काठमाडौं । नेपाल तामाङ घेदुङका नवनिर्वाचित अध्यक्ष मोहन गोले तामाङले घेदुङलाई पार्टीको भ्रातृ संगठनजस्तो बनाउने प्रयास बिफल पारिएको बताउनुभएको छ । घेदुङ कार्यालय चुच्चेपाटीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बुधबार सम्पन्न नवौं संघीय महाधिवेशनको सन्दर्भमा १० बुँदे घोषणा पत्र जारी गर्नुहुँदै अध्यक्ष तामाङले गुट-उपगुटजस्तो देखिए पनि निष्पक्ष र सक्षम नेतृत्व चयन भएको दाबी गर्नुभएको हो ।
'केही व्यक्ति र संस्था भ्रातृ संगठन जस्तै बनाउन खोजे पनि त्यो लागू हुन दिएनौं, ' उहाँले भन्नुभयो, 'म पनि कुनै पार्टीको नभइ समुदायले चाहेकै हुँदा पुनः अध्यक्षमा निर्वाचित भएको हुँ ।' अध्यक्ष गोलेले घेदुङले अब सक्रियरुपमा तामाङ समुदायको विषयसँगै राष्ट्रका विभिन्न विषयवस्तुमा पनि चासो राख्ने जानकारी गराउनुभयो । घोषणा पत्रमा एमसीसीको विरुद्धमा पनि आवाज उठाउने र एमसीसी नेपाल र नेपालीको हितविपरीत भएकोले यसको विरुद्धमा लाग्न समुदायलाई जानकारी गराउने उल्लेख छ ।
यस्तै नेपाल सरकारको वार्ता टोली र ताम्सालिङ संयुक्त संघर्ष समितिबीच ०६५ चैत २९ गते भएको १९ बुँदे सम्झौता इमान्दारीपूर्वक कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नुका साथै अन्य तामाङ समुदायका विकासका विषयवस्तुलाई नयाँ कार्यसमितिले घोषणा पत्रमा उल्लेख गरेको छ । अध्यक्ष गोलेले तामाङ समुदायको विकास नयाँ प्रविधि र विदेशी मोडलअनुसार भन्दा पनि आफ्नै पहिचान र स्थानीय विषयवस्तुलाई प्राथमिकतामा राखेर मात्र सम्भव रहेको बताउनुभयो ।
उहाँले मातृभाषा कार्यान्वयनको सवालमा काठमाडौं महानगरपालिकाले महानगरभित्र नेपाल भाषा अनिवार्य बनाए पनि तामाङ भाषालाई हटाउन नहुने बारेमा छलफल भइरहेको बताउनुभयो । कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै सहअध्यक्ष कुमार सिं घिसिङले महाधिवेशनमा देश विदेशबाट ७ सय प्रतिनिधिहरु सहभागी भएको जानकारी गराउनुभयो ।
महाधिवेनशमा घोषणापत्र जारी गर्ने तयारी नपुगेको हुँदा अहिले जारी गरिएको उहाँले प्रस्ट पार्नुभयो । घेदुङप्रति चासो र चिन्ता व्यक्त गर्ने व्यक्ति बढेकोले नेतृत्वमा आउन चासो राख्नु पनि सामान्य भएको उहाँको भनाइ थियो । अघिल्ला वर्षका महाधिवेशनहरुभन्दा नवौं महाधिवेशन निकै सभ्य र भव्य भएको उहाँले बताउनुभयो ।
वरिष्ठ उपाध्यक्ष रामकृष्ण ब्लोनले घेदुङले तामाङ समुदायको इच्छा र चाहनाअनुसार नै काम गर्ने धारणा राख्नु भयो । उहाँले लामो समयदेखि घेदुङमा लागेको अनुभवी व्यक्ति र युवा पनि अहिलेको नेतृत्वमा भएकोले नयाँ काम पक्कै आउने विश्वास व्यक्त गर्नुभयो ।
पत्रकार सम्मेलनमा घेदुङका निर्वतमान महासचिव महितकुमार तामाङ (बाबु घिसिङ)ले नवनिर्वाचित कार्यसमितिलाई बधाई व्यक्त गर्नुहुँदै अहिलेको कार्यसमितिमा युवा, अनुभव भएका मिस्रित व्यक्तिहरु निर्वाचित भएको बताउनुभयो । अघिल्लो कार्यसमितिले भन्दा यो कार्यसमितिले तामाङ समुदायको लागि राम्रो काम गर्न सक्ने र घोषणापत्रमा पनि सकारात्मक कुराहरु उल्लेख गरिएको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो ।
महासचिव काजीमान थिङ तामाङले घेदुङको नयाँ नेतृत्वले संचार क्षेत्रलाई पनि प्राथमिकता दिने र उठाउनु पर्ने विषयमा सुझाव प्रदान गर्न आह्वान गर्नुभयो । घेदुङको फागुन २९ देखि चैत १ गतेसम्म काठमाडौंमा चलेको महाधिवेशनबाट गोलेको नेतृत्वमा १९ पदाधिकारीसहित नयाँ कार्यसमिति चयन भएको छ ।
घोषणा पत्र