उघारो ठाउँ, चिटिक्क प्लास्टिकका टनेल अनि आधुनिक गोठहरु । जहाँ मौलाइरहेका छन् तरकारी खेती र सप्रिएका छन् गाईभैंसी । लोभलाग्दो यी व्यवसाय देख्न सकिन्छ टोखा-छहरे सडकखण्ड नजिक पर्ने नुवाकोट शिवपुरी गाउँपालिका ७ थानापतिमा । १ दशकदेखि कृषक रामप्रसाद पुडासैनीले थाल्नुभएको व्यावसायिक खेती र पसुपालनले अहिले यस भेगमा नमुनाको रुप लिएको छ ।
यही नमूना कृषि फार्ममा अव छिट्टै स्टे हाउस संचालन हुने भएको छ । ६० रोपनी जग्गामा कृषि फार्म संचालन गर्दै आउनुभएका कृषक पुडासैनीले तालिम केन्द्रसहित स्टे हाउस संचालनको तयारी गर्नु भएको हो । कृषि सिक्न चाहने युवा तथा कृषकहरुका लागि आवशीय तालिमको व्यवस्था गर्न तालिम हल र आवासको भौतिक संरचना निर्माण भैकेका छन् । फर्निचर लगायत आन्तरिक तयारीका थोरै काम मात्र बाँकि रहेको फार्म संचालक पुडासैनीले बताउनु भयो ।
भिडियो :
गाइभैंसीको दुध, लोकल कुखुरा र अर्गानिक तरकारीसहित खाना र बस्ने सुबिधासहित छिट्टै स्टे हाउस संचालनमा आउने पुडासैनीले बताउनुभयो । उहाँले थानापति नमूना व्यावसायिक कृषि उद्योग स्थापना गरी आधुनिक प्रविधिसहित तरकारी खेती र गाईभैंसी पालन गर्दै आउनु भएको छ ।
हालसम्म फार्म तथा स्टे हाउसका लागि एक करोड ३७ लाख लगानी भएको पुडासैनीले बताउनु भयो । पुडासैनीले यस योजनाका लागि प्रदेश सरकार र केन्द्रबाट गरी रु. ५५ लाख अनुदान सहयोग प्राप्त गर्नुभएको छ ।
आफूले राम्रो काम गरे पछि र राम्रो योजना बनाए पछि सरकारले पनि सहयोग गरेको उहाँ बताउनुहुन्छ । तर अनुदान पाउन वा पाउन्जेलका लागि मात्र व्यवसाय गर्ने सोंचले कुनै पनि व्यवसाय सफल नहुने उहाँको धारणा छ ।
पछिल्लो समय मानिसहरु स्वास्थ्यप्रति सचेत भएको र स्वास्थ्यबर्द्धक तथा गुणस्तरीय खानेकुरा पहिचान गर्न सक्ने भएकाले प्रांगारिक उत्पादनको संभावना झनै राम्रो रहेको रामप्रसादको बुझाई छ । यही कुराको मध्यनजर गरी आफूले तरकारी खेतीसंगै पशुपालन थालेको उहाँको बताउनु हुन्छ ।
रामप्रसादको बिचारमा कृषि पेशा संभावना नै संभावना बोकेको पेशा हो । परिवारका लागि आवश्यक आम्दानी गर्न र स्वारोजगार बन्नका लागि कृषि उपर्युक्त पेशा भएको उहाँको धारणा छ । हाल आफ्नो परिवारका अतिरिक्त आठ जनालाई रोजगारी दिन सकेको बताउने रामप्रसादले स्टे हाउस संचालन भए पछि २० जनाले रोजगारी पाउने बताउनु भयो ।
कृषी व्यवसाय सफल र दिर्घकालीन हुनका लागि अहिलेको आवश्यक्ता र प्रविधीको प्रयोगमा ध्यान दिन जरुरी रहेको उहाँको भनाइ रहेको छ । व्यक्तिगत र सहकारीका माध्यमबाट समेत कृषकको समस्यालाई नजिकबाट नियाल्नुभएका रामप्रसादले कृषि व्यवसायको विकास र प्रबद्र्धनका लागि सरकारले प्रविधी र बजारिकरणमा सहयोग गर्नु पर्ने बताउनुहन्छ ।
रामप्रसादको जस्तै मिहेनत, योजना अनि राज्यको ठोस नीति र सहयोग भए नेपालमा कृषि–पर्यटन प्रबद्र्धनबाट आर्थिक उपार्जन साथै रोजगारीका लागि ठूलो अवसर बन्ने प्रस्ट देखिन्छ ।