घलेभञ्ज्याङ । नुवाकोट पञ्चकन्या गाउँपालिका ४ को सबभन्दा उच्च भूगोलमा अवस्थित भूमिथानको यस वर्ष जात्रा भव्य बनेको छ ।
पञ्चकन्या गाउँपालिकाको अगुवामा निर्माणाधीन घ्याङस्वाँरा सहिद स्मारक पार्क, भूमिथान मन्दिरसम्म बनेको सिढीको आकर्षण र स्थानीय युवाहरुको सक्रियतामा यसवर्ष जिलिङ जात्रा थप रमाइलो बनेको हो । यस भूमिथानमा हरेक वर्ष फागुन शुक्ल त्रयोदशीदेखि फागु पूर्णिमा (होली) चतुर्थीसम्म मेला लाग्ने गर्छ ।
मेलामा पञ्चकन्या, शिवपुरी, दुप्चेश्वरलगायत स्थानबाट दर्शनार्थी भेला हुने गर्छन् । मेलामा स्थानीय र नजिकका झाँक्रीहरु अघिल्लो दिनमा मन्दिर परिसरमा जम्मा हुने, आजापूजा गर्ने र भोलिपल्ट घर घर फर्कने चलन छ । गत वर्षहरुमा चतुर्थीको दिन दिउँसो चाँडै सुनसान हुने गरे पनि यसपटक पार्क निर्माण र स्थानीय सक्रियतामा बिहीबार सांगीतिक कार्यक्रम गरिएको छ ।
यस वर्षदेखि निर्माणाधीन खेलकुद मैदानमा गोरुसमेत जुधाइएको छ । स्थानीय युवाहरुले पार्कस्थलदेखि मन्दिरसम्म ध्वजापताकाले सजाएका थिए । रातिको लागि बिजुली बत्तीले झिलीमिली पारिएको थियो ।
बिहीबार जिलिङ मेलाको अन्तिम दिन पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ, प्रमुख प्रशासकीय अधिकृत अशोक विष्ट, कर्मचारी, स्थानीय र दर्शनार्थीको उपस्थितिले पार्कस्थलमा रौनकता थपिएको थियो । कोही गोरु जुधाइ हेरेर रमिरहेका थिए भने कोही संगीतमा झुम्मिरहेका थिए । केही भने पार्कस्थलमा फुलेका लागीगुराँस र पार्कमै सेल्फी र सामूहिक तस्बिर खिच्न व्यस्त देखिन्छ । पार्कस्थलमा खाना, खाजाको स्टल समेत राखिएको थियो ।
तस्बिर सौजन्य : अशोक विष्ट, कमल तामाङ, निरशा तामाङ