बेलायत । मगर संघ यूकेको सातौं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष सीता पुर्जा पुनमगरले अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गर्नुभएको छ ।
आगामी अप्रिल ९ तारिख २०२२ मा फानबरोस्थित ओर्कफार्म स्कुलमा हुने महाधिवेशनका लागि पुर्जा पुनमगरले उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उहाँले घोषणा पत्र सार्दै 'अब मगर संघ यूकेको नेतृत्व गर्न महिलाले अवसर पाउनु पर्छ' भन्ने मूल नारा अघि सार्नुभएको छ ।
मगर संघ यूके सन् २००२ सालमा स्थापना भएको हो । २००२ देखि २०२२ सालसम्म आइपुग्दा तथा २० वर्षसम्म अधिकांश समय मगर पुरुषहरुले नेतृत्व लिएका छन् । 'विगतका पाँचौ र छैटौं महाधिवेशनमा मगर संघ यूकेका अग्रज दिज्युहरुले अध्यक्षको प्रत्यासी बनेर सहास देखाउनुभए तापनि निर्वाचनको परिणाममा हार स्वीकार्नु परेको थियो । यसपटक पनि मैले ठूलो सहास, विश्वास र भरोसा लिएर तथा हजुरहरुको आशीर्वाद लिएर अध्यक्ष पदको लागि प्रत्यासी बनेको छु,' उहाँको घोषणापत्रमा लेखिएको छ, 'आसा छ बेलायतवासी सम्पूर्ण मगर दाजुभाइ तथा दिदीबहिनीहरुले मगर संघ यूकेको सातौं कार्यकालको अध्यक्ष जस्तो गरिमामय पदमा हजुरहरुकै छोरी, चेली म सीता पुनलाई निर्वाचित गरिदिनुहुनेछ भन्ने बिश्वास लिएको छु ।'
उहाँले अबका महिलाहरु पनि नेतृत्व गर्न सक्छन् र महिलाहरुलाई पनि अवसर दिनुपर्छ भनेर एउटा महिलालाई मगर संघ यूकेको नेतृत्व सुम्पिनुहुनेछ भन्ने भरोसासमेत राखेको घोषणापत्रमा उल्लेख गर्नुभएको छ ।

उहाँको घोषणापत्र जस्ताको तस्तै ।
घोषणा पत्र तथा अपिल
सीता पुन, वरिष्ठ उपाध्यक्ष, मगर संघ यूके
"अब मगर संघ यूकेको नेतृत्व गर्न महिलाले अवसर पाउनु पर्छ"
आदरणीय बेलायतबासी मगर दाज्युभाई तथा दिदिबहिनिहरुमा सादर प्रणाम, झोर्ले, जडौ, सिमिङ्पाऊ तथा हार्दिक नमन:
सर्बप्रथम, हजुरहरुलाई मगर संघ यूकेको सातौँ महाधिवेशनमा म सीता पुनले अध्यक्ष पदको लागि उमेद्वारी दिएको घोषणा गर्न चाहन्छु। हजुरहरुले बिगतका दुइ कार्यकाल मगर संघ यूकेको उपाध्यक्ष र बरिष्ठ उपाध्यक्ष पदको जिम्मेवारी दिनुभएको थियो। हजुरहरुले दिनुभएको उक्त जिम्मेवारीहरु मेरो मन बचन र कर्मले जिम्मेवारी सफलतापुर्बक निभाए जस्तो लाग्छ। हजुरहरुले मुल्यांकन गर्नु भयो होला।
म एउटा मगर महिला हुँ। हजुरहरुको चेली तथा छोरी हुँ । मैले हजुरहरुको साथ, सहयोग, माया, हौसलाले गर्दा र मेरो श्रीमानको असीम मायाले गर्दा म बाँचिराखेको छु। मलाई मेरो श्रीमानले एउटा किड्नी उपहार दिनुभएको छ। जसले गर्दा मैले नयाँ जीवन पाएकी छु। मेरो एक मुठ्ठी प्राण रहुन्जेलसम्म मगरहरुको सम्वृद्धि र बिकाशको लागि समर्पित गर्ने अठोट लिएकी छु।
अबको यस घडीमा भनेको मेरो यो नयाँ जीवनलाई सदुपयोग गर्दै मगर संघ यूकेको नेतृत्व गर्ने प्रबल इच्छा रहेको छ। त्यसकारण बेलायतबासी सम्पूर्ण मगर दाज्युभाई तथा दिदीबहिनीहरुलाई मगर संघ यूकेको सातौँ कार्यकालको अध्यक्ष पदमा म सीता पुनलाई निर्वाचित गरिदिनहुन हार्दिक अपिल गर्न चाहन्छु। मगर संघ यूकेको नेतृत्व २० बर्षसम्म पुरुष दाज्युभाईले गर्नुभयो अबको "मगर संघ यूकेको नेतृत्व महिलाले अवसर पाउनु पर्छ" भन्ने मान्यता राख्दछु ।
यदि हजुरहरुले मलाइ मगर संघ यूकेको अध्यक्ष जस्तो गरिमामय पदको जिम्मेवारी सुम्पिनुभयो भने मैले सातौँ कार्यकालमा निम्न तलका प्रतिबद्धताहरु पुरा गर्नेछु ।
१ मगर संघ यूकेको संस्थापक कार्यसमिति देखि बर्तमान कार्यसमितिसम्मका कार्यसमितिहरुले संस्थाको हितमा गरेको कार्यहरुलाई निरन्तरता दिनेछु । सो कार्यहरु समयानुसार परिवर्तन गर्नु परेमा मगर संघ यूकेका अग्रज ब्याक्तित्वज्युहरुसँग सल्लाह सुझाब लिएर मात्र परिबर्तन तथा परिमार्जित गर्ने छु ।
२ मगर समुदायको सम्पतिको रुपमा रहेको तिनवटा मातृभाषाहरु, भेषभुषाहरु, संस्कार संस्कृतिहरुलाई समान ब्याबहार, जगेर्ना, सम्वर्द्वन गर्दै नेपाली समाजमा चिनाउने प्रयत्न गर्ने छु ।
३ मगर भित्रको विविधता हाम्रो एकता। मगर जाती एउटा यस्तो जाती हो जो हिमाल पहाड तराइ जताततै फैलिएर बसेको छौ। हामी जुन भूभागमा बसेका छौ ।त्यही अनुसारको संस्कार संस्कृति, परम्परा, रितिथिति, आस्था र बोली चालीको चलन छ। यसर्थ मगर संघ एउटा साझा घर हो । यसमा सबैलाई मिलाएर राख्ने तथा संघमा सहभागिता गराउने पहल गर्ने छु। बेलायतबासी मगर महिला, पुरुष, युवा युवती र बिभिन्न उमेरका व्यक्तिहरुलाई समान अवसर र ब्याबहार गर्दै मगर संघ यूकेमा आबद्ध गराउने पहल गर्ने छु।
४ मगर संघ यूकेको आर्थिक गतिविधिलाई पारदर्शी, चुस्त र दुरुस्त राख्ने छु। मगर संघ यूके अब आर्थिक रूपमा आत्मनिर्भर हुनुपर्छ । आर्थिक आर्जनको लागि मगर भवन मर्मतसम्हार गरी बढी भन्दा बढी आर्थिक आर्जन गरी समाजलाई चन्दा संकलनबाट मुक्त गर्न सम्भव भएसम्म पहल गर्नेछु । मगर भवन Extension गर्ने कार्य सम्पन्न गर्ने छु ।
५ मगर संघ केन्द्रको ट्रष्टी सदस्यता र आजीवन सदस्यता बढाउने प्रयास गर्ने छु। एकल आजीवन सदस्यलाई डबल सदस्य, डबल सदस्यलाई ट्रस्टी सदस्य बनाउने प्रयास गर्ने छु।
६ शाखाहरु केन्द्रको पिलर हो र सबै पिलरहरु बलियो होस् भनी बिशेष ध्यान दिने छु। केन्द्रले गर्ने हरेक गतिविधिहरुमा शाखाहरुलाई सहभागी, सहकार्य गर्दै साथमा लिएर जाने छु।
७ आर्थिक समृद्वि र राजनीतिक चेतना - एउटा संस्था समाजमा बस्ने व्यक्तिहरूबाट बनेको हुन्छ । यदी हामी समाजमा बस्ने व्यक्तिहरुले आर्थिक समृद्विमा ध्यान दिने र राजनीतिक ज्ञान बुझ्यो भने संस्था आँफै बलियो हुने हुनाले विज्ञहरूबाट गोष्ठी सेमिनार गराउने छु । तर एउटा जातिय संस्था कुनै पनि राजनीतिक आस्था, धार्मिक आस्था र व्यापारिक लेनदेनबाट भने टाढै बस्ने छु अथवा अलग हुनुपर्छ भन्ने नैतीकतालाई भुल्ने छैन भन्ने प्रतिबद्धता जाहेर गर्दछु ।
८ नेपालमा रहेका गरिब तथा जेहेन्दार मगर बिद्यार्थीहरुको लागि मगर संघ यूकेद्वारा स्थापित Magar Master Degree and PhD Trust Fund लाई चुस्त र दुरुष्ट रुपले अगाडि बढाउने छु । मगरहरुलाई ऊच्च शिक्षाको स्तर उन्नति र चेतना अभिवृद्धि गर्न बृहत रुपमा गाउ-गॅाउमा पुराउन पहल गर्ने छु ।
९ बेलायतको लागि नेपाली राजदुतावास, स्थानीय निकायहरु र बेलायतमा स्थापित नेपाली संघ-संस्थाहरूसँग राम्रो सम्बन्ध स्थापित कायम गर्दै मगर संघ यूकेलाई बलियो र उच्च स्थानमा राख्ने प्रयास छु ।
१० साहित्यमा मगरहरूको संलग्नता एकदमै कम भएकोले मगरहरूलाई साहित्यक संघ संस्थामा आबद्ध गराइ साहित्यिक गतिविधिमा लान तथा कलम चलाऊन प्रोत्साहन गर्ने छु ।
११ मगर संघको विधानलाई नेपालीमा पनि उपलव्ध गराउने प्रतिबद्धता जाहेर गर्दछु ।
अन्त्यमा बेलायतबासी सम्पूर्ण मगर दाज्युभाई तथा दिदीबहिनीहरुमा मगर संघ यूकेको सातौँ कार्यकालको अध्यक्ष जस्तो गरिमामय पदमा हजुरहरुकै छोरी, चेली म सीता पुनलाई निर्वाचित गरिदिनुहुनेछ भन्ने बिश्वास लिएको छु। अबका महिलाहरु पनि नेतृत्व गर्न सक्छन र महिलाहरुलाई पनि अवसर दिनुपर्छ भनेर एउटा महिलालाई मगर संघ यूकेको नेतृत्व सुम्पिनुहुनेछ भन्ने भरोसा राखेको छु।
जय मगर संघ यूके
वरिष्ठ उपाध्यक्ष, मगर संघ यूके