काठमाडौं । नेपाल तामाङ घेदुङको नवौं संघीय महाधिवेशनअन्तर्गत बन्दसत्र सोमबारबाट मात्रै सुरु हुने भएको छ । प्रतिनिधि, पर्यवेक्षकलाई कार्ड वितरणको ढिलाईका कारण आइतबार ८ बजेदेखि हुने भनिएको बन्द सत्र स्थगित भएको हो ।
'प्रतिनिधि, पर्यवेक्षक दर्ता फागुन १५ गते भित्रै भइसकेको थियो । तर दस्तुर बुझाउने र कार्ड वितिरण बाँकी रहेकोमा आज (आइतबार) गरिएकोले ढिलो हुँदा बन्दसत्र भोलि बिहानदेखि सुरु हुने भएको छ,' उपाध्यक्ष कुमार घिसिङले जानकारी दिनुभयो । उहाँका अनुसार बन्दसत्र धुम्बाराहीस्थित एसआर बैंक्वेटमै हुनेछ ।
आइतबार राति पौने ९ बजेसम्म ८ सय १५ जना प्रतिनिधि, पर्यवेक्षकलाई कार्ड वितरण गरिसकेको उहाँले बताउनुभयो । बन्दसत्रका लागि चार सदस्यीय अध्यक्ष मण्डल बनाइएको छ भने ३ सदस्यीय निर्वाचन समिति पनि गठन गरिएको छ ।
अध्यक्ष मण्डलको अध्यक्ष : कुमार योञ्जन तामाङ
सदस्य : महेन्द्रजंग तामाङ
सदस्य : धनप्रसाद तामाङ
सदस्य : शान्ति पाख्रिन
निर्वाचन समिति : कुन्साङ योञ्जन ,सोमबहादुर घले तामाङ ,शम्भू गोले बन्दसत्रमा महासचिव महितकुमार तामाङले समसामयिक र विधान प्रतिवेदन र कोषाध्यक्ष रुपबहादुर योञ्जनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
ती प्रतिवेदनहरु औपचारिकता स्वरुप पारित गरेर सोमबार नै निर्वाचन प्रक्रिया थालनी गरिने उपाध्यक्ष घिसिङले बताउनुभयो । घेदुङको महाधिवेशन भव्य समारोहबीच आइतबार काठमाडौंमा उद्घाटन गरिएको छ । राज्यका उच्चओहोदामा रहेका व्यक्तिबाट उद्घाटन गरिने परम्परा तोड्दै यसपटक पूर्वअध्यक्ष एवं सल्लाहकार परशुराम तामाङबाट महाधिवेशन उद्घाटन गरिएको हो । कार्यक्रममा विभिन्न दलका नेताहरु, मन्त्री, सामाजिक व्यक्तित्वहरु लगायतको उपस्थिति थियो ।