नुवाकोट । बेलकोटगढी नगरपालिका वडा नम्बर ४ का मनराज गुरुङ ‘महेन्द्र’सँग तीन वर्षसम्म दर्जनौं युद्धमोर्चामा लडेको अनुभव छ । नेपालको आमूल परिवर्तनका निम्ति भन्दै २०५२ सालदेखि नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा होमिनुभएको मनराज यतिबेला कुखुराको चल्लासंग रमाईरहनु भएको छ ।
विदुर नगरपालिका वडा नम्बर १३ देउडीमा कुखरा फार्म संचालन गर्दैै आउनुभएका मनराज जनमुक्ति सेनाका पूर्वप्लाटुन कमाण्डर हुनुहुन्छ । बन्दुक र बमगोलाको सट्टा कुखुराको चल्लासँग रमाइरहनुभएका गुरुङ आफ्नो कर्मप्रति सन्तुष्ट देखिएको छ ।
सुरुमा चार सय चल्लाबाट सुरु गरेको व्यवसायलाई निरन्तरता दिन नसकेपछि मनराज वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान विवश हुनुभयो । लगभग दुई साल खाडी मुलुकको बसाईपछि नेपाल फर्केर उहाँले पुनः कृषि पेशालाई नै निरन्तरता दिनुभएको हाे ।
अरुले नै कुखुरा पालन गर्दै आएको खोरसहितको संरचना १२ लाख रुपैयाँमा खरिद गरेको मनराजले बताउनुभयो । जहाँ मनराजले दुईवटा खोरमा गरी एक लटमा पाँच हजार वटासम्म चल्ला हुर्काउने गर्नुभएको छ ।
उहाँको बुझाइमा कुखुरापालन व्यवसायीको भविष्य असुरक्षित छ । तापनि स्वदेशमै रोजगारी सृजना हुनुलाई भने मनराज सकारात्मक रुपमा लिन्नुहुन्छ । आफैं खटेर पनि अन्य दुई जनालाई रोजगारी दिएको मनराज बताउनुहुन्छ ।
गरिबी, असमानताबाट समाजलाई मुक्त गरेर नयाँ जनवादी व्यवस्थाको लक्ष बोकेर युद्धमा होमिएका मनराजले सोचेको जस्तो उपलब्धी हासिल गर्न नसकेको बताउनुभयो । तर पनि गणतन्त्र, संघीयता जस्ता राजनीतिक उपलब्धीहरु आफूहरुकै योगदानबाट प्राप्त भएकोले निराश हुनुपर्ने अवस्था नरहेको उहाँको भनाई छ ।
राज्यको नियमनकारी नीति नहुँदा विचौलियाबाट ठगिनुपरेको मनराजको गुनासो रहेको छ । किसानलाई उचित मूल्य दिने र ठगीबाट जोगाई राज्यको तर्फबाट दाना, कुखुराको मूल्य निर्धारण गरिदिए राम्रो हुने उहाँको भनाइ रहेको छ ।