'उमेरले ३१ लाग्यो । जिम्मेवारी पनि थपिंदै छन् । आफ्नो इच्छा र रहरहरु पनि पूरा गर्नु नै छ । दैनिक कामको चाप पनि बढ्दै गइरहेको छ । तर हिम्मत हारेको छैन,' यो भनाइ आरोही शर्मिला लामाको हो ।
काभ्रेपलाञ्चोक, रोशी गाउँपालिकाको भिमखोरीमा जन्मनुभएकी शर्मिलाले अहिलेसम्म विश्वका सर्वोच्च शिखर सगरमाथासहित ७ वटा हिमाल आरोहण गरिसक्नुभएको छ । १७ वर्षको कलिलो उमेरमा ट्रेकिङ पेशामा लाग्नुभएका उहाँले त्यहीताका पहिलो पटक सहयोगीको रुपमा हिमाल चढ्ने मौका पाउनुभयो । सानैदेखि खेलकुदमा रुची राख्ने शर्मिलालाई ट्रेकिङ व्यवसायले धेरै कुरा सिकायो । यतिमात्रै होइन, देश विदेशका धेरै व्यक्तिहरुसँग परिचित पनि गरायो ।
भिडियो :
परिवारको जेठी छोरी, बुबा पनि ट्रेकिङ व्यवसायी, शर्मिलालाई यस पेसामा लाग्न खासै समस्या भएन । बुबाले ट्रेकिङका हरेक कुराहरु परिवारमा सेयर गर्नुहुन्थ्यो । बुबाले ट्रेकिङका कहानीहरु सुनाइरहनुहुँदा शर्मिला त्यो ठाउँको बारेमा कल्पनामा डुब्नु हुन्थ्यो । तर शर्मिलाले त्यो काल्पनिक कुरालाई वास्तविकतामा परिणत गर्न सफल हुनुभयो ।
उहाँले २२ वर्षको उमेरमा विवाह गर्नुभयो र दुई वर्षपछि छोराको जन्म भयो । विभिन्न पारिवारिक समस्याका कारण उहाँ कानुनीरुपमा श्रीमान्बाट अलग्गिनु भयो । त्यसपछि सन्तानको हुर्काइ बढाइको सबै जिम्मेवारी शर्मिलाको काँधमा आइपर्यो । पारिवारिक पीडालाई भुलेर अघि बढ्नको लागि केही अग्रजहरुले हिमाल आरोहणको लागि सुझाव दिनुभयो । ‘हरेक कुरामा छोरी मान्छेले मात्रै कम्प्रमाइज गर्नु हुँदैन, छोरी मान्छे पनि आर्थिक, सामाजिक सबै विषयमा समक्ष हुनुपर्छ,’ भन्ने सन्देश बोकेर शर्मिलाले सगरमाथा अभियान (एभरेस्ट क्याम्पेन) सुरु गर्नुभयो । सन् २०१८ मा पहिलो पटक सगरमाथा आरोहण गर्दा पूरा गर्न सक्नु भएन । ८ हजार ७ सय मिटरबाट उहाँ फर्किनु भयो । त्यो समयमा शर्मिलाले १४ महिनाको छोरालाई छोडेर आरोहणमा जानु भएको थियो ।
पहिलो पटकको आरोहण सफल हुन नसके तापनि उहाँको हिमाल आरोहण गर्ने इच्छाशक्ति भने कायमै रह्यो । त्यसपछि दोस्रो पटक २०१९ मा सगरमाथा आरोहण गर्न सफल हुनुभयो । शर्मिलाले सन् २०१९ मै युरोपको सबैभन्दा अग्लो हिमाल माउण्ट एल्ब्रस, नेपालकै मनास्लु र सन् २०२१ मा अन्नपूर्ण–१ र ल्होत्से हिमाल एक महिनाको अन्तरालमा आरोहण गर्नुभयो ।
मिसन : १४ हिमाल आरोहण (14th Peak Expedition)
शर्मिलाले हिमाल आरोहण गर्दै गर्दा छोरा पनि हुर्कंदै थियो । हिमाल आरोहणका क्रममा खासै समस्याहरु आएन । मनास्लु चढिसकेपछि आफ्नो शरीर हिमालको लागि फिट रैछ भन्ने शर्मिलालाई अनुभूति भयो र यसले थप आत्मविश्वास बढायो । त्यसपछि शर्मिलाको मनमा एउटा नयाँ सोच र हिम्मत पलायो–विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहण गर्ने ।
उक्त सोचसँगै शर्मिलाले हिमाल आरोहणका इतिहास अध्ययन गर्नुभयो । एशियाबाट कुनै पनि महिलाले १४ हिमाल आरोहण गरेको रेकर्ड फेला नपरेपछि त्यो आफैंले पूरा गरेर किर्तिमान कायम गर्ने अठोट लिनुभयो । हाल त्यही अभियान सफल पार्ने दौडमा शर्मिला हुनुहुन्छ ।
शुभचिन्तकको सहयोग र आफ्नै मिहिनेतमा हिमाल आरोहण
हिमाल आरोहणको सुरुवातमा शर्मिलालाई देश विदेशमा रहनुभएका तामाङ समुदायले राम्रै सहयोग गरे । तर दोस्रो पटक सन् २०१९ मा सगरमाथा आरोहण गर्दा भने निकै आर्थिक अभाव झेल्नु पर्यो । एनएमबी बैंकको केही सहयोग र अपुग रकमका लागि आमाको सुन बेचेर आरोहण सफल पारेको शर्मिला बताउनुहुन्छ ।
तर, यस पटक भने केही स्थानीय सरकारबाट आर्थिक सहयोग प्राप्त भएको शर्मिलाले बताउनुभयो । गाउँपालिकाको ब्यानर प्रदर्शनी र पर्यटकीय क्षेत्रको प्रचार एवं प्रवर्द्धनमा सहयोग गर्ने गरी स्थानीय सरकारबाट सहयोग प्राप्त भएको शर्मिलाले बताउनुभयो । पछिल्ला दिनहरुमा केही निजी बैंक, सामाजिक संस्था र व्यवसायीहरुबाट ब्यानर तथा व्यवसाय प्रचारबापत केही सहयोग मिलेको शर्मिला बताउनुहुन्छ ।
कञ्चनजंगा चढ्ने तयारी
यतिबेला शर्मिला कञ्चनजंगा हिमाल आरोहणको तयारीमा हुनुहुन्छ । खर्चको जोहोदेखि आवश्यक सामग्रीको व्यवस्था र कानुनी प्रक्रियाका लागि एक्लै दौडिरहनुभएको छ । हिमालप्रतिको मोह, पर्यटन क्षेत्रबाट राष्ट्रका लागि केही गरी छाड्ने प्रतिबद्धता र महिला सक्षम छन् भन्ने सन्देश दिने लक्ष्यका अगाडि यी चटारोलाई सामान्य लिनुहुन्छ शर्मिला ।
कञ्चनजंगा आरोहण सम्पन्न गर्न झण्डै १२ लाख रुपैयाँ खर्च लाग्ने शर्मिलाको अनुमान छ । हालसम्म दुईवटा स्थानीय सरकारबाट तीन लाख ५० हजार प्राप्तबाहेक रकम कसरी जुटाउन भन्ने शर्मिलालाई पिरलो छ । तैपनि हिम्मत भने हारेकी छैनन् । भन्नुहुन्छ–‘सिन्धुलीको मरिण र सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाबाट केही आर्थिक सहयोग प्राप्त भएको छ । अपुग रकमको व्यवस्था हुनसाथ अप्रिलमा कञ्चनजंगा आरोहण सम्पन्न गर्छु’ ।
सामान्यतया एउटा हिमाल आरोहण गर्दा नेपालमा १२ देखि २० लाखसम्म खर्च हुने शर्मिलाको अनुमान छ । पाकिस्तानमा रहेको हिमाल आरोहण गर्न २० लाखभन्दा माथि खर्च हुने शर्मिला बताउनुहुन्छ । आठ हजार मिटरभन्दा माथिका हिमालहरु नेपालमा सातवटा, पाकिस्तानमा पाँचवटा र चीनमा दुईवटा रहेका छन् । ती १४ वटा हिमाल आरोहण सम्पन्न गर्नका लागि दुई करोड ५० लाख खर्च लाग्ने शर्मिला बताउनुहुन्छ ।
हिमाल आरोहणबाट नै समुदाय र देशको लागि केही गर्ने अठोट
शर्मिलाका अनुसार हिमाल आरोहणबाट व्यक्तिगतरुपमा आफ्नो नाम राष्ट्र र विश्वसामु चिनाउनु नै हो । विदेशको हिमाल आरोहण गर्दा नेपालको पर्यटन क्षेत्रको बारेमा प्रचार हुने र देशलाई नै फाइदा पुग्ने उहाँको भनाइ छ । सफल आरोहीको रुपमा आफूलाई चिनाउन सक्दा विदेशी आरोहीहरु नेपालमा आउन सक्ने र यसले मुलुकलाई थप टेवा पुग्ने शर्मिलाको बुझाई छ ।
महिलाहरु आर्थिकरुपमा सबल बन्नु पर्छ र बनाउनु पर्छ भन्ने शर्मिलाको धारणा रहेको छ । भविष्यमा अरु पनि महिलाहरुलाई पर्वतारोहण क्षेत्रमा लागेर आर्थिकरुपमा आत्मनिर्भर बनाउने उहाँको उद्देश्य छ । अहिले पनि बौद्धमा क्याफे खोलेर तीनजना बहिनीहरुलाई रोजगारी दिइरहेको शर्मिला बताउनुहुन्छ । हिमाल आरोहणबाहेकको समय आफू पनि त्यही क्याफेमा ब्यस्त रहने शर्मिलाले आर्थिक आत्मनिर्भर बनाउनकै लागि भनेर दसजना छात्राहरुलाई बारिष्टा तालिम पनि दिनुभइसकेको छ ।
बौद्ध धर्मले मान्छेलाई अनुशासित बनाउने शर्मिलाको बुझाई रहेको छ । सभ्य र अनुशासित समाज बनाउन सहयोग पुग्ने भन्दै काभ्रेको आफ्नै गाउँमा एकसय २० जना आमाहरुलाई आधारभूत बौद्ध शिक्षाको कक्षा पनि संचालन गरिसक्नुभएको छ ।
अभाव र पीडा त शर्मिलासँग हिमाल जत्ति नै चुलिएका छन् । एकल महिला, त्यसमाथि ६ वर्षको बच्चाको आमा । उद्देश्य छ हिउँसँग पौठेजोरी खेल्ने अनि राष्ट्रको सान बढाउने, महिलाको मान उठाउने । तर कत्ति पनि विचलित छैनन् । भन्नुहुन्छ–'मैले जे विषयवस्तु लिएर हिमाल आरोहण गरें, त्यो पूरा भएका छन् । दुःख, सुखका पाटाहरु त छँदैछन्, मैले केही सन्देश दिए जस्तो लाग्छ ।'
सायद शर्मिलाले भने जस्तो सन्देश र संघर्षलाई बुझेर नै होला नेपाल राष्ट्रले पनि उहाँलाई चिन्न थालेको छ । पर्यटन क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई नेपाल सरकारले दिने गरेको तेन्जिङ हिलारी सम्मानबाट २०२१ मा शर्मिला सम्मानित हुनुभयो र ५० हजार प्राप्त गर्नुभयो । इच्छा र हिम्मत भए धेरै कुरा गर्न सकिन्छ भन्ने कुराको एक उदाहरण हो शर्मिला । शर्मिलाजस्ता हिम्मतिला महिला आरोहीलाई राज्य र आम नेपालीहरुको साथ र सहयोगको जरुरी छ ।