पूर्वअर्थमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले अर्थमन्त्रीले मंगलबार प्रतिनिधिसभामा प्रस्तुत स्वेत पत्रमा खर्च घटाउने विषयलाई गम्भीरताका साथ नलिएको टिप्पणी गर्नुभएको छ । बुधबार सामाजिक सञ्जालमा टिप्पणी लेख्दै लोहनीले स्वेत पत्रमा वार्षिक साधारण खर्च एक खर्ब घटाउने कुरा भने स्वागतयोग्य रहेको बताउनुभएको छ ।
'मूलत: ऋणमा व्यापक वृद्धि र आयात र उपभोग केन्द्रित अर्थतन्त्रबारे उनको चिन्ता ठीक छ । यदि यसबारे वर्तमान सरकार साँच्चिकै गम्भीर हो भने यो वर्ष साधारण खर्च कम से कम एक खर्ब घटाउँछु भनेर उनले आट गरे त्यसको स्वागत गर्नु पर्छ । कहाँ घटाउने भन्ने कुरो डा डिल्ली खनालको खर्चसम्बन्धी प्रतिवेदन हेरे पुग्छ,' उहाँले लेख्नुभएको छ, 'तर खर्च घटाउने कुरो स्वेत पत्रमा गम्भीरताका साथ लिएको छैन । यदि यही प्रवृत्ति रह्यो भने शर्माको स्वेत पत्र पनि अरु पुरानो 'अग्रगामी' स्वेत पत्रजस्तो 'अग्रगामी' गफाडीको गफ हुने छ ।
अर्थमन्त्री जनार्दन शर्माले पनि हरेक 'अग्रगामी' अर्थमन्त्रीले जस्तै आफूभन्दा अगाडिकोलाई सराप्ने काम गरेको भन्दै अध्यक्ष लोहनीले असन्तोष व्यक्त गर्नुभएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले मंगलबार प्रतिनिधिसभाको बैठकमा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ प्रस्तुत गर्नुभएको थियो । वर्तमान सरकारले जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्रका सूचकहरु के कस्तो अवस्थामा रहेका छन् भन्ने विषयमा तथ्याङ्कीय झलक प्रस्तुत गरिएको छ । अर्थमन्त्री शर्माले अघिल्लो सरकारले जारी गरेको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न विधेयक ल्याउने जानकारी दिनुभयो ।
'सत्ता सहयात्री दलहरुबीचको साझा न्यूनतम कार्यक्रम, वर्तमान सरकारको नीति र प्राथमिकता, जनचाहना तथा कोभिड–१९ महामारीको कारण सिर्जित चुनौती समेतको सम्बोधन हुने गरी सुधार गर्न छिट्टै नै प्रतिस्थापन विधेयक प्रस्तुत गर्नेछु' उहाँले भन्नुभयो । कोभिड १९ महामारी नियन्त्रण नयाँ सरकारको प्राथमिक कर्तव्य भएको उल्लेख गर्दै मन्त्री शर्माले २०७८ साउन २५ गतेसम्म ४५ लाख २५ हजार ४ सय ३५ जनाले पहिलो र २६ लाख ६ हजार ४६ जनाले पूर्ण मात्रा खोप लगाइसकेको जानकारी दिनुभयो ।
साथै उहाँले हालसम्म करिब १ करोड डोज खोप नेपाल भित्रिएको तथ्याङ्क प्राप्त भएको जानकारी दिनुभयो । मन्त्री शर्माले भूकम्पबाट प्रभावित अर्थतन्त्र विस्तारै सकारात्मक दिशातर्फ अघि बढिरहेको अवस्थामा कोभिड–१९ महामारीले पुन: शिथिल बन्न पुगेको जानकारी गराउनुभयो ।