बिदुर । नुवाकोट जिल्ला आइतबारदेखि कोरोना सक्रमणमुक्त भएको छ । यसअघि सङ्क्रमित भएर उपचार गराउँदै आएका बेलकोटगढी नगरपालिका घर भएका दुई व्यक्ति आइतबार सङ्क्रमणबाट मुक्त भएसँगै जिल्ला पनि कोरोना मुक्त भएको हो ।
स्वास्थ्य कार्यालयका सूचना अधिकारी एवं खोप अधिकृत अमृत महर्जनले जिल्लामा यसअघि सङ्क्रमित भएका सबै निको भएको र नयाँ सङ्क्रमित थप नभएकोब बताउनुभयो । कोरोनाको तेस्रो लहर जिल्लामा गत पुस २५ मा भित्रिएको थियो । भाइरस देखा परेको दुई महिनापछि नियन्त्रणमा आएको हो ।
जिल्लामा विसं २०७७ जेठ ११ मा ओखरपौवाका एक व्यक्तिमा भाइरसको सक्रमण देखा परेको थियो । पहिलो लहर विसं २०७७ फागुन २३ गतेदेखि सक्रमणमुक्त बनेको थियो । यसपछि विसं २०७७ चैत २४ मा दोस्रो लहर सुरु भएर गत पुस १४ सम्म कायम रहेको थियो । यसको दश दिनपछि पुनः पुस २५ गते कोरोनाको तेस्रो लहर भित्रिएको जिल्लामा पहिचान भएको थियो ।
आइतबारदेखि कोरोना मुक्त भएको स्वास्थ्य कार्यालयका प्रमुख (वरिष्ठ जनस्वास्थ्य प्रशासक) महेन्द्रध्वज अधिकारीले जानकारी दिनुभयो । उहाँको अनुसार कोरोनाको पहिलो लहरमा एक, दोस्रो लहरमा ५१ जनाको निधन भएको थियो भने तेस्रो लहरमा मृत्युदर शून्य रह्यो । हालसम्म जिल्लामा कोरोनाको कारण निधन हुनेको सङ्ख्या ५२ जना कायम छ । कोरोनाको पहिलो लहरमा एक हजार १४५ सङ्क्रमित पहिचान भएकोमा दोस्रो लहरमा सात हजार २४५ र तेस्रो लहरमा ९७३ थप भएका थिए ।
हालसम्म सङ्क्रमित हुने कूल सङ्ख्या जिल्लामा नौ हजार ३६३ पुगेपछि सङ्क्रमणमुक्त जिल्ला बनेको हो । कोरोनाबाट बच्न जिल्लावासीलाई अन्य जिल्लामा आउजाउ गर्दा सावधानी अपनाउन, बाहिरी जिल्लाबाट आउने व्यक्तिको स्वास्थ्यमा निगरानी गर्न, यसबाट बच्न सरकारले निःशुल्क उपलब्ध गराएको रोगविरुद्धको खोप लगाउन स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले आग्रह गर्नुभयो ।
जिल्लामा कोरोना रोक्न त्रिशूली अस्पतालमा पीसीआर प्रयोगशाला, अक्सिजन उद्योग, भेन्टिलेटर, आइसियु र एचडियुसहित आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको थियो । जिल्लाको त्रिशूली अस्पताल, खरानीटार अस्पताल र स्थानीयतहले करिब ५०० आइसोलेसन शय्यासमेत सञ्चालनमा ल्याएका थिए ।