काठमाडौं । नेपाल तामाङ घेदुङका पुन: निर्वाचित अध्यक्ष मोहन गोले तामाङले यो कार्यकाललाई काम गर्ने अवसरको रुपमा लिएको बताउनुभएको छ ।
घेदुङको मंगलबार राति सम्पन्न नवौं संघीय महाधिवेशनबाट निर्वाचित हुनु भएपछि अध्यक्ष तामाङले पुरानो अनुहारलाई नवीकरण गरिएकोले काम गर्ने प्रतिबद्धता जनाउनुभएको हो । 'नवौं संघीय महाधिवेशनबाट निर्वाचित संघीय कार्यसमितिमा केही नयाँ र केही पुराना अनुहार छन् । जसमध्ये प्रतिनिधि साथीहरूले म पुरानो अनुहारलाई पनि पुन: एक पटक नवीकरण गर्नुभएको छ । यसलाई मैले बोल्ने होइन, काम गर्ने अवसरको रूपमा लिएको छु,' उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
उहाँले द्वन्द्ववाद नबुझ्नेले स्थायी शत्रु र स्थायी मित्रु ठान्दा संगठनसमेत कमजोर हुने भन्नुहुँदै एकता-संघर्ष-रुपान्तरण नियमलाई आत्मसात गर्न पनि आग्रह गर्नुभएको छ ।
'हरेक पटकको नयाँ समीकरणमा नयाँ अन्तरद्वन्द्व सिर्जना हुन्छ । त्यसले विभाजन ल्याउँछ र फेरि नयाँ समीकरणतिर अघि बढाउँछ हिजोको अन्तरद्वन्द्व हिजोकै सँग भयो, आजको द्वन्द्व आजकै सँग हुन्छ,' उहाँले भन्नुभयो, 'द्वन्द्व हुनु भनेको थप परिष्कृत भएर सम्बन्ध अघि बढ्नु हो । द्वन्द्ववाद नबुझ्नेले स्थायी शत्रु र स्थायी मित्रु ठान्दा संगठन समेत कमजोर हुन पुग्छ । एकता-संघर्ष-रुपान्तरण नियम हो । यसलाई आत्मसात गरौं ।'
तामाङ घेदुङको फागुन २९ देखि चैत १ गतेसम्म काठमाडौंको धुम्बराहीमा सम्पन्न महाधिवेशनले गोलेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । कोभिड-१९ को विश्वव्यापी महामारीको कारण दुई वर्षदेखि घेदुङको महाधिवेशन स्थगित हुँदै आएको थियो । चौथो पटकको घोषित मितिमा मात्र महाधिवेशन सम्पन्न भएको हो ।
अन्योलताको बीचमा नै छोटो तयारीमा महाधिवेशन गर्नुपर्दा सोचेजस्तो नभए पनि देश, विदेशको तामाङ संघ/संस्थाहरू, शुभेच्छुक महानुभावहरूको साथ, सहयोग, समर्थनले महाधिवेशन ठीकै आकारमा सम्पन्न भएको उहाँले बताउनुभयो । महाधिवेशनमा ६८० जना प्रतिनिधि, १०० जना पर्यवेक्षकको सहभागिता रह्यो । महाधिवेशन सफल बनाउन सहयोग गर्नुहुने पूर्वअध्यक्ष, सल्लाहकारहरू, अध्यक्ष मण्डल, निर्वाचन मण्डल, प्रतिनिधि तथा पर्यवेक्षकहरू, प्रवासस्थित तामाङ संघ/संस्थाहरू, स्वदेशका प्रदेश, जिल्ला, स्थानीय समितिहरू, भ्रातृ संगठन, विभाग, आबद्ध संस्थाहरू, अन्य सहयोगी संस्था र शुभेच्छुकहरूलाई अध्यक्ष गोलेले धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ ।