पोखरा ८ चैत । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को सातौं महाधिवेशनअन्तर्गत भएको निर्वाचन गण्डकी प्रदेशका प्रतिनिधिहरुले बहिष्कार गरेका छन् ।
सहमतिका नाममा चितवनको गर्मीमा समय अनावश्यक लम्ब्याउँदै जाने, सहमति फोनिजकर्मीहरुबीच नभई राजनीतिक पत्रकार संगठनका नेताहरुसँग आन्तरिक भागबन्डालाई प्रमुखता दिएको, गण्डकीका उम्मेदवारहरुलाई नाम फिर्ता लिन अनावश्यक दबाब दिइरहेको र गण्डकीलाई पदाधिकारीमा सहभागी हुन बञ्चित गराउन खोजेको भन्दै गण्डकीले निर्वाचन प्रक्रियाबाट सामूहिकरुपमा नाम फिर्ता लिएको हो ।
नाम फिर्तामात्रै होइन विगतदेखि गण्डकीलाई पदाधिकारीविहीन बनाइँदै आएको र सातौं महाधिवेशनमा भूगोलको समावेशीतालाई सम्मान नगरिएको भन्दै निर्विरोध भइसकेका प्रदेश इञ्चार्ज एमबी आस्था, सदस्य (महिला) कमला रानाले नाम फिर्ता लिए भने उम्मेदवारहरु सचिव (खुला) दिल श्रीरीष, सचिव (अल्पसंख्यक) मिला दराई र सदस्य(खुला) इतराज (आशिफ) गुरुङले सामूहिक रुपमा नाम फिर्ता लिनुभएको हो ।
सामूहिक नाम फिर्ता लिएका गण्डकीका प्रतिनिधिहरुले भने अब फोनिजमा स्वायत्तताको अभ्यास गर्ने बताएका छन् । हामी हाम्रो भूगोल/प्रदेशमा फोनिजको गतिविधि उदाहरणीय ढंगले अघि बढाउँछौं, अपहेलना सहन नसकिने उनीहरुको सामूहिक भनाइ थियो ।
महाधिवेशनमा राजनीतिक हस्तक्षेप भएको भन्दै गण्डकी फोनिजले संघीय फोनिजको शाखाको रुपमा नरहने घोषणा गर्दै महाधिवेशनबाट बाहिरिएको अध्यक्ष रुद्र श्रीस मगरले बताउनुभयो । खुल्ला सचिव, अल्पसंख्यक सचिव, खुला सदस्य, महिला सदस्य, प्रादेशिक इञ्चार्जमा गण्डकीका प्रतिनिधिहरु निर्विरोध निर्वाचित भएको थियो । तर कुनै पदाधिकारी गण्डकीमा पनि हुनुपर्छ भन्ने आवाज उठाउँदा महिला सदस्य र इञ्चार्जमा सीमित बनाउन खोजिएपछि महाधिवेशनबाट बाहिरिएको अध्यक्ष मगरले बताउनुभयो ।
'राजनीतिक भागबन्डा भयो, गण्डकी प्रदेशलाई हेपियो त्यसैले गण्डकी प्रदेश केन्द्रबाट अलग भएको घोषणा गरेका हौं,' अध्यक्ष मगरले भन्नुभयो ।
१० औं महाधिवेशनको चटारोमै गण्डकी प्रदेश फोनिज रुद्र श्रीस मगरको नेतृत्वमा गठन गरिएको थियो । गण्डकी प्रदेशभरबाट महाधिवेशनमा ४० जना केन्द्रीय प्रतिनिधि सहभागी थिए ।
यो पनि