काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघको तीन दिनपछि सुरु हुने १० औं महाधिवेशनबाट छानिने नयाँ नेतृत्वका लागि आधा दर्जनभन्दा बढी आकांक्षी देखिएका छन् । यही चैत ९ देखि १० गतेसम्म नवलपरासीको कावासोतीमा हुने महाधिवेशनका लागि वर्तमान पदाधिकारीदेखि जातीय संस्थाका पदाधिकारीसम्मले अध्यक्षमा दाबी राख्ने देखिएको हो ।
स्रोतका अनुसार महासंघका वर्तमान उपाध्यक्ष गोविन्द छन्त्याल, उपाध्यक्ष किरन सुनुवार, किरात राई यायोक्खाका अध्यक्ष दिवस राई, नेवा दय दबूका अध्यक्ष नरेश ताम्राकार, नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे शेर्पा, भुजेल सेवा समाज समितिका उपाध्यक्ष बुद्ध घर्ती भुजेलले अध्यक्ष बन्ने कसरत थालिरहेका छन् । अत्यक्षमा दाबेदार देखिनुभएका छन्त्याल दुई दशकदेखि अग्रभागमै रहेर जनजाति आन्दोलनमा लाग्दै आउनुभएको छ । उहाँ आफू वर्षौंदेखि आन्दोलनमा रहेकोले नेतृत्वमा दाबी स्वाभाविक भएको बताउनुहुन्छ ।
जनजाति महासंघको अध्यक्षका अर्का आकांक्षी शेर्पा संघका अध्यक्ष गेल्जे शेर्पा निर्माण व्यवसाय पृष्ठभूमिका हुनुहुन्छ । नेवा दय दबूका ताम्राकार पनि लामो समयदेखि जनजाति आन्दोलनमा हुनुहुन्छ । उहाँ अघिल्लो महाधिवेशन अध्यक्ष पदमा पराजित व्यक्तित्व हुनुहुन्छ । अन्य आकांक्षीहरु पनि कुनै नै कुनै रुपमा आदिवासी जनजाति आन्दोलनमा सक्रिय रहेका छन् ।
नेतृत्वका लागि खुट्टा उचाल्नेहरु थुप्रै देखिए पनि पूर्वप्रमुख तथा सल्लाहकारहरूले सहमतीय प्रणालीमा नेतृत्व छनोट गर्न गृहकार्य थालेका छन् । शनिबार काठमाडौंमा भएको छलफलमा बहुमतीय प्रक्रियामा नेतृत्व छनोट गर्दा जनजाति आन्दोलनको आवश्यकता अनुसार नेतृत्व नआउने भएकोले सहमतीय आधारमा जान अगुवाहरु सहमति देखिएका छन् । छलफलबारे नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगतबहादुर बरामले ग्लोबल मिडियालाई भन्नुभयो, 'पहिले भोटिङमा जाने अवस्था बन्यो । जसले नेतृत्व चयनमा क्षेत्र र जातीयको समानुतिक सहभागी कम भएको जसले जनजाति आन्दोलनलाई असर पुर्यायो । अब सहमतीय आधारमा नेतृत्व चयनका लागि संवाद, छलफल सुरु भएको छ । सम्भवत: सहमतीमै नेतृत्व चयन गर्न सफल हुन्छौं ।' उहाँले आकांक्षीहरु धेरै भए पनि उहाँहरु र वर्तमान र पूर्व नेतृत्व बसेर समझदारी निर्माण हुने विश्वास व्यक्त गर्नुभयो ।
सहमतीय प्रणालीमा यसअघि जातीय संघको नेतृत्व छनोटमा दलीय भागबन्डाका आधारमा भएको देखिन्छ । केहीदिन अघि मात्रै सकिएको नेपाल तामाङ घेदुङको नवौं महाधिवेशनमा पनि 'सेटिङ'का आधारमा कतिपय पद निर्विरोध गराइयो भने अध्यक्षलगायत पदमा निर्वाचन गरिएको थियो । प्राय: जनजाति महासंघमा दलीय हस्तक्षेप हुँदै आएकोमा अध्यक्षका दाबेदार एवं वर्तमान उपाध्यक्ष छन्त्याल त्यसको विरोधमा रहेको बताउनुहुन्छ । छन्त्यालले भन्नुभयो, 'अनसिनरुपमा नेतृत्व छनोटमा दलीय हस्तक्षेप छ । यो आन्दोलनका लागि सुखद् पक्ष होइन । शिथिल रहेको आदिवासी जनजाति आन्दोलनलाई उठाउन योगदान भएका र योग्य नेतृत्व छनोट हुनुपर्छ ।'
शनिबारको छलफलमा राष्ट्रिय सभा सदस्य एवं नेकपा माओवादी केन्द्रका नेता सुरेश आलेमगर, नेता परशुराम तामाङ, नेकपा एमाले नेता पासाङ शेर्पा, नेपाली कांग्रेसका नेता नगेन्द्र कुमाल, डा ओम गुरुङ, अध्यक्ष बराम, उपाध्यक्ष छन्याल, लगायत पूर्व र वर्तमान पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।
जनजाति महासंघको महाधिवेशनबाट २१ जनाको संघीय परिषद् सचिवालय र ११२ जनाको संघीय परिषद् निर्वाचित हुनेछन् । सचिवालयमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ३ महिलासहित ७ उपाध्यक्ष, महासचिव, उपमहासचिव, ४ महिलासहित ८ सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष छनोट हुनेछन् ।
संघीय परिषद्मा महासंघमा आबद्ध ५६ जातीय संगठनबाट महिला र पुरुष गरी ११२ जना छानिने छन् । नयाँ नेतृत्व चयनको अलावा महाधिवेशनले 'जातीय जनसंख्याको आधारमा राज्यका हरेक निकायमा पूर्ण समानुपातिक प्रतिनिधित्व नभएसम्म संघर्ष जारी राख्ने' विषयलाई केन्द्रित गरेर नीति पारित गरिने अध्यक्ष बरामले बताउनुभयो ।