काठमाडौं । तामाङ समुदायको राष्ट्रिय साझा संस्था नेपाल तामाङ घेदुङको नवौं संघीय महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ ।
धुम्बाराहीस्थित एक पार्टी प्लालेसमा आयोजित कार्यक्रममा प्रमुख अतिथि घेदुङका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार एवं नेकपा (माओवादी केन्द्र) का नेता परशुराम तामाङले महाधिवेशन उद्घाटन गर्नुभएको हो । महाधिवेशन चैत १ गतेसम्म चल्ने छ ।
उद्घाटन सत्रमा ताम्बा, लामा, बोन्बोहरुको प्रस्तुति, नेपाल संस्कृति घेदुङको विशेष प्रस्तुति, तामाङ कलाकार संघ, राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको प्रस्तुति, म्हेन्दोमाया नृत्य प्रस्तुत गरिँदै छ ।
आइतबार नै सुरु हुने तयारी रहेको बन्द सत्रबाट सांगठानिक, आर्थिक, विधान संशोधनलाई सामान्य छलफल गरेर औपचारिकरुपमा पारित गराउने विधि अपनाउने अध्यक्ष मोहन गोले तामाङले जानकारी दिनुभयो । यो महाधिवेशनबाट घेदुङले नयाँ नेतृत्व पाउनेछ । नेतृत्वका लागि आधा दर्जनभन्दा बढी आकांक्षी देखिएका छन् । महाधिवेशनमा इतिहासकै धेरै प्रतिनिधि र पर्यवेक्षक गरी ८ सय हाहाहारीमा सहभागी छन् ।
विधान संशोधन गरी घेदुङले २१ सदस्यीय पदाधिकारी छान्ने तयारी छ । अध्यक्ष, सहअध्यक्ष, वरिष्ठ उपाध्यक्ष, समावेशी महिलासहित ७ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव, ४ सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष महाधिवेशन प्रतिनिधिले पारित गरेअनुसार हुने छ ।