यस्तै डिप बोरिङ खानेपानी योजनाका लागि आवश्यक ट्रान्समिटरसहित थ्री फेज लाइन विस्तारको लागि नेपाल विद्युत् प्राधिकरणबाट आव ०७७/७८ मा १९ लाख ३४ हजार ७ सय ४६ रुपैयाँ विनियोजित भई काम अघि बढिरहेको प्रतिष्ठानले जनाएको छ ।
को हुनुहुन्छ पोष्टबहादुर बोगटी ?
२०१० साउन ३ गते साविक नुवाकोट जिल्ला तुप्चे गाविस वडा नं.–२ भित्रीनीटारमा आमा लेखकुमारी बोगटी र पिता भैरवबहादुर बोगटीको जेठा सन्तानको रुपमा जन्मनुभएको पोष्टबहादुर बोगटीको ६१ वर्षको उमेरमा २०७१ भदौ ३० गते बिहान हृदयघात र मस्तिष्कघातका कारण काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो ।
उहाँ एकीकृत नेकपा (माओवादी)को केन्द्रीय उपाध्यक्ष हुनुहुन्थ्यो । उहाँ २०२५ सालदेखि वाम राजनीतिको समर्थक भई २०३७ सालमा नेकपा चौमको जिल्ला सेक्रेटरी, २०४० सालमा नेकपा (मशाल) को नुवाकोट जिल्ला सेक्रेटरी भएर जिल्लाको नेतृत्व गर्नेदेखि, २०४३ सालमा वाग्मती क्षेत्रीय ब्यूरो सदस्यमा मनोनित भएको थियो । २०४५ सालदेखि (मशाल) को केन्द्रीय सदस्य, २०४८ सालमा ने.क.पा. (एकता केन्द्र) को एकता महाधिवेशनबाट पुनः केन्द्रीय सदस्यमा चुनिनु भएको थियो ।
राष्ट्रिय एकता महाधिवेसनपछि उहाँ पार्टीको कर्णाली क्षेत्रीय ब्युरो इन्चार्ज हुँदै २०५३ सालबाट पश्चिम क्षेत्रीय बुरो इन्चार्ज, २०६१ सालबाट गण्डक, राप्ती, भेरी—कर्णाली र सेती—महाकाली क्षेत्रीय ब्युरो समेटेर बनेको सिंगो पश्चिम केन्द्रीय कमाण्डको ईन्चार्ज हुनुभएको थियो । २०५४ सालमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को पोलिटब्युरो सदस्य, २०५८ सालमा स्थायी समिति सदस्य, २०६७ सालमा पार्टीको केन्द्रीय सचिव हुँदै २०६९ सालमा हेटौंडामा सम्पन्न पार्टीको एकताको राष्ट्रिय महाधिवेशनबाट महासचिवमा निर्वाचित हुनुभएको थियो ।
२०७१ वैशाखमा सम्पन्न पार्टीको विराटनगर राष्ट्रिय सम्मेलनलगत्तै केन्द्रीय कार्यालय कोटेश्वर पेसिसडाँडामा बसेको केन्द्रीय समिति बैठकमा अत्यधिक मतद्वारा केन्द्रीय उपाध्यक्षमा निर्वाचित हुनुभयो । २०६४ सालको संविधानसभा निर्वाचनमा नुवाकोट जिल्ला साविक निर्वाचन क्षेत्र ३ बाट संविधानसभा सदस्यमा निर्वाचित भई माओवादी संसदीय दलको सचेतक, प्रमुख सचेतक हुँदै उर्जा, शिक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री भएर मन्त्रालयको जिम्मेवारी पूरा गर्नुभयो ।
स्वअध्ययन, लगन, निष्ठा र अथक् मेहनत तथा विचार र व्यवहारको एकरुपताको कौशलताका धनी बोगटी सादा, सरल र सामूहिकतामा रमाउने व्यवहारिक नेता हुनुहुन्थ्यो । उहाँ आधारभूत श्रमजीवी सर्वहारा वर्ग, जातजाति, भाषाभाषी, क्षेत्र र लिङ्गका उत्पीडित जनसमुदायहरुको आर्थिक, सामाजिक, सांस्कृतिक जीवनस्तर उठाउन निरन्तर लागि पर्ने नेता हुनुहुन्थ्यो ।